बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बंैक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ ।

जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कँही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न हुन जानकारी गराउनुभएको छ ।साथै उहाँले अन्य अनाश्यक सन्दर्भमा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिप्रका काठमाडौँबाट सवारी पास जारी नहुने जानकारी गराउनुभएको छ ।

यस्ता नम्बर प्लेटका ट्याक्सीलाइ पनि पास नचाइने:निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने जनाइएको छ ।

हवाई यात्रुले वैधानिक हवाई टिकट÷पासपोर्ट÷भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्नेछन् । यसका लागि सवारी साधनको सुविधा आवश्यक भएमा प्रिपेड ट्याक्सी बोलाउन सकिने छ । विमानस्थल कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । उक्त प्रयोजनका निम्ति सम्बन्धित ट्याक्सीको फोन नम्बरसमेत विमानस्थल कार्यालयले सार्वजनिक गरेको छ । यो सुविधा दुवैतर्फका यात्रुले पाउने छन् ।

कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारले आजदेखि राजधानी काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । यसक्रममा मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान भने नियमित सञ्चालन गर्ने निर्णय गरिएको छ ।विमानस्थलको निर्णयबाट यात्रु तथा एयरलाइन्सलाई निकै राहत भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयर र यती एयरका अधिकारीले निषेधाज्ञाको पहिलो दिन यात्रु विमानस्थलसम्म लैजान सहजीकरण भएको बताए । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला र बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विमानस्थलसम्म यात्रु आवतजावत गर्न पहिलो दिन खासै समस्या नभएको जानकारी दिनुभयो ।

दिनभर आन्तरिक तथा अन्तरराष्ट्रिय उडान भए । विमानस्थल कार्यालयको विवरणमा बुधबार आन्तरिकतर्फ सर्वाधिक १५ हजार २६३ यात्रु आवतजावत गरेका छन् । त्यसअघि मङ्गलबार १२ हजार २५१ यात्रुले सेवा लिएका थिए । विगत दुई दिनको तुलनामा आज उडान सङ्ख्या करिब आधा मात्रै हुने विमानस्थलले तालिका निर्धारण गरेको छ । सरकारी निर्णयअनुरुप हवाई सेवा प्रदायक कम्पनीले निषेधाज्ञाका बीच आन्तरिक उडान सञ्चालन गरिरहेका छन् । अन्तरराष्ट्रियतर्फ पनि नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय