शनिबार , बैसाख ८, २०८१

जनकपुर

प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झा गत साता कोरोना संक्रमित भए । उनी जनकपुरकै प्रादेशिक अस्पतालमा उपचार गराउन सक्थे । तुलनात्मक रूपमा अन्य बिरामीभन्दा उनलाई ‘राम्रै’ हेरचाह हुन्थ्यो । तर, प्रादेशिक अस्पताल जनकपुरको हविगत उनले बुझेका थिए । त्यसैले जोखिम लिएनन्, काठमाडौंमै उपचार गराए ।

सिरहा गोलबजार–६ का ३४ वर्षीय एक युवक वैशाख ६ गते बिरामी परे । उनलाई लहानको भूमिजा अस्पताल लगियो । सुधारको साटो अवस्था गम्भीर बन्दै गयो, कोरोनाको पनि लक्षण देखिएपछि चिकित्सकले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिदिए । धरान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो । मृत्युपछि उनको स्वाब परीक्षण रिपोर्टबाट कोरोना संक्रमण पुष्टि भयो । कोरोनाको दोस्रो लहरमा बीपी प्रतिष्ठानमा उपचारका क्रममा प्रदेश २ का २ जनाको मृत्यु भइसकेको छ ।

गत साउनमा गम्भीर बिरामी जनकपुरका पूर्वमेयर एवं होटल व्यवसायी कृष्ण गिरीलाई जहाज चार्टर गरेर उपचारका लागि काठमाडौं लगियो । कोरोना महामारीकै कारण त्यतिबेला आन्तरिक उडान बन्द रहे पनि मुख्यमन्त्री कार्यालयको सिफारिसमा चार्टर गरिएको थियो । गिरीको उपचारकै क्रममा काठमाडौंमा मृत्यु भयो । गत असारमै जनकपुरधाम–२१ का वडाध्यक्ष रामेश्वर महासेठलाई कोरोना संक्रमणको शंका लागेपछि उपचारका लागि काठमाडौं हान्निए । साता लामो उपचारपछि निको भएर घर फर्किए ।

बिहीबारमात्रै कांग्रेसका प्रदेश सांसद ओमप्रकाश शर्मा उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौं लागे । वीरगन्ज–१० आदर्शनगरका शर्मा साताअघि कोरोना संक्रमित भएका थिए । होम आइसोलेसनमा बसिरहेका उनको बुधबार रातिदेखि स्वास्थ्यमा समस्या आउन थालेपछि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको पर्सा कांग्रेसका नेता राकेशकुमार सिंहले जनाए । ‘उहाँलाई उच्च रक्तचाप, मधुमेहको समस्यो थियो । बुधबार रातिदेखि श्वासप्रश्वासमा समस्या आएको थियो,’ उनले भने ।

कोरोना संक्रमितको संख्या दिनदिनै उच्च बनिरहेको प्रदेश २ मा सांसद, उच्च सरकारी अधिकारी र जनप्रतिनिधि मात्र होइन, अलिअलि पैसा भएकाहरू पनि उपचारका लागि काठमाडौं–धरानकै अस्पतालको भरोसा गर्छन् । सरकारी स्वास्थ्य प्रणाली आसलाग्दो नहुँदा प्रदेश २ का बिरामी महामारीमा मात्र होइन, सामान्य अवस्थामा पनि उपचार गराउन अन्तै जान रुचाउँछन् । कोरोनाको दोस्रो लहरले प्रभावित बनाउँदै ल्याउँदा प्रदेशका सरकारी स्वास्थ्य संस्थामा उपचार भरपर्दो हुन सकेको छैन । त्यसैले यतिबेला पनि उपचार गराउन काठमाडौं र धरानतिर लर्को छ ।

अस्थायी राजधानी जनकपुरमा प्रादेशिक अस्पताल, वीरगन्जमा नारायणी उपक्षेत्रीय अस्पतालका अतिरिक्त प्रदेश २ का आठ जिल्लामा १३ वटा सरकारी अस्पताल छन् । वीरगन्जको नारायणी अस्पतालबाहेक अन्य सबै अस्पताल रेफरल सेन्टरजस्तै छन् । यहाँ निजी अस्पताल छ्याप्छ्याप्ती रहे पनि तिनीहरूको उपचार पनि भरपर्दो छैन । दलाल, एम्बुलेन्स र औषधि पसलेमार्फत बिरामी तान्ने यहाँका निजी अस्पतालहरू डाक्टरका क्लिनिक जति पनि गतिला छैनन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार प्रदेश २ मा १ हजार ३ सय शय्याको सरकारी, त्यति नै संख्यामा निजी र १ हजार ५ सय शय्याको शिक्षण अस्पताल छन् । वीरगन्जमा नेसनल मेडिकल कलेज र जनकपुरमा जानकी मेडिकल कलेज छ । बिरामीको चापअनुसार प्रदेशमा चिकित्सक, प्राविधिक र स्वास्थ्य उपकरणको चरम अभाव छ । आँखाबाहेक कुनै विशेष रोगको एउटै पनि अस्पताल नरहेको प्रदेश २ मा जटिल रोग, शल्यक्रिया र परीक्षणका लागि काठमाडौं, धरान, भरतपुर र विराटनगरकै भर पर्नुपर्छ । स्वास्थ्य महाशाखाका अनुसार १३ वटै सरकारी अस्पतालमा ७० जना कन्सल्ट्यान्ट फिजिसियन मात्र छन् । जसमध्ये प्रादेशिक अस्पताल जनकपुरमा २१, नारायणी अस्पताल वीरगन्जमा २२, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १३, सिरहा अस्पतालमा १, लहान अस्पतालमा १, जलेश्वर अस्पतालमा १, बर्दिबास अस्पतालमा १, कलैया अस्पतालमा ४, गौर र मंलगवा अस्पतालमा ३/३ जना छन् । पोखरिया, भारदह र चन्द्रनिगाहपुर अस्पतालमा कन्सल्ट्यान्ट फिजिसियन नै छैनन् । प्रादेशिक अस्पतालमा २, नारायणी र सगरमाथा अस्पतालमा १/१ जना एनेस्थेसियोलोजिस्ट मात्र छन् ।

चिकित्सक, शय्या, उपकरण र विशेषज्ञ उपचारको अभाव झेलिरहेको प्रदेशमा उपलब्ध स्वास्थ्य सेवा सुविधालाई पनि पंगु बनाइएको छ । जरुरी पर्दा सरकारी अस्पतालका एक्सरे र ल्याबमा कुनै न कुनै समस्या देखिन्छ । सामान्य अवस्थामा बिरामी तानातान गर्ने चिकित्सक भने महामारीका बेला उपचारै गर्नबाट पन्छिन खोज्छन् । सामाजिक विकास मन्त्रालयले पछिल्लो तीन वर्षमा प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रयास नगरेको भने होइन । जनकपुरमा बीपी कोइराला प्रतिष्ठान धरानजस्तै उपचार सुविधा उपलब्ध गराउन दुई महिनाअघि मात्रै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ । तर प्रादेशिक अस्पताल जनकपुरका केही चिकित्सक र स्वास्थ्यकर्मी नरुचाएका कारण प्रतिष्ठानले उपचारको क्षेत्रमा हात हाल्न सकेको छैन ।

जनकपुर प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक रामनरेश पण्डितले उपचार सेवाका लागि सुविधा सम्पन्न बनाउनुपर्नेमा निकै ढिलाइ भइसकेको बताए । ‘कोभिड उपचारका लागि भेन्टिलेटर र अक्सिजनसहितको सेटअप चाहिन्छ,’ उनले भने, ‘हामीसँग त्यो सेटअप नै छैन । ओपीडी र इमर्जेन्सीको भरमा सरकारी अस्पताल चलेको छ ।’ गौर अस्पतालमा स्वाब परीक्षण गर्ने जनशक्ति नहुँदा ल्याब सञ्चालनमा छैन । ‘अस्पतालमा आईसीयूमा काम गर्ने जनशक्ति, माइक्रो बायोलोजिस्ट र स्टाफ नर्ससमेतको अभाव छ,’ प्रमुख डा. कृष्ण साहले भने, ‘नौ जना चिकित्सकको दरबन्दी छ, कार्यरतको संख्या एक जना मात्रै छ ।’ हालसम्म संक्रमितहरू सामान्य अवस्थामा आइरहेकाले अस्पतालमा तत्काल संकट भने नभएको उनले बताए  । जटिल अवस्थाका बिरामी आएमा एनेस्थेसिया, पारामेडिक्स, फिजिसियन र अत्यावश्यक अक्सिजनसमेतको व्यवस्था छैन ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता ठूलोबाबु दाहालले भने संक्रमितका लागि सरकारले भरपर्दो उपचारको बन्दोबस्त मिलाउन लागेको दाबी गरेका छन् । ‘कोभिडको बिरामीलाई अहिल्यै उपचार गराउन बाहिर जानुपर्ने अवस्था छैन,’ उनले भने, ‘जटिल खालका समस्याका लागि आफूखुसी ठाउँमा उपचार गराउने सुविधा छँदै छ ।’ सरकारी अस्पतालमा रिक्त दरबन्दीमा पदपूर्तिका लागि प्रदेश सरकारले निर्णय गर्न लागेको उनले बताए । ‘जनसंख्या, बिरामीको चापअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी अपुग भए रोस्टममा राखेर पदपूर्ति गर्ने योजनामा पनि प्रदेश सरकार छन्,’ उनले भने ।

अक्सिजन–औषधि किन्दै

प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि अक्सिजन सिलिन्डर र रेम्डेसिभिर औषधि खरिद गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको दोस्रो लहरमा अक्सिजनको आवश्यकता अधिक परिरहेकाले खरिद गर्ने मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले निर्णय गरेको हो  ।

प्रदेशको १३ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिन्डर भण्डारण गर्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ५/५ लाख रुपैयाँ उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । यस्तै, संक्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिर औषधि १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई प्रदेश सरकारले सहमति दिएको छ । बैठकले आठै जिल्लामा पीसीआर मेसिन जडान भए पनि उपचारका लागि थप जनशक्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ । मुख्यमन्त्री राउतले प्रदेशका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कोरोना रोकथामका बारे भर्चुअल बैठक गरेका छन्  । कान्तिपुर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय