मंगलबार , बैसाख ११, २०८१

भारतमा एक केन्द्र प्रशासितसहित पाँच राज्यमा आज विधान सभाको मतगणना भइरहेको छ। गत मार्च र अप्रिलमा विभिन्न चरणमा चुनाव भएका केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पुडुचेरीमा मतगणना जारी छ।

यीमध्ये २९४ सिट भएको पश्चिम बंगालमा कस्तो चुनावी परिणाम आउँछ भन्नेमा आमचासो छ। किनकी यो प्रदेशमा दुई कार्यकाल लगातार शासन गरेकी ममता बेनर्जीलाई हटाउन केन्द्र सरकारले चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले सकेजति बल लगाएको थियो। अहिलेसम्मको मत परिणामले भने ‘दिदी’ उपनाम पाएकी ममताको किल्ला भत्काउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयास असफल हुने भएको छ।

अहिलेसम्मको मतपरिणाममा बेनर्जीको तृणमूल कंग्रेसका उम्मेदवारले २०६ स्थानमा अग्रता लिएका छन् भने भाजपाका उम्मेद्वार ८३ स्थानमा अघि देखिएका छन्। नन्दीग्राम निर्वाचन क्षेत्रमा मुख्यमन्त्री बेनर्जी पनि २ हजार ७ सय बढी मतले प्रतिष्पर्धी उम्मेदवारभन्दा अघि छन्।

पछिल्लो समय भारतका विभिन्न राज्यमा सरकार बनाउन सफल भएको भाजपा र मोदीले पश्चिम बंगालको चुनावलाई पनि निकै महत्व दिएका थिए। चुनावका लागि मोदी आफैं र गृहमन्त्री अमित शाह धेरै पटक प्रचारका लागि पश्चिम बंगाल पुगेका थिए।

भारतमा अहिले भएका मुख्यमन्त्रीहरूमध्ये बेनर्जीमात्रै ती राजनीतिज्ञ हुन् जसले प्रधानमन्त्री मोदीलाई ठाडै चुनौती दिन सक्छिन्। त्यसैले पनि पश्चिम बंगालमा उनलाई सत्ताबाट झार्न भाजपाले सकेजति बल लगाएको थियो। भाजपाले अरू ठाउँमा जस्तै पश्चिम बंगालमा पनि हिन्दुत्वको नारा दिएको थियो। बेनर्जी मुस्लिमप्रति सहानुभूति राख्ने भएकाले प्रदेशको भविष्य संकटमा रहेको भाजपाको तर्क थियो।

बेनर्जीलाई सत्ताबाट ओराल्न नसके पनि पश्चिम बंगालमा भाजपाले पाँच वर्ष पहिलेको भन्दा यसपालि निकै राम्रो प्रदर्शन गर्ने भएको छ।

सन् २०१६ मा जम्मा ३ सिटमात्र जितेको भाजपाले यसपालि ८० सिट जित्न सक्ने देखिएको छ। पश्चिम बंगालमा सबैभन्दा ठूलो हार भारतीय कंग्रेसले व्यहोर्ने भएको छ। पाँच वर्षअघि ४४ विधान सभा सदस्य जितेको कंग्रेसले अहिले १ सिटमा मात्र अग्रता लिएको छ।

त्यस्तै अघिल्लो चुनावमा २६ सिट जितेको कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्स्कवादी)ले पनि यसपालि एक सिट पनि नजित्ने सम्भावना देखिएको छ।

तमिलनाडुको २३४ सदस्यीय विधान सभाका लागि ४ हजार २ सय १८ उम्मेदवार मैदानमा होमिएका थिए। अभिनेताबाट नेता बनेका कमल हसनको पार्टी पनि यसपालि चुनावमा लागेको थियो। तमिलनाडुमा पहिलो पटक प्रदेश राजनीतिमा दिग्गज मानिएका करूणानिधी र जयललिताबिनै चुनाव भएको हो। एक्जिट पोलले मुख्यमन्त्री पलानीस्वामीको दल पछि पर्ने देखाएका थिए। अहिलेसम्मको गणनामा प्रतिपक्षी डिएमकेले १२९ स्थानमा अग्रसरता लिएको छ। सत्तारूढ एआइएडिएमके ९० स्थानमा मात्रै अगाडि छ।

१४० सदस्यीय विधान सभा भएको केरलामा मुख्यमन्त्री पिनरई विजयनको नेतृत्वमा रहेको लेफ्ट डेमोक्रेटिक फ्रन्टले नै जित हात पार्ने अनुमान गरिएको छ। केरलामा बितेका ४० वर्षमा हरेक पटक चुनाव हुँदा सरकार बदलिएको इतिहास छ। यसपालि कंग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्टलाई पनि चुनाव जित्ने आत्मविश्वास छ। तर प्रारम्भिक परिणाममा एलडिएफ नै धेरै ठाउँमा अगाडि देखिएको छ।

१२६ सदस्यीय विधान सभा भएको असममा सत्तारूढ भारतीय जनता पार्टीले नै फेरि पनि सरकार बनाउने भएको छ। त्यहाँ ७३ स्थानमा भाजपा अगाडि छ। पाँच वर्षअघि भाजपाले ८६ सिट जितेको थियो।

केन्द्र प्रशासित पुडुचेरीमा ३० सदस्यीय विधान सभाका लागि मतदान भएको थियो। त्यहाँ भाजपा १६ र कंग्रेस आई १२ स्थानमा अगाडि छ। २०१६ मा कंग्रेसले १७ सिट जितेको थियो। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय