आइतबार , कार्तिक ७, २०७८

काठमाडौं ।

सत्तारूढ दल नेकपा (एमाले) भित्रको विवाद यतिबेला उत्कर्षमा छ। एकातर्फको नेतृत्व पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनु भएको छ भने अर्को पक्षको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले गरिरहनु भएको छ। दुवै नेताहरूको हालको कार्यशैली हेर्दा ओली पक्ष नेपाल समूहलाई एक हदसम्म निषेध गरेर जान खोजेको देखिन्छ भने नेपाल पक्ष यो विवादलाई अझै एक हदसम्म चर्काउने अनि मात्र सहमति खोज्ने कार्यनीति बनाएर अगाडि बढेको देखिन्छ।

नेपालसँग जोडिएका झलनाथ खनाल समेतको समूहले समानान्तर कमिटिहरू निर्माण गर्ने काममा तीव्रता दिनु त्यही उद्देश्यको प्रकट रूप हो भन्न सकिन्छ। एमालेभित्रको विवादको पृष्ठभूमिलाई विश्लेषण गर्दा माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा बन्नुअघिका विचार समूहहरू बिचको अन्तरद्वन्द्व देखिन्छ। जसको मलजल नेकपा भएको बेला दुवै पक्षको बीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले फेसो ठोकिदिएर गरेका थिए। अदालतको फैसलाले दाहालको दल अलग भएपछि उनले ठोकेको फेसोले एमालेभित्र अहिले पनि काम गरिरहेको छ,। जता फर्किए पनि फेसो बिझाइरहेको छ।

अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई एकतापूर्वको अवस्थामा नफर्काइदिएको भए पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र नेपाल नेतृत्वको एमालेभित्रको वैचारिक समूह एउटै पार्टीमा हुने थिए। यस बेलासम्ममा माओवादी केन्द्रका केही नेताहरूको साथमा ओली र नेपाल–दाहालको समूहको अलग अलग दल बनिसक्थे। तर दाहालले भनेझैं ‘लिभिङ टुगेदर’मा रहेका नेपाल र दाहालको समूहलाई अदालतको फैसलाले सम्बन्ध–बिच्छेद गरिदियो। दाहाललाई माओवादी केन्द्रमा र नेपाल–खनाल समूहलाई एमालेमै फर्काइदियो। फलस्वरूप नेपालले नेतृत्व गरेको एमालेभित्रको समूह यता जाउँ न उताको स्थितिमा पुगेको छ। छुट्टै दल बनाउन पनि सकेको छैन, प्रचण्डसँग एकता गरेर जान पनि सकेको छैन। एमालेमै रहने चाहना व्यक्त गरे पनि खुलेर वार्ता गर्ने र सहकार्य गर्न हिक्मत गरेर अगाडि बढ्न सक्ने देखिएको छैन।

अबको एमाले तीनवटा विचार समूहको संगम हो। ओली पक्षीय एमाले, नेपाल–खनाल पक्षीय एमाले र पूर्वमाओवादी वा अन्य पक्षीय एमाले। यी तीनै पक्षको सहमति र सहकार्यबाट मात्र अबको एमाले गतिशील र अग्रगामी बन्नसक्छ। नयाँ नेपालको नवनिर्माणको गतिलाई अगाडि बढाउन सक्ने र नयाँ नेपाल सुहाउँदो नीति, कार्यक्रम र राजनीतिक कार्यदिशा तय गरेर एकीकृत कम्युनिष्ट आन्दोलनलाई हाँक्न सक्ने सक्षम नेतृत्व बन्नसक्छ।

भनाइ नै छ, रिसको बेला वेद पढिँदैन। कसैको रिस गरेर वा अरूले उचालेको भरमा उक्सिएर निर्णय गर्दा कर्णाली प्रदेशमा चारजना नेताको राजनीतिक भविष्य समाप्त भयो। उनीहरूले जिन्दगीभर बदनामीको दुर्गन्धित भारी बोकिरहनुपर्छ। यो राजनीतिक अपराधको बारेमा हरेकपटक जवाफ दिइरहनु पर्छ। अरूले ठुगिरहन्छन्, सहिरहनुपर्दछ। अझ, माधव नेपालले त्यो घटनाको जिम्मा लिन नसक्ने बताइसक्नु भयो। ती कमरेडहरूले वेद पढेनन्, पैसो मात्र पढे भन्ने आरोप लागेको छ। एमालेभित्रका दुई पक्षको आफ्नो कोण र आआफ्नो अप्ठ्यारो छ। संस्थापन पक्ष अर्थात् ओलीले नेतृत्व गर्नुभएको समूहले नेपाल–खनाल समूहलाई तुरुन्त स्वागत गर्न सकेन। किनभने त्यो पक्ष अध्यक्ष ओलीलाई पार्टीबाट निकाल्ने र प्रधानमन्त्रीबाट हटाउने भनेर प्रचण्डसँग सैसैला खेल्न दौडिएकै हो। त्यस कार्यका लागि आत्मालोचना नगरी कसरी स्वीकार गर्ने ? भन्ने प्रश्न उठेको छ।

पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टजस्ता नेताहरू अहिले ओलीसँगै छन्। उनीहरूले ओलीलाई दुःखमा साथ दिए। अहिले दुःखमा साथ दिनेलाई रोज्ने कि अप्ठ्यारामा परेको बेला उल्टै लात्तीले हान्ने र धोका दिनेलाई ? निक्कै गम्भीर अवस्था आएको छ। त्यसैले आत्मालोचना गरेर नेपाल–खानाल पक्षका कमरेडहरू आउन् भन्ने चाहना संस्थापन पक्षको रहेको देखिन्छ। नेपाल–खनाल पक्षका नेताहरूको माग विधिका हिसाबले बेठीक छैन। अदालतको फैसलाले नेकपा एमालेलाई एकतापूर्वको अवस्थामा पुर्‍याइदिएको छ। त्यसैले एकतापूर्वको नेतृत्व बसेर अगाडि बढ्ने योजना बनाऊँ भन्छ। एकतापूर्वको अवस्थामा फर्किदा नेपाल र खनाल वरिष्ठ नेताको दर्र्जामा, भीम रावल लगायतका नेताहरू पूर्ववत पदमा शक्तिका साथ पुनर्बहाली भएको अवस्था रहन्छ। उहाँहरूको माग छ कि रामबहादुर थापालगायत अन्य दलबाट आएका नेताहरूलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पूर्वएमालेहरूसँगै बसेर निर्णय गराैँला।

यहाँनेर दुई पक्षको कुरा मिल्न नसक्नुको मुख्य कारण के छ भने केपी ओलीले एमालेलाई एकतापूर्वको अवस्थामा सीमित राख्नुभएको छैन। त्यसबेलाको केन्द्रीय कमिटी पनि छैन। महाधिवेशन आयोजक कमिटी बनाएर महाधिवेशनको मिति तोकेर अगाडि बढिसकेको अवस्था छ। वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशनको मिति पनि तोकिइसकेको छ। जुन पछाडि फर्किने सम्भावना कतैबाट छैन। न परिस्थिति न नेतृत्वको मनस्थिति। दुवै नै पछाडि फर्किने अवस्थाको छैन। त्यसैले अर्को समूहको एकतापूर्वको अवस्थामा फर्कौं भन्ने कतैबाट माग पूरा हुने सम्भावना देखिन्न। यो माग पूरा होला भनेर पर्खिरहँदा नेपाल–खनाल समूहका नेताहरू एकपछि अर्को गर्दै ओली नेतृत्वमा गोलबद्ध हुँदै जाने अवस्था बढ्दो छ। विस्तारै अहिले भएका नेताहरू पनि निख्रिँदै जाने सम्भावना देखिँदैछ।

यस्तो बेलामा ओली नेतृत्वको समूह झुक्ने अवस्थामा नरहनु स्वाभाविक हो। राजनीतिमा जहिले पनि नाफा र घाटाको हिसाब गरिन्छ, व्यापारमा जस्तै। केपी ओलीले यसो गर्दा राजनीतिक रूपमा घाटा नहुने बरु नाफा नै हुने निष्कर्ष निकाल्नु भएको हुनसक्छ। एमाले भइरहने अनि एमालेको विरोधमा लाग्ने, कर्णालीकाण्ड गरिरहने कुराले विधि र पद्दतिको वकालत गर्ने माधव नेपाल तथा झलनाथ खनालका लागि सुहाउने कुरा होइन। यसले अन्ततः नेकपा एमालेको पंक्तिलाई निराश बनाउने बाहेक केही हुनेवाला छैन। यो कुरा दुवै पक्षका नेताले बुझ्नु भएकै हुनुपर्छ।

राजनीति भविष्यका लागि गरिन्छ। भविष्यका लागि गरिने भएकाले वर्तमानमा जेल, नेल, यातना, अपमान सबै सहन तयार हुन्छन् नेताहरू। विगतमा पञ्चायती व्यवस्थाको विरोधमा लडेका नेताहरू अहिले पनि जीवित हुनुहुन्छ। त्यसैले उज्ज्वल भविष्यमा लागि वर्तमानमा दुवै पक्षका नेताले अलिकति अगाडि बढेर र आफ्ना कमीकमजोरीहरू स्वीकार गरेर लचकतापूर्वक भावनात्मक एकता गरे हुन्थ्यो भन्ने चाहना धेरै कार्यकर्ताको छ। आमकार्यकर्ताको यो चाहनालाई संस्थापन पक्ष वा समानान्तर गतिविधि गरिरहेको पक्ष दुवैले बुझिदिनुपर्दछ। कम्युनिष्ट आन्दोलनलाई एकीकृत र अक्षुण्ण राख्ने सवालमा प्रष्ट भइदिनु पर्दछ। कम्युनिष्ट आन्दोलनको सफलताका अगाडि तपाईंहरूका व्यक्तिगत असन्तुष्टि, मान र अपमानका विषयहरू गौण हुन्। आज मान–अपमानलाई ठुलो ठानेर कम्युनिष्ट आन्दोलनलाई कमजोर ठान्ने हो भने शान्तिपूर्ण राजनीतिक आन्दोलनबाट राज्यको बागडोर सम्हाल्न पुगेको र संविधान निर्माणदेखि राज्यको पुनर्संरचना जस्तो नयाँ नेपाल निर्माण गर्ने महŒवपूर्ण ऐतिहासिक भूमिका निर्वाह गरेको नेकपा एमालेका लागि दुःखद् हुनेछ।

समाज र परिस्थितिको गति पछाडि फर्किदैन। राजनीति पनि पछाडि फर्केर गरिँदैन। जसजसले जे–जे तर्क गरे पनि २०७५ जेठ २ गतेकै अवस्थामा एमाले दललाई फर्काउन सम्भव छैन। त्यस्तो तर्कको तुक पनि बाँकी छैन। संगठन त्यस अवस्थामा फर्किदा भावना र नेताहरूको मनस्थिति पनि त्यही अवस्थामा फर्किनु पर्‍यो नि ! फर्किन्छ ? फेरि ओली नेतृत्वको एमाले लम्किएर अगाडि बढिसकेको छ। स्थिर रहेको भए पो। गतिशिील संगठनलाई पछाडि फर्काउनु सम्भव हुँदैन। स्थिर रहन चाहने अल्छे खरायोलाई गतिशील कछुवाले उछिनेको कथा हामीले बाल्यकालमै पढेका हौं। त्यसैले एकता र सहमति अगाडिका लागि र अग्रगामी सोचका साथ हुनुपर्दछ। गतिशीलता हाम्रो रोजाइ हुनुपर्दछ। एमालेको महाधिवेशन आयोजना गर्ने तयारी भइरहेको बेला आयोजक समितिमा बसेर महाधिवेशनलाई सहमतीय विधिबाट अगाडि बढाउने गरी तयारी गर्नुपर्दछ। नीति र नेतृत्वका लागि आन्तरिक बहस चलाउनु पर्दछ। सामान्यतया संस्थापन पक्ष अलि उदार र लचिलो बन्नुपर्दछ।

कम्युनिष्ट आन्दोलनलाई बचाउन दुवै पक्षका नेताहरू सम्वेदनशील बन्नुपर्दछ। पार्टीभित्रको एकतालाई अक्षुण्ण राख्नका लागि नेपाल–खनाल पक्षका नेताहरूको सम्मानजनक व्यवस्थापन हुनुपर्दछ। पूर्वमाओवादीबाट आएका नेताहरू एमाले भइसकेको घोषणा गर्नुभएको छ। अब उहाँहरूलाई अलग राखेर छलफल गरौं भन्ने आग्रह जायज हुन सक्दैन। अबको एमाले तीनवटा विचार समूहको संगम हो। ओली पक्षीय एमाले, नेपाल–खनाल पक्षीय एमाले र पूर्वमाओवादी वा अन्य पक्षीय एमाले। यी तीनै पक्षको सहमति र सहकार्यबाट मात्र अबको एमाले गतिशील र अग्रगामी बन्नसक्छ। नयाँ नेपालको नवनिर्माणको गतिलाई अगाडि बढाउन सक्ने र नयाँ नेपाल सुहाउँदो नीति, कार्यक्रम र राजनीतिक कार्यदिशा तय गरेर एकीकृत कम्युनिष्ट आन्दोलनलाई हाँक्न सक्ने सक्षम नेतृत्व बन्नसक्छ।
अन्नपूर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय