ललितपुर

निषेधाज्ञा लागू भइरहेका बेला ‘बुंगद्यो’ अर्थात् रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । रथयात्रा नजिकिँदै गर्दा गत वर्षझै रथ बनाएर बीचमै अलपत्र पार्ने त होइन भन्नेमा सर्वसाधारण आशंकित छन् ।

गत बुधबार लगनखेलमा रातो मच्छिन्द्रनाथलाई न्हवः (महास्नान) गराई सोही दिन राति पुल्चोकमा विशेष पूजाआजा गरी बिहीबारदेखि रथ बनाउन शुरु गरिएको थियो । महास्नानको अघिल्लो दिन मंगलबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको सरोकारवालाको बैठकले कोरोना संक्रमण फैलिइरहेका बेला स्वास्थ्य मापदण्ड अपनाएर रातो मच्छिन्द्रनाथको स्नान गराउने र त्यसलगत्तै रथ बनाउने निर्णय गरेको हो ।

काठेरथको संरचना तयार गरिसकेका बाराही नाइके दिलकुमारी बाराहीले रथ बनाउने काम भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘विगतमा झैं रातो मच्छिन्द्रनाथप्रतिको आस्थामाथि कसैले खेलाँची नगरोस् ।’अहिले लागू निषेधाज्ञाको अवधि अझै लम्बिए रथयात्रालाई गत वर्षको झंै अलपत्र पार्ने त होइन भन्ने प्रश्न सबैतिरबाट उठ्न थालेको छ ।

‘रथ त बनाउँला तर तानिने हो कि होइन ?’ –ललितपुर बालकुमारी निवासी शतीश शाक्य आशंका व्यक्त गर्नुहुन्छ । ३२ हात लामो रथ १५ दिनभित्र तयार गरिन्छ । वैशाख शुल्क प्रतिपदाको दिनसम्म रथ तयार गरी मच्छिन्द्रनाथलाई रथारोहण गर्ने परम्परा रहेको छ ।

त्यसको चार दिनपछि अर्थात् वैशाख शुल्क चौंथीका दिन रथयात्रा शुरु गरिन्छ । तिथिअनुसार यही जेठ १ गते रथ पुल्चोकबाट तानेर गाबहाल पु-याउनुपर्ने हुन्छ ।रथारोहण गरेर पुल्चोकमै रथ अलपत्र पार्ने हो कि भनेर चिन्तित हुनुहुन्छ, गत वर्ष रथयात्राका लागि शान्तिपूर्ण धर्नाको अगुवाइ गर्नुहुने पृथबिन्दु महर्जन ।

उहाँ भन्नुहुन्छ– ‘आशा गरौं । यसपटक सरोकारवालाले विगतमा झैं गैरजिम्मेवार व्यवहार देखाउने छैनन् । गत वर्ष स्वतःस्फूर्त रथ तान्ने क्रममा भदौ १८ गते बिहीबार पुल्चोकमा भएको प्रहरी र स्थानीयबीचको झडपबाट सबैले पाठ सिकून् । संस्कृति र परम्पराप्रति स्थानीयको संवेदनशीलतामाथि कसैले पनि खेलवाड नगरून् ।

’महिनौं दिन अनिर्णय बन्दीमा रहेको रातो मच्छिन्द्रनाथको रथ स्थानीयले स्वतःस्फूर्तरूपमा तान्ने क्रममा गत वर्ष भदौमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । रथयात्राका लागि दबाब दिन सामाजिक सञ्जालमार्फत भेला भएका सयौं स्थानीयले स्वतःस्फूर्तरूपमा रथ तान्ने क्रममा झडपको स्थिति निम्तिएको थियो । जसमा प्रहरीले दर्जनाै अश्रुग्याँस प्रहार गरेका थिए भने झडपमा संलग्न हुनेहरूलाई खोजी–खोजी एक सातासम्म हिरासतमा राखेर मुद्दा चलाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले गत साल चैत २५ गते रथयात्राका सरोकारवालाहरूको समीक्षा बैठक राखेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार सो बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बढी भीडभाड नगरी रथ बनाउनेदेखि रथयात्रासम्मका सबै परम्परा निर्वाह गर्ने निर्णय गरेको थियो ।

उहाँ भन्नुहुन्छ– ‘लिच्छिवीकालदेखि चल्दै आएको परम्परा हो । यसप्रति स्थानीय प्रशासन सचेत छ ।’गुठी संस्थान ललितपुरका प्रमुख खिमा वलीले भन्नुभयो– ‘संंयोग नै भनौं रथ बनाउने दिनदेखि निषेधाज्ञा लागू भयो । अहिले स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर रथ बनाउने निर्णय भएअनुरूप काम भइरहेको छ ।

भोलिको अवस्था कस्तो होला । हेर्दै जाऔं ।’निषेधाज्ञा लम्बिए विभिन्न नाकाहरू बन्द गरी रथ तान्ने योजना रहेको ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो । रथ यात्राको व्यवस्थापकीय जिम्मेवारीको संयोजन गर्दै आउनुभएका महर्जनले यसपटक विगतबाट पाठ सिकेर सुझबुझका साथ काम गरिरहेकाले विगतमा झैं दुर्घटना नहुने दाबी गर्नुभयो ।

विगतमा यसरी निम्त्यो झडप

रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने साइत गत वर्ष चैत २७ गते परेको थियो । तर, कोरोना महामारीका कारण जात्रा होला कि नहोला भन्ने अन्योलका कारण रथ बन्न सकेको थिएन । यसैबीच असार १० गते लकडाउन खुकुलो भएका बेला गुठी संस्थानले रथ बनाउने काम शुरू गर्न अनुमति दियो र सम्बन्धित गुठियारहरू रथ बनाउन खटे ।

त्यसपछि संस्थानले स्थानीय र गुठियारलाई विश्वासमा लिनुको साटो पटक–पटक रथयात्राको साइत तोक्ने र पछि सार्ने काम गरिरह्यो । यति मात्र होइन, जात्रा हुने कि नहुने अन्योलबीच रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने निर्णय गरियो । जसले गर्दा रथयात्रा हुनेमा स्थानीय ढुक्क भए । तर, रथयात्रा शुरू गर्नुको साटो रातो मच्छिन्द्रनाथलाई महिनौंदेखि बीच सडकमा अलपत्र छाडियो ।

परापूर्वकालदेखिको जात्रा बीचैमा रोकिँदा र आफ्नो आस्थाको केन्द्र रातो मच्छिन्द्रनाथलाई बीच सडकमा छाडिँदा गुठियारहरू चिन्तित र आक्रोशित भए । उनीहरूले कोरोना महामारीको जोखिम ख्याल राख्दै सुरक्षा उपाय अपनाएर जसरी पनि जात्रा सम्पन्न गर्न सरकारसँग पटक–पटक आग्रह गरे ।

यही क्रममा रातो मच्छिन्द्रनाथका मूल पुजारी कपिलमुनि बज्राचार्यका तर्फबाट कफ्र्यु वा निषेधाज्ञा लगाएर भए पनि रथयात्रा गराउन सुरक्षित रथयात्राको खाकासहित राष्ट्रपतिका नाममा लिखित आग्रह पेस गरियो । संक्रमण फैलिने जोखिम छ भने रथ तान्नेहरूको पीसीआर परीक्षण गराएर जात्रा सञ्चालन गरौं भन्ने प्रस्ताव पनि राखियो तर सरकारले वास्ता गरेन ।

मूल पूजारी बज्राचार्यका अनुसार रथयात्रामा ललितपुर महानगरपालिकाको कुनै भूमिका नहुने भन्दै मेयर चिरिबाबु महर्जन बीचमै पन्छिनुभयो । प्रशासनले कुनै सुनुवाइ नगरेपछि जनता आक्रोशित हुँदै सडकमा आएका थिए ।  समाचारपत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय