मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ।

गत वर्ष फेब्रुअरी १४ तारिकका दिन अफ्रिकी मूलक इजिप्टमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमित फेला परे । त्यस लगतै नाइजेरिया लगायतका देशहरूमा पनि कोरोना भाइरस पुगेपछि डब्लुएचओ लगायत संसारभरिका स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरे–संसारको दोस्रो जनसङ्ख्या घनत्व भएको र स्वास्थ्य संरचनाहरू अत्यन्तै कमजोर भएको यो क्षेत्रमा महामारीले कस्तो रूप लेला ?

त्यस बेला विश्व स्वास्थ्य संगठनले अफ्रिकामा मात्रै चार करोड ४० लाख भन्दा बढी मानिसहरू कोरोना भाइरसबाट सङ्क्रमित हुन सक्ने प्रक्षेपण गर्‍यो । विश्वका लगभग दुई तिहाइ गरिबहरूको बसोबास रहेको अफ्रिकामा ४० प्रतिशत भन्दा बढी मानिसहरू त गरिबीको रेखामुनि नै छन् । त्यो क्षेत्रको स्वास्थ्य स्थिति कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

तर, विश्वका सर्वाधिक धनी, सुविधा सम्पन्न र अत्याधुनिक भनिने मुलुकहरू समेत कोरोनाका सामुन्ने घुँडा टेक्दा अफ्रिकामा भने महामारी खासै फैलिएन । किन होला ? यसको जवाफ अहिले खोज्ने प्रयत्न भइरहेको छ ।

कोरोना सङ्क्रमणको रोकथाम गर्न एसिया, युरोप र अमेरिकाका धेरै देशहरूले कडा लकडाउन गरे । अहिले दोस्रो लहरका कारण आजकै मितिमा पनि अधिकांश मुलुकमा लकडाउन जारी छ । तर, अफ्रिकाका कुनै पनि मुलुकहरूले त्यस्तो कठिन परिस्थितिको सामना गर्नु परेन ।

सन् २०२१ को अप्रिल अन्ततिर आइपुग्दा युरोपमा मात्रै साढे चार करोड जना कोरोना सङ्क्रमित भइसकेका छन् । जसमध्ये १० लाख ११ हजार भन्दा बढीको त मृत्यु नै भइसकेको छ । जबकि युरोपको जनसङ्ख्या अफ्रिकाको भन्दा दुई तिहाइले कम छ । उता, सिङ्गै अफ्रिकामा भने जम्माजम्मी ४६ लाखको हाराहारीमा मात्र सङ्क्रमित भएका छन् । मृत्यु हुनेको सङ्ख्या एक लाख २२ हजार जति छ ।

यो सबैको कारणबारे मानिसहरूले अनेकौँथरि अनुमान र तर्क पेस गरिरहेका छन् । कतिपयले अफ्रिकन जाती नै जब्बर भएका कारण कोरोनाले नछोएको भन्ने गरेका छन् । तर, त्यो कुरा अफ्रिका छोडेर युरोप र अमेरिका आएर बसोबास गरेका अफ्रिकनहरूको कोरोना लागेर भटाभट मृत्यु भइरहेको घटनाले खण्डन गर्छ ।

अर्काथरि के भन्छन् भने, अफ्रिकाको हावा पानी नै त्यस्तो छ की त्यहाँको उष्णतामा कोरोना भाइरस टिक्नै सकेन । जसका कारण सङ्क्रमण कम भएको हो । तर, त्यो कुरा पनि मिल्दैन । किनभने अफ्रिका भन्दा बढी गर्मी हुने विश्वका अरू धेरै भू–भागमा कोरोनाले तबाह मच्चाइरहेको छ ।

त्यसो भए कारण के हो त ? प्रश्न अझै पनि अनुत्तरित छ । के कोरोना भाइरस अफ्रिकाको सामाजिक व्यवस्था र रहनसहनका कारण फैलन नसकेको हो ? धेरै समाजशास्त्रीहरु यो कुरा स्विकार्दैनन् । अझ धेरै झुण्डमा बस्ने र खाना समेत सबै परिवारले एउटै थालमा खाने सस्कृती समेत भएको यो महादेशमा कोरोना झन् तीव्र गतिमा फैलनु पर्ने हो ।

धेरै प्रकारका भाइरसजन्य रोगहरूले अफ्रिकालाई अहिले पनि गाँजिरहेको छ । इबोलादेखि हैजासम्मले अफ्रिकालाई पिरोल्न छोडेको छैन । तर, फेरि पनि कोरोनाले भने अनपेक्षित ढङ्गले अफ्रिकालाई माया गर्‍यो ।

पछिल्ला दिनहरूमा अनुसन्धानकर्ताहरू के निष्कर्षमा पुगेका छन् भने त्यहाँको अत्यन्तै ठुलो मात्रामा रहेको युवा जनशक्ति नै कोरोना परास्त गर्ने प्रमुख आधार हो । हुन पनि युरोपको जनसङ्ख्यामा औसत उमेर ४३ वर्षको छ । उता, अमेरिकी नागरिकको यस्तो औसत उमेर ३८ वर्षको छ ।

तर, अफ्रिका महादेशको जनसङ्ख्यामा भने औसत उमेर १८ वर्षको छ । नाइजर, माली, युगान्डा, एंगोला जस्ता देशहरूमा त औसत उमेर १६ वर्ष भन्दा तल छ । हामीले यसअघि नै तथ्यांकमा देखिसकेका छौँ की कोरोनाको सङ्क्रमणबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरुरमा अधिकांश बृद्धबृद्धा र वयस्क छन् ।

युवा उमेर समूहलाई कोरोनाको पहिलो लहरले खासै त्यति धेरै असर गरेन । तर, अहिले दक्षिण एसिया मुलुकहरूमा युवाहरू नै धमाधम कोरोना सङ्क्रमणबाट मरिरहेका छन् । यदि कोरोनाको यो पछिल्लो भेरियन्ट अफ्रिका पुग्यो भने त्यसले के गर्ला ? के फेरि पनि अफ्रिकाको युवा जनशक्तिले त्यो पचाउँछ वा कोरोनाले अफ्रिकनहरूलाई विश्वको अरू भागमा जस्तै सोतर पार्छ ? त्यो भने भविष्यकै गर्भमा छ ।

तर, अहिले चाहिँ अफ्रिकन नागरिकको युवा उमेर नै मात्र त्यस्तो ढालका रूपमा देखिएको छ की जसले कोरोनालाई सो महादेशमा ताण्डव मच्चाउनबाट रोक्यो । आर्थिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय