बिहिबार , चैत्र १५, २०८०

चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको ज्यान गएकाे छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् । तीमध्ये गैँडाबाट १०, भालुबाट सात, बँदेलबाट पाँच र हात्तीको आक्रमणबाट एकजना घाइते भएका हुन् । गएकाे आर्थिक वर्षमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट छ जनाको ज्यान गएकाे थियो । हात्ती र गैँडाले तीन/तीन जनालाई आक्रमण गरी मारेको थियो ।

गएकाे वर्ष वन्यजन्तुबाट ३४ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । त्यसमध्ये गैँडा र बँदेलले १३/१३, मगर गोही र हात्तीले तीन/तीन तथा भालु र अजिङ्गरले एक/एक जनालाई घाइते बनाएको थियो । मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भइ ज्यान गुमाएका परिवारलाई सरकारले राहत दिने व्यवस्था छ ।

वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार मृतकले १० लाख रुपैयाँ पाउने व्यवस्था छ । अधिकारीका अनुसार घाइतेका हकमा दुई लाख रुपैयाँसम्म निकुञ्ज कार्यालयले दिने व्यवस्था छ । अङ्गभङ्ग भएर लामो समय उपचार गर्नुपर्ने अवस्थामा सरकारी अस्पतालमा गरेको उपचारको सबै खर्च सरकारले ब्यहोर्ने ऐनमा व्यवस्था छ ।

आकस्मिक अवस्थामा भने जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था छ । विगतका वर्षमा राहत ढिलो प्राप्त हुने समस्या रहेकामा अहिले भने निकुञ्जको कार्यालयले राहत दिने भएकाले प्रक्रिया पूरा गरी तत्काल भुक्तान गरिँदै आएको छ । यस कार्यालयले निकुञ्जसहित डिभिजन वन कार्यालय चितवन, धादिङ, नवलपरासी सुस्ता पूर्व र पश्चिम गरी चार जिल्लाका घाइतेको राहतसमेत उपलब्ध गराउँदै आएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा चार जिल्ला पर्दछन् । ती जिल्लाका १२ पालिकाका ९७ वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । निकुञ्जसँग जोडिएकाले वन्यजन्तु बाहिर निस्कने र स्थानीयवासीलाई दुःख दिने गर्दछन् । मानिसलाई आक्रमणका अतिरिक्त घरपालुवा पशुपक्षी, घर गोठ, बालीनालीसमेत क्षति पुर्याउने गर्दछन् । उज्यालो अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय