जनकपुरधाम

जानकी मन्दिर पछिल्लो समय अस्तव्यस्त बनेको छ। मन्दिरका नाममा रहेका जग्गाजमिनदेखि बहुमूल्य गजुर, आभूषण र गहना हराउँदै गएका छन्। महन्तको एकल व्यवस्थापनमा चलेको मन्दिरमा दशकभन्दा बढी समयदेखि न कुनै हिसाब किताब छ न त लेखापरीक्षण नै।

मन्दिरमा शोभामान अधिकांश गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजुर, भगवान् राम, लक्ष्मण र माता जानकीलाई चढाइएका बहुमूल्य आभूषणसमेत हराएका छन्।

बहुमूल्य गहना कहाँ र कुन अवस्थामा राखिएका छन् भन्ने प्रश्नको जवाफ न महन्त तपेश्वर दाससँग छ न प्रशासनसँग नै। मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि रहेको ढुंगाको कलात्मक सिंह जोडीको हीराजडित आँखा पनि चोरिएका छन्।

राजगुठी अधीनस्थ जानकी मन्दिर छुट गुठीमा सञ्चालन हुँदै आएको छ। आर्थिक रूपले सम्पन्न मन्दिरका महन्तका रूपमा रामतपेश्वर दास वैष्णव २०५३ साउन २७ देखि नियुक्त भएका हुन्।

जानकी मन्दिरको लालमोहर तथा वैष्णव सम्प्रदायको नीतिअनुसार मटिहानी स्थानका मान महन्त कौशलकिशोर दासले रामतपेश्वरलाई चादर पगरी लगाइदिएका थिए। मन्दिरमा गुरु–शिष्यको प्राचीन परम्पराअन्तर्गत महन्तको मृत्युपश्चात् उत्तराधिकारीका रूपमा रामतपेश्वर दास महन्त बने।

गुठी संस्थानले मन्दिरका नाममा रहेका जग्गाजमिन, चलअचल सम्पत्ति रेखदेख, सोको आम्दानी खर्च चुस्त–दुरुस्त राखी मन्दिर व्यवस्थित रूपमा परिचालन, मन्दिरको सम्पत्ति कुनै पनि तवरले बेचबिखन, दानदातव्य मनखपद्वारा कसैलाई पनि दिन नपाउने प्रक्रिया अनुरूप नै छुट गुठीभित्र राखी सोको जिम्मेवारी महन्तलाई सुम्पिएर काम गराउने गरिएको छ।

तर, रामशरण दासदेखि रामतपेश्वरसम्मका कामकारबाही अपारदर्शी पाइएको छ। छुट गुठी भनेको महन्तको निजी गुठी भएको र निजी गुठी हुँदा अचल सम्पत्ति महन्तले आफूखुसी दुरुपयोग गरेको मन्दिर तथा गुठीको जग्गाका संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न २०६२ सालमा गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदनमा उल्लेख छ।

बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर नगरपालिकाभित्र रहेका पोखरी, पोखरीका डिल, राम, जानकीलगायत मन्दिरको व्यवस्थापन कार्यदलको प्रतिवेदनमा जानकी मन्दिर गुठीको तैनाथी जग्गा होस् वा मन्दिर परिसरको तेलहा, मड्हा, पाकवत्ती, अरगज्जासहित पवित्र तलाउ वा डिल सबैमा महन्त रामतपेश्वरको स्वीकृति, सहमति र समझदारीबाटै कुनै पनि निर्माण कार्य भएको उल्लेख छ।

मन्दिरको सम्पूर्ण जग्गा सर्भे नापी खाली रहेकोलाई पुरानो मितिको कबुलियतको कागज लेखी आफ्नो स्वर्गीय गुरु रामशरण दासको नक्कली हस्ताक्षर गरी छाप लगाई रामतपेश्वरले हालसम्मको मनखप बुझेको भरपाई दिई बिक्री गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।

मन्दिरको नाममा रहेको जग्गा, मन्दिरका पोखरी, घर बहाल र भक्तजनको दान चढौना र भेटीबाट मन्दिरलाई बर्सेनि लाखौं आम्दानी हुन्छ। विवाह मण्डपलाई जानकी मन्दिरले वार्षिक लाखौं रुपैयाँमा ठेक्का लगाउने गर्छ।

विवाह पञ्चमी, रामनवमी, झुलनोत्सव, परिक्रमाजस्ता उत्सवमा लाखौं दर्शनार्थीबाट प्राप्त हुने चढौना र भेटीको रकमसमेत मन्दिरको आम्दानीको स्रोत हो। यसका अतिरिक्त मन्दिरले निर्माण गरेको भवनबाट प्राप्त हुने बहाल रकम, मन्दिर परिसरमा रहने गरेको पसलबाट प्राप्त हुने बहाल रकम, जग्गाको मनखपबाट प्राप्त हुने ठूलो रकम पनि मन्दिरको वार्षिक आयस्रोत हो।

यसप्रकार बर्सेनि लाखौं रुपैयाँ आम्दानी हुने यस मन्दिरको आयव्यय विवरण पनि पारदर्शी नहुने गरेको युवा अभियन्ता सुशील कर्ण बताउँछन्।

६० कोठा रहेको मन्दिरमा शिश महल, गर्भगृह, जानकी संग्रहालय महत्वपूर्ण छन्। मुगल र हिन्दु वास्तुशैलीको अनुपम नमुना रहेको यो मन्दिर जनकपुरको शोभा भए पनि अस्तित्व धरापमा पार्ने गरी श्रीसम्पति बेचबिखन हुँदै आएको छ।

महन्त दास भने आफूले मन्दिरको सम्पत्ति कतै कहीँ बेचेको प्रमाणित गरियो भने जस्तोसुकै सजायको भागिदार हुन तयार रहेको बताउँछन्। भन्छन्, ‘मैले मन्दिरको जग्गा वा सम्पत्ति बेचेको प्रमाण कसैले ल्याइदियो भने जस्तोसुकै दण्ड बेहोर्न तयार छु।’

भारत मध्यप्रदेश लोहागढका साधु सुरकिशोर दास वि.सं. १४१७ मा सीताको स्वर्णमूर्ति खोज्दै जनकपुर आइपुगे। सपनामा सीतामाताले ‘मेरो स्वर्णमूर्ति जहाँ भेटिन्छ, त्यही नै जनकपुर हो’ भनेपछि उनी मूर्तिको खोजीमा निस्केका थिए।

सीताको स्वर्णमूर्ति भेटिएको ठाउँमा उनले कुटी बनाए। र त्यही बस्न थाले। त्यति बेला घना जंगलभित्रको सानो बस्ती थियो, जनकपुर। सीताको स्वर्णमूर्ति भेटिएको खबर फिँजिएपछि भारत मध्यप्रदेशकै टिकमगढकी रानी बृषभानु कुँवर जनकपुर आएर सन्तान प्राप्तिको भाकल गरिन्।

सन्तान प्राप्तिपछि रानी बृषभानुले झोपरीमा रहेको सीताको मन्दिरलाई आलिशान बनाइदिइन्। ९ लाख चाँदीका असर्फी खर्चेर सन् १८९४ मा शिलान्यास गरिएको जानकी मन्दिरको निर्माण सन् १९११ मा सकियो। अन्नपूर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय