मंगलबार , माघ १७, २०७९

उदयपुर

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

कर्णालीमा कोरोना संक्रमणबाट वैशाख लागेयता शनिबारसम्म १९ जनाको मृत्यु भएको छ। अक्सिजन, आईसीयू र भेन्टिलेटर अभावमा संक्रमितले ज्यान गुमाइरहेका छन्। तर, प्रदेशका विभिन्न जिल्लामा रहेका आईसीयू र भेन्टिलेटर भने थन्किएका छन्।

प्रदेशका विभिन्न जिल्ला अस्पतालमा अघिल्लो वर्ष नै पुगेका आईसीयू र भेन्टिलेटर थन्किएका छन्। कोरोना महामारीको दोस्रो लहर सुरु भइसक्दा पनि ती उपकरण जडान गरिएका छैनन्। स्वास्थ्य उपकरण प्रयोगविहीन भएपछि संक्रमितको उपचारमा जटिलता थपिएको हो।

सुर्खेत र जुम्लाबाहेक जिल्ला अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयूका सामग्री दक्ष जनशक्ति अभावका कारण थन्किएका छन्। अक्सिजन, जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण यी सामान प्रयोगविहीन बनेको सम्बन्धित अस्पतालले जनाएका छन्। जाजरकोटमा भवन नहुँदा जडान गर्न नसकिएको जिल्ला स्वास्थ्य प्रमुख कृष्ण खत्रीले बताए। जनशक्तिसमेत नभएको खत्रीको भनाइ छ। रुकुम पश्चिममा जनशक्ति अभावका कारण प्रयोगमा ल्याउन नसकिएको कोरोना सम्पर्क व्यक्ति ईश्वर रावलले बताए।

मुगुमा अलग्गै कक्ष छुट्याइको छ तर दक्ष जनशक्ति नहुँदा प्रयोगमा ल्याउन सकिएको छैन। डोल्पा, कालिकोट, दैलेख र सल्यान अस्पतालमा जनशक्ति अभाव छ। कर्णाली प्रदेशभर ६२ वटा आईसीयू बेड छन्। जसमध्ये हुम्ला, कालिकोट र दैलेखमा पाँच/पाँच, मुगु, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा दुई/दुई, प्रदेश अस्पताल सुर्खेतमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० र चौरजहारी अस्पताल रुकुम पश्चिममा चारवटा बेड छन्। जिल्लामै प्राप्त आईसीयू सामग्री र भेन्टिलेटर सञ्चालन नहुँदा गम्भीर प्रकारका संक्रमित उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ।

प्रदेश सरकारले भने दक्ष जनशक्ति व्यवस्थापन प्रक्रिया अगाडि बढेको जनाएको छ। यसका लागि संघीय सरकारसँग स्वास्थ्यकर्मी मागिएको प्रदेश सरकारका प्रवक्ता मन्त्री विमला केसीले बताइन्। मन्त्री केसीका अनुसार कर्मचारी व्यवस्थापन गरेर जिल्लामा रहेका आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याइनेछ। प्रदेशभर कुल ३४ भेन्टिलेटर बेड छन्।

कर्णालीका सात जिल्लामा अक्सिजन प्लान्ट छैन। तर, भएका उपकरण पनि जनशक्ति अभावका कारण प्रयोगविहीन बनेका छन्।

‘जनशक्ति अभावका कारण भेन्टिलेटर र आईसीयू सेवा बन्द भएका हुन्। तर, आपतकालीन अवस्था आए सबै सेवा सञ्चालनमा ल्याउँछौं’, आर्थिक मामिला तथा योजनामन्त्री केसीले भनिन्, ‘जटिल प्रकृतिका बिरामीलाई सुविधायुक्त अस्पतालमा पुर्‍याएर उपचार गर्छाैँ।’

शनिबारसम्म प्रदेशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३३ पुगेको छ। वीरेन्द्रनगरमा मात्र ९ सय ४३ जना संक्रिय संक्रमित छन्। सरकारी तयारी सुस्त हुँदा महामारी नियन्त्रण बाहिर जाने खतरा बढेको छ।

अछाममा खिया लाग्दै
अछामको जिल्ला अस्पतालमा जोडिएका दुईवटा भेन्टिलेटर र आईसीयूका उपकरणमा खिया लाग्न थालेको छ। प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रले मंसिरमा उपलब्ध गराएका उक्त उपकरण चलाउन जनशक्ति छैन। भेन्टिलेटर र आईसीयू सञ्चालनमा नआउँदा उपचारमा समस्या भएको अस्पतालले जनाएको छ। यी उपकरण चार महिनादेखि थन्किएका जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डा. अतुल भारद्वाजले बताए।

‘अहिले लक्षण देखिएकालाई मात्र अस्पतालमा राखिएको छ। लक्षण नदेखिएकालाई घरमै अथवा पालिकाले बनाएको आइसोलेसनमा राखिएको छ’, डा. भारद्वाजले भने। गम्भीर प्रकृतिका बिरामी आए रेफर गर्नुको विकल्प नरहेको उनले बताए। ‘भेन्टिलेटर र आईसीयू त छन् तर सञ्चालन गर्ने जनशक्ति छैन। भेन्टिलेटरका लागि एनेस्थेसियोलोजिष्ट र फिजिसियन चिकित्सक चाहिन्छ। ती दुवै जनशक्ति अछाममा छैन’, उनले भने।

कोरोनाका मात्रै नभई अन्य प्रकृतिका बिरामीलाई पनि भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गर्नुपर्ने भए धनगढी वा नेपालगञ्ज रेफर गरिँदै आएको छ।

जनशक्ति नहुँदा भेन्टिलेटर व्यार्थै
कोरोना भाइरसका बिरामीलाई लक्ष्य गरी स्थापना गरिएको भेन्टिलेटरसहितको आईसीयू जनशक्ति अभावमा एक वर्षदेखि प्रयोगविहीन बनेको छ।

पहिलो चरणको कोरोना महामारीका बेला कोरोना विशेष अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले अघिल्लो वैशाखमा १ करोड रुपैयाँ निकासा दिएको थियो। प्रदेश सरकारको थप १० लाख रुपैयाँ लागतमा गत भदौमा दुई भेन्टिलेटरसहित पाँच बेडको आईसीयू निर्माण गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीवनारायण मण्डलले बताए।

‘सरकारले उपकरणहरू उपलब्ध गरायो तर त्यसलाई सञ्चालनमा ल्याउने दक्ष जनशक्ति पठाएन’, डा. मण्डलले भने। तत्काल सञ्चालनका लागि अस्पताल व्यवस्थापन समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पटक–पटक सम्बन्धित निकायसँग प्राविधिक माग गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ।

उनका अनुसार भेन्टिलेटर सञ्चालन गर्न एक जना एनेस्थेसियोलोजिष्ट (बेहोस गर्ने), एक जना फिजिसिएन, चार जना मेडिकल अफिसर र आठ जना आईसीयू सञ्चालनका लागि तालिम प्राप्त स्टाफ नर्स आवश्यक पर्छ। जनशक्ति अभावमा ठूलो लगानीमा उपकरणसहित तयार पारिएको आईसीयू कक्ष प्रयोगविहीन बन्न पुगेको उनको भनाइ छ।

‘संक्रमणको बढ्दो अवस्थालाई हेर्दा तत्काल तयारी अवस्थामा बस्नुपर्ने देखिन्छ,’ उनले भने, ‘जनशक्ति नभएसम्म केही गर्न सकिन्न।’

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बेल्टारमा रहेको कोभिड अस्पताल र जिल्ला अस्पतालको आईसीयू सञ्चालन गर्न केही दिनअघि प्रदेश मन्त्रालयसँग प्राविधिक र प्रशासनिक खर्च माग गरिएको बताए।

सरकारले स्वीकृत दरबन्दीअनुसार चिकित्सकहरूको पदपूर्ति गर्न नसक्दा उदयपुर जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको उपचार सेवा प्रभावित हुँदै आएको छ। कोरोना महामारीको दोस्रो लहर भयावह हुँदै गएको अवस्थामा दैनिक २ सयको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको छन्। तर, जिल्ला अस्पतालमा चिकित्सक मात्रै होइन कोरोना परीक्षण गर्ने एन्टिजेन किट र पीसीआर परीक्षण गर्ने ल्याबसमेत छैन।

अस्पतालमा हाल ७५ थान पीपीई सेट, २० सिलिन्डर अक्सिजन मात्र रहेको मण्डलले बताए। उनका अनुसार दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादनका लागि ७६ लाख रुपैयाँ खर्चमा अक्सिजन प्लान्ट स्थापना गर्न टेण्डर आह्वान भइसकेको छ। आगामी असार मसान्तभित्रमा अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिने उनको भनाइ छ। अन्नपूर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय