बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ।

भारत मात्रै होइन, नेपालकै कोरोनाप्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन्। उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न भनिए पनि बजार गाउँ डुलिरहेका छन्। धनगढी, महेन्द्रनगर, नेपालगन्ज, काठमाडौंसहित उच्च जोखिम भएका जिल्लाबाट आएकाहरूको तथ्यांक कुनै निकायले राखेको छैन। गाउँ–गाउँमा कोरोनाको लक्षण भएका धेरै बिरामी भए पनि परीक्षण गर्ने नहुँदा समस्या भएको स्थानीयले बताएका छन्।

कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना लागेपछि हिमाली गाउँपालिका सिल गरिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत्त राजबहादुर भण्डारीले गाउँपालिकाका ६ कर्मचारी, स्वास्थ्य शाखाका ४ स्वास्थ्यकर्मी र तीन स्थानीयलाई पोजिटिभ देखिएको बताए।

२७ जनालाई एन्टिजेन बिधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको भण्डारीको भनाइ छ। भण्डारी पनि कोरोना संक्रमित भएर आइसोलेसनमा उपचाररत छन्। जिल्ला स्वास्थ्य कार्यालयबाट २५ एन्टिजेन किट उपलब्ध भएपछि जाँच गर्दा ११ जना पोजेटिभ भेटिएका छन्। उनले कोरोना जाँच गरिए धेरै संक्रमित हुन सक्ने बताए।

जिल्लाभरि कोरोनाको लक्षण भएका बिरामी गाउँ–गाउँमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। एन्टिजेन किट थोरै रहेकाले लक्षण भएकालाई मात्रै जाँच गर्ने गरेको कार्यालय जनाएको छ। गाउँमा कोरोनाजस्तो लक्षण भएका बिरामी धेरै रहे पनि चेकजाँच नभएको खप्तडछेडेदह गाउँपालिका–१ का धन रोकायाले बताए।

जिल्लामा पीसीआर मेसिन नहुँदा चेकजाँचमा समस्या भएको छ। सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा पीसीआर जाँच गर्ने मेसिनको व्यवस्थापन भइसकेको छ।

बुढीगंगा नगरपालिकाले गत वर्ष नै पीसीआर मेसिन खरिदका लागि २० लाख विनियोजन गरेको थियो। अन्य स्थानीय तहले बजेट विनियोजन नगर्दा त्यो बेला पीसीआर खरिद गर्न नसकिएको हो।

सिन्धुलीमा गाउँ सिल
स्थानीय बासिन्दामा कोरोना पुष्टि भएपछि सिन्धुलीको तीनपाटन गाउँपालिका–५ स्थित लंगुरखोला क्षेत्र एक साता सिल गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार उक्त क्षेत्रका एक जना करिब ७०/७५ वर्षका वृद्धमा कोरोना पाइएपछि शनिबारदेखि सिल गरिएको हो। ‘व्यक्तिबाट समुदायस्तरमा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि पूर्वसर्तकता अपनाइएको हो’, सुवेदीले भने। लंगुरखोलाको क्षेत्रको अँधेरी मूलबाटोबाट सिसा बोटेसम्मको क्षेत्रभित्र ७ सात दिनसम्म आवत–जावतमा बन्देज लगाइएको हो।

रोल्पाको गंगादेवमा १ को मृत्यु
रोल्पाको गंगादेव गाउँपालिका–३ की ४९ वर्षीया एक महिलाको कोरोना लागेर शनिबार मृत्यु भएको छ। ती महिलामा तीन दिनदेखि रुघाखोकी, ज्वारो र टाउको दुख्ने समस्या देखिएको थियो। बिरामी महिलालाई उपचारका लागि सल्यान लगिएको थियो। त्यहाँ जाँच गर्दा कोरोना संक्रमण देखिएको थियो। संक्रमण पुष्टि भएको केही समयपछि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए।

गंगादेव गाउँपालिकामा शुक्रबार ४३ जनाको पीसीआर जाँच गर्दा ४२ जनामा पोजिटिभ देखिएको थियो। गाउँपालिकाका लेखा अधिकृत र स्थानीय एक टेलरलाई एक साताअघि संक्रमण देखिएको थियो। उनीहरूको सम्पर्कमा रहेकाको स्वाब परीक्षण गर्दा सबैजसोलाई कोरोना लागेको पाइएको हो, जसमा धेरैजसो पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र बजारवासी छन्।

पालिकामा आइसोलेसन सेन्टर बनाउने भनिए पनि अहिलेसम्म बन्न सकेको छैन। संक्रमित सबै घर, क्वार्टर र डेरामा बसिरहेका छन्। स्वास्थ्यकर्मीसमेत संक्रमित भई आइसोलेसनमा रहेकाले बिरामीले स्वास्थ्य संस्थामा उपचार पाउने अवस्था छैन। कोरोना समुदाय स्तरमै पैmलिएकाले गंगादेव गाउँपालिकामा थप स्वास्थ्यकर्मी पठाउन पहल थालिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। ‘जिल्ला स्वास्थ्य कार्यालयबाट कोरोना प्रभावित गंगादेव गाउँपालिकामा आइतबारसम्म थप स्वास्थ्यकर्मीको टोली पठाउने गरी व्यवस्था मिलाउन निर्देशन दिइसकेको छु’, प्रजिअ सापकोटाले भने। सापकोटाले समुदाय स्तरमा कोरोना पैmलिएकाले सबैलाई स्वास्थ्य मापदण्डसहित बस्न पालिकाले पहल थालनी गर्न आवश्यक भएको बताए।

गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीका अनुसार संक्रमितको सम्पर्कमा रहेका सबैको स्वाब संकलन गर्ने तयारी छ। तर, स्वास्थ्यकर्मीसमेत संक्रमित देखिएकाले स्वाब संकलनमा कठिनाइ देखिएको छ।

मुस्ताङमा फैलिँदै
मुस्ताङमा शनिबारसम्म संक्रमितको संख्या १२ पुगेको छ। जिल्ला अस्पताल जोमसोमका अनुसार पोजिटिभ रिपोर्ट आएका १३ जनामध्ये बिहीबार राति एक महिलाको मृत्यु भएको हो। एक जनालाई पोखरा रेफर गरिएको छ। दुई जनाको अस्पतालकै आइसोलेसन कक्षमा उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट मनोज घिमिरेले बताए।

मुस्ताङमा समुदायमै कोरोना फैलिन थालेको आशंका गरिएको छ। तर, कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव हुन थालेको जिल्ला अस्पताल जोमसोमले जनाएको छ।

गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य निर्देशनालय पोखराले मुस्ताङलाई १ सय थान एन्टिजेन किट उपलब्ध गराए पनि जिल्ला अस्पतालमा ७०–८० थान मात्र मौज्दात रहेको घिमिरेले बताए। उनले मुस्ताङमा कोरोना संक्रमणको लक्षण देखिएका सबै बिरामी अस्पताल आउने अवस्था रहे किटको अभाव हुने बताए। ‘मुस्ताङमा समुदाय स्तरमा कोरोना फैलिँदै गएको हामीले अनुमान गरेका छौं। कोरोना लक्षण देखिएका बिरामी खुल्न चाहेका छैनन्’, उनले भने, ‘दबिएर रहेका बिरामी अस्पताल आउन नसकेकाले परीक्षणको दायरा न्यून भएको हो।’

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय