शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसहित १० देशबाट हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीले भारत, बेलायत, अमेरिकालगायत १० देशबाट हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन आग्रह गरेको छ । कोरोना संक्रमणबाट नेपालको अवस्था भयावह बन्ने तरखरमा रहेकाले कोरोना अति प्रभावित मुलुकबाट नेपाल आउने उडान रोक्न सिफारिस गरेको केन्द्रका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

बैठकले नेपालको आन्तरिक उडानसमेत बन्द गर्न सिफारिस गरेको बताइएको छ । त्यसै गरी भारतसँग सीमा जोडिएको नाका बन्द गर्न समेत केन्द्रको बैठकले सरकारलाई सिफारिस गरेको छ । नेस

यो पनि

लापरबाहीले जोखिममा काभ्रेपलाञ्चोक

काभ्रे

उपत्यका तथा तराईका जिल्लाहरुसँग सडक सञ्जाल जोडिएको काभ्रेपलाञ्चोक जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै गाउँ जानेहरुको भीड बढेको छ । संक्रमण फैलन नदिन स्थानीय प्रशासन ‘सेमी लकडाउन’को तयारीमा जुटेको छ । ‘सेमी लकडाउन कि पूरै लकडाउन’ बिहीबार बस्ने बैठकले निर्णय गर्नेछ ।

सरकारले पहाडी जिल्लामा २ सयभन्दा धेरै सक्रिय संक्रमित भएपछि आवश्यकताका आधारमा स्थानीय प्रशासनले लकडाउन गर्न सक्ने निर्णय गरेको छ । काभ्रेमा २ सय १ सक्रिय संक्रमित पुगेकाले लकडाउन हुने सम्भावना रहेको भन्दै सर्वसाधारण थप संक्रमण हुन नदिन समयमै प्रशासन सचेत हुनुपर्ने बताउँछन् । ‘सक्रिय संक्रमितको संख्या २ सय नाघे पनि अस्पतालमा भर्ना हुनेको संख्या बुधबारसम्म ५ जना मात्रै छन्’, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो– ‘तत्काल लकडाउन हुने सम्भावना छैन, भीडभाड नियन्त्रण गर्न र संक्रमण फैलन नदिन हामी सचेत छौं । भोलिबाट उपत्यकामा लकडाउन भएसँगै जिल्लामा पनि सेमी लकडाउन हुनेछ ।’ सेमी लकडाउनमा विद्यालय तथा संक्रमण फैलन गरी भीडभाड नगर्न पाटी प्यालेस बन्द गर्ने, भोजभतेर नगर्ने, भीडभाड हुने कार्यालयमा पालिकाअनुसार फरक–फरक दिन सेवा उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । नागरिकहरुले जिल्लालाई लकडाउन गरी संक्रमण फैलन रोक्नुपर्ने सुझाव दिएका छन् ।

‘मंगलबार राति कोरोना भाइरसका कारण संक्रमित भएका व्यक्तिको सम्पर्कमा आएका २४ जनाको स्वाब परीक्षणमा १७ जनामा संक्रमण देखियो’, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला संकट ब्यवस्थापन केन्द्रका सदस्य–सचिव वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो– ‘थप संक्रमितको सम्भावना देखेर बुधबार दिउँसो २३ जनाको स्वाब संकलन गरिएको छ ।’

पनौती नगरपालिका–१० मा विवाहको भोजमा सहभागीहरुमा संक्रमण देखिएसँगै दैनिक विवाह भोजमा सहभागी हुनेहरु त्रसित भएका छन् । घरमै आयोजना गरिएको उक्त भोजमा विभिन्न स्थानबाट आफन्तहरु सहभागी भएका थिए । जोखिमको अवस्था हेरेर आवश्यकताअनुसार स्वाब संकलनको कार्य गरिरहेको पनौती स्वास्थ्य शाखाका प्रमुख पुरुषोतम तिमल्सिनाले जानकारी दिनुभयो । संक्रमितमध्ये एक जना गम्भीर भएकाले जिल्लाका अस्पतालहरुमा भेन्टिलेटर अभाव भएकाले काठमाडौं रिफर गरी उपचार गरिँदै छ । बुधबार मात्रै जिल्लामा ५० नयाँ संक्रमित थपिएका छन् ।

बसमा खचाखच यात्रुहरुको भीड, दैनिक हुने भोजभतेर, छरपस्ट बजारमा असुरक्षा तथा न्यून अनुगमनका कारण संक्रमण दर फैलँदै गएको छ । अघिल्लो वर्षको तुलनामा नाकाहरुको चेकजाँच तथा नागरिकको भीडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी कम भएको नागरिकको गुनासो छ । प्रशासनले संक्रमण रोक्न कडा निर्णय र कदम नचाल्दा राजमार्गबाट दैनिक हुने आवागमन र नाकाहरुको खुला प्रवेशले संक्रमण फैलने छ । यसै विषयमा निर्णय गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बिहीबार बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय