शनिबार , बैसाख ८, २०८१

काठमाण्डाै

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरमा रहेकाे अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतवार (आज) कारबाही गरिएको हो ।

बजार अनुगमनका क्रममा खरिद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि यस सप्लायर्सलाई कारबाही स्वरूप दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा यस सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरिद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो ।

यस सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा १६ (२) को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ (१) को ‘ख’ बमोजिम जरिबाना गरिएको हो ।

अहिले विभागले काठमाण्डाै उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।

गएकाे बिहीवार विभागले भक्तपुरमा मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको थियो ।

यस कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रूपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो । उज्यालो अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय