कोरोना तथा लकडाउनवाट प्रभावित मजदुरहरू भोकभोकै भौंतारिँदै

काठमाडौं

रामेछापका ४२ वर्षीय सुजन तामाङ काठमाडौंमा ज्यामी काम गर्छन्। सहरको चोकमा बसेर कामको खोजी गर्न लागेको वर्षौं भयो। पछिल्लो पटक उनी डेढ वर्षअघि काठमाडौं आएका हुन्। कमाइ नभएर गाउँ फर्किन सकेका छैनन्। काम पाएको दिन होटलमा खान्छन्। नत्र सडकमै भोकै सुत्छन्।

‘कोरोनाअघि काम पाउन खासै गाह्रो थिएन। तर, कोरोना देखिएपछि काम पाउन धौ–धौ छ’, तामाङ भन्छन्, ‘कहिले कता पुग्यो, कहिले कता दौडियो। सातामा एक–दुई दिन काम गरेर टिक्नुपर्ने अवस्था थियो। अहिले त यो पनि ठप्प भयो।’

गाउँमा श्रीमती र छोराछोरी छन्। भन्छन्, ‘कमाइ नभएपछि गाउँ फर्कन नै लाज लाग्ने रहेछ।’ काठमाडांै बसेर कमाएको होला भनेर आश गर्छन् । के लैजानु, के पठाउनु। कमाइ हुँदा दुई चार पैसा पठाएको पनि हो। तर, अहिले त घर जाने भाडा छैन।

उनी पशुपतिनाथ मन्दिर परिसरमा संस्थाले खाना बाँड्छ भन्ने सुनेर केही दिनअघि यता आइपुगेका रहेछन्। दिनभर यही बस्छन्, कामको खोजी गर्छन्। सानोतिनो काम पाए गरिहाल्छन्। रात परेपछि पाटीपौवामा निदाउँछन्।

पशुपति आर्यघाट छेउमै रहेको विश्राम स्थलमा भेटिए रामेछापकै मानबहादुर मगर। उनी बेन्च झुलिरहेका थिए। मैलो ज्याकेट र च्यातिएको चप्पल लगाएका मगर खानाको खोजी गर्दै पशुपति आइपुगेका रहेछन्। उनी पनि सडकमै रात बिताउने मजदुर हुन्। किन त ? भन्छन्, ‘सधैभरि काम पाइँदैन ? गास जुटाउनै मुस्किल हुन्छ ? कसरी तिर्नु काठमाडौंको महँगो कोठा भाडा र खर्च ?’

यसअघिको लकडाउनमा धेरै मजदुरले रात काट्ने आश्रयस्थलको रूपमा पशुपति मन्दिर परिसर बनाएका थिए। अहिले पनि हरेक दिन खानाको खोजीमा सयौं जना पशुपति पुग्ने गरेका छन्। मानवसेवामा समर्पित केही संघ–संस्थाले पशुपति परिसरमा निःशुल्क खाना वितरण गर्दै आइरहेका छन्।

शनिबार मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। मजदुरको हकहित र अधिकारका लागि विश्वभरमै यो दिवस मनाइने गरेको छ। कोरोना महामारी फैलिएपछि धेरै मजदुरहरूले रोजगारी गुमाएका छन्। त्यसले उनीहरूको दैनिक गुुजारा नै प्रभावित बनेको छ। कोरोना महामारीको दोस्रो लहरले च्याप्दै लगिरहेको छ। सक्रमित हुने र कोरोनाकै कारण मृत्यु हुनेको संख्या बढ्दो छ। यो क्रममा अझ बढी मजदुरले रोजगारी गुमाउने पक्का छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बजेटमार्फत नै पुनरावलोकन गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा बस्ने मजदुरलाई शुभकामना सन्देश पठाउँदै आर्थिक वर्ष ०७८÷७९ देखि लागू हुने गरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने घोषणा गरेका हुन्। अब न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्‍याउने तथा दैनिक पारिश्रमिक ५ सय १७ वाट बढाएर ५७७ पुर्‍याउने तयारी रहेको प्रधानमन्त्री ओलीले जनाएका छन्।

सरकारी घोषणा एकातिर छ भने सहरभरि छरिएर रहेका मजदुरको अवस्था अर्कोतिर। ज्यामी काम गर्ने धेरै मजदुर त दिनभर कमाउने पैसाले एउटा कोठा लिएर सजिलोसँग निदाउने क्षमता पनि राख्दैनन्। इँटा, बालुवा गिटी बोक्ने, डोकोमा सामान पुर्‍याउने, भारी बोक्नेजस्ता काम गर्ने मजदुर सडकमै जिन्दगी बाँच्न विवस छन्। सरकारी स्तरबाट न उनीहरूको स्वास्थ्य सुरक्षामा ध्यान पुगेको छ न त उनीहरूले पाउने ज्याला नै भरपर्दो र समान छ।

गोंगबुबाट बसुन्धरा जाने सडकपेटीमा भेटिए काभ्रेका लालध्वज लामा। मधुमेह र उच्च रक्तचापले हानेर उठ्नै नसक्ने भन्दै उनी सडक पेटीमै आराम गरिरहेका थिए। चाबहिल चोकतिर बसेर ज्यामी काम गर्ने लामा तीन महिनादेखि सडकमा मागेर जीवन चलाइरहेका छन्।

कोरोना फैलिएपछि कसैले पनि सहयोग नगरेको उनी सुनाउँछन्। बरु भोकभोकै तीन दिनदेखि सडकमै सुतेको उनको दुखेसो छ। भन्छन्, ‘नजिक जाँदा पनि कोरोना सर्छ भनेर लखेट्छन्। कसलाई भन्नु ? कहाँ जानु ? हिँड्नै सक्दिनँ। काम गर्न सक्दिनँ। कोरोनाले भन्दा पनि खान नपाएर पो मरिन्छ जस्तो छ।’

पशुपति मन्दिर परिसरको बाटोमा भेटिए सिन्धुपाल्चोकका नानीबाबु कोइराला। ५७ वर्षीय कोइराला हिँड्दा–हिँड्दै सडकमै थचक्क बसे। उनी खुट्टा दुखेर हिँड्नै नसक्ने अवस्थामा पुगेको बताउँदै थिए। पशुपति परिसरमा आएको एक साताभन्दा बढी भयो।

उच्च रक्तचापका कारण हातले उठाउने कुनै पनि काम गर्न सक्दैनन्। त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा अपरेसन गर्दा ७० हजार खर्च भयो। साथीहरूले उपचार गरे । काम गरेरै रिन तिरे।

निषेधाज्ञाअघि ग्वार्कोमा काम गरिरहेका थिए उनी। लकडाउनको हल्लाले काम बन्द भयो। उनको गास जुटाउने माध्यम रोकियो। भोकले लकडाउन पनि भन्दैन। कोरोनाको डर पनि देख्दैन। उनी भौतारिँदै पशुपति परिसरमा आए। बिहान साँझ खाना बाँडिने रहेछ यहाँ। तर, नानीबाबुलाई थाहा थिएन।

केही दिन पशुपतिमै भौतारिए। ज्यामी गरेर जम्मा गरेको १५०० रुपैयाँ पनि आवारा केटाहरूले लुटिदिए। भन्छन्, ‘बलिया केटाहरूको अगाडि म रोगीको के लाग्नु ? च्याप्प समातेर गोजी खोतलेर चोरी गरे।’ कुनै दयालुले केही खान दियो भने खान्छन्,। कसैले दुई चार पैसा दियो भने लिन्छन्।

दुई छोराछोरी लिएर उनकी श्रीमती डेढ वर्षअघि अरुसँग बिहे गरेर गइन्। कामकै सिलसिलामा कहिले बल्खु, हरिसिद्धि, डोको बोक्ने, वाल लगाउने, सिमेन्ट ओर्साने, नानिबाबुले अहिले छोराछोरी पनि भेट्न पाउँदैनन्। श्रीमतीले अर्को बिहे गरेपछि नानिबाबुले कोठा छाडे। भएको सामान तेसै छाडीदिए। सडकमा काम गर्न र सडकमै रात बिताउन थाले। खान नपाएको दिन भोकै सुत्छन् उनी। भन्छन्, ‘गरिब हुनु ठूलो पाप रहेछ।’

annapurna post

२०७८ बैशाख १९, आईतवार ०६:५६ गते 1 Minute 88 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार