शनिबार , बैसाख ८, २०८१

विराटनगर:

म्यानमारबाट विस्थापित भएपछि बंगलादेशमा शरण लिएर बसिरहेका रोहिंग्या शरणार्थी भारतको बाटो हुँदै सीमावर्ती नाकाबाट पूर्वी नेपालमा छिर्न थालेको पाइएको छ ।

जीवन जिउन सहजताको खोजी गर्दै रोहिंग्य मुस्लिमहरु झापाको काँकडभिट्टा र मोरङको सीमावर्ती नाका हुँदै नेपाल प्रवेश गरेको विषयले यतिबेला स्थानीय प्रशासनलाई झस्काएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएर मुलुकको अवस्था जटिल बन्दै गइरहेका बेला रोहिंग्या आप्रवासीको तनाव पनि थपिएको हो । कोरोना नियन्त्रणमा राज्यका सबै शक्ति परिचालन गरिएको अवस्थामा त्यसको फाइदा उठाउँदै रोहिंग्यालाई लुकाईछिपाई चोर बाटोको प्रयोग गरी नेपाल छिराउन गिरोह नै सक्रिय रहेको पाइएको हो ।

गृह मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पत्र पठाउँदै यस विषयमा सत्यतथ्य बुझेर कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले वैशाख ६ गते पठाएको पत्रमा सम्बन्धित निकायसँग समन्वय गरेर कारबाही थाल्न प्रशासनलाई आवश्यक निर्देशन दिइएको छ ।

गृह स्रोतका अनुसार केही दिनअघि मात्रै झापाको काँकडभिट्टा नाका हुँदै १०/१२ जना रोहिंग्या आप्रवासी भारतबाट नेपाल प्रवेश गरेको जानकारी छ । लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरु झापाको कमल गाउँपालिकास्थित मुस्लिम बस्ती रहेको टागनडुब्बामा आश्रय लिएर बसिरहेको विशेष सूचना प्राप्त भएको गृहका एक अधिकारीले बताए ।

उनका अनुसार मोरङको सीमावर्ती नाका हुँदै भारतबाट तीन/तीन जनाको दुई रोहिंग्या परिवारलाई विराटनगर ल्याउँदै आश्रय दिएर राखिएको सूचना पनि छ । उनीहरुलाई विराटनगरको कुन ठाउँमा राखिएको छ भन्ने यकिन भइसकेको छैन । खोजी र पहिचानका लागि सबै सुरक्षा संयन्त्र परिचालन गरिएको भए पनि फेला पार्न भने नसकिएको जानकारी ती अधिकारीले दिए । पत्ता लगाउन नसक्दा झन् चिन्ता बढेको छ ।

रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने गिरोहलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन तदारुकता देखाइएको गृह स्रोतले बतायो । गृह स्रोतले भन्यो, ‘आगामी दिनमा उनीहरुलाई नेपाल आउन नदिन र आइसकेकालाई खोजी एवं पहिचान गरेर कारबाही गर्न प्रक्रिया अघि बढाइएको छ ।’

गृहका एक उच्च अधिकारीका अनुसार अहिले पूर्वी नेपालमा छिरेका रोहिंग्याको खोजी र पहिचान एवं यकिन गर्नका लागि विशेष ढंगले सुक्ष्म अनुसन्धान भइरहेको छ । केही वर्षअघि म्यानमारबाट विस्थापित भएका लाखौँ रोहिंग्या मुस्लिम बंगलादेशमा शरण लिएर बसिरहेका छन् । ती मध्ये करिब पाँच सय जना भारतको बाटो हुँदै नेपाल आएर काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको राममन्दिर क्षेत्रमा क्याम्प बनाएर बस्दै आएको गृह स्रोतले बतायो ।

उक्त राममन्दिर क्षेत्रस्थित रोहिंग्या आप्रवासी क्याम्पका मौलाना जुबेर र लसुनटारस्थित आप्रवासी क्याम्पका रफिक आलम पछिल्लो समय रोहिंग्यालाई बंगलादेश र भारतबाट नेपालतिर प्रवेश गराउने धन्दामा सक्रिय रहेको पुष्टि गृह मन्त्रालयले गरेको छ । यस विषयमा जतिसक्दो चाँडो यथार्थ बुझ्न गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित झापा र मोरङलाई संयुक्त पत्र पठाएको हो ।

पत्रमा भारत तथा बंगलादेशमा रहेका रोहिंग्या मुस्लिमलाई विभिन्न नाका हुँदै नेपाल प्रवेश गराउने कार्यमा विगतदेखि नै उनीहरु सक्रिय रहँदै आएको उल्लेख छ । स्रोतका अनुसार पछिल्लो समय पूर्वी नेपालमा रोहिंग्या छिराउने धन्दामा भने जुबेरको संलग्नता पाइएको छ । स्थानीय प्रशासनले खोजी तीव्र पारे पनि उनी फेला परेका छैनन् ।

कानुन विपरीतका कार्य गरेका कारण जुबेरमाथि कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । उनले प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म लिएर रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जुबेरले बंगलादेश र भारतभन्दा तुलनात्मक रुपमा नेपालमा जीवन सहज रहेको र शरणार्थीको संरक्षणका सवालमा काम गरिरहेको संयुक्त शरणार्थी उच्च आयुक्त कार्यालय (यूएनएचसीआर)ले आर्थिक सहयोग उपलब्ध गराउनेजस्ता प्रलोभन देखाएर पैसा असुल्दै रोहिंग्यालाई नेपाल ल्याउने गरेका हुन् । गृह स्रोतका अनुसार भारत र बंगलादेशमा शरणार्थीको जीवन असहज छ । विगतमा भुटानी शरणार्थीको अवस्थालाई हेरेरै अरु मुलुकभन्दा शरणार्थी जीवन सहज रहेको यकिन भएकाले रोहिंग्याको रोजाइमा पनि नेपाल पर्ने गरेको स्रोतको भनाइ छ ।

‘नेपाल–भारत खुला सीमाका कारण भारतबाट हुने निर्वाध आवतजावतलाई रोक्न निक्कै कठिन एवं चुनौतिपूर्ण छ,’ झापा प्रशासनका एक अधिकारीले भन्यो, ‘विभिन्न नाका हुँदै प्रवेश गर्ने सबैलाई नियन्त्रणमा लिने र यकिन गर्ने सम्भावनै छैन ।’ केही समयअघिदेखि नेपाल छिर्न थालेका रोहिंग्या शरणार्थीको संख्या बढ्दै गएर पछि स्थिति समस्याग्रस्त हुने भएकाले बेलैमा उनीहरुलाई रोक्न विशेष ढंगको कारबाही आवश्यक रहेको निस्कर्ष गृह मन्त्रालयले निकालेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले रोहिंग्यालाई लक्षित गरेर उनीहरुको प्रवेश रोक्नका लागि सीमा नाकामा कडाई गरिएको बताए । ‘भारतसँग खुला सीमा भएकाले उनीहरु जतिबेलै पनि नेपाल छिर्नसक्ने अवस्था छ,’ उनले भने, ‘त्यही भएकाले केन्द्रबाट आएको निर्देशनअनुसार रोक्न र नियन्त्रण गर्न स्थानीय प्रशासन संवेदनशिल भएर लागेको छ ।’

नेपाल छिरेर अवैध रूपमा कोही बसेको पाइएमा नियन्त्रणमा लिएर अध्यागमन ऐन अनुसार कारबाही अघि बढाउन अध्यागमन विभागमा पठाइने जानकारी उनले दिए । ‘रोहिंग्यालाई नेपाल छिर्नै नदिने हिसाबमा काम भइरहेको छ,’ प्रजिअ तिमल्सिनाले भने, ‘झुक्याएर र लुकिछिपी छिरेको आशंकामा कानुन अनुसार कारबाही अघि बढाउन आवश्यक छानबिन र खोजी गरिरहेका छौँ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोहिंग्यालाई नेपालमा छिरेर बस्नका लागि कानुनले पनि नमिल्ने बताए । ‘शरणार्थीका रुपमा आउन दिँदा धेरै समस्या आउन सक्छ,’ उनले भने, ‘उनीहरु त्यत्तिकै पासपोर्ट (राहदानी) बिना आउनै पाउँदैनन् ।’ पासपार्ट लिएर आउनेहरु पनि म्याद सकिएपछि फर्कनुपर्ने उनले बताए ।

कोरोना महामारी नियन्त्रणमा सबै केन्द्रित भएको मौका छोप्दै त्यसको फाइदा उठाएर रोहिंग्यालाई नेपाल प्रवेश गराउनसक्नेतर्फ सचेत रहेर काम भइरहेको प्रजिअ निरौलाको भनाइ छ । ‘कोही रोहिंग्य नेपाल आएर सहरी शरणार्थीका रुपमा बसोबास गर्छ सक्छन्,’ उनले भने, ‘त्यही भएकाले भारतबाट नेपाल छिर्ने सबै नाकालाई उच्च सुरक्षा निगरानीमा राखिएको छ ।’ नेपाल छिरेको भनिएकाहरुको खोजीका लागि अहिले विशेष टोली परिचालित रहे पनि पत्ता लगाउन मुस्किल परिरहेको प्रजिअ निरौलाको भनाइ छ ।

म्यानमारबाट विस्थापित भएर बंगलादेशमा बसोबास गरिरहेका रोहिंग्यालाई आफ्नै मुलुक फर्काउने विषयमा पटक–पटक म्यानमार र बंगलादेशबीच छलफल एवं वार्ता भए पनि विषयवस्तुले भने सार्थकता पाउन सकिरहेको छैन । म्यानमारमा भएका हिंसात्मक गतिविधिपछि बस्न नसकेर आफ्नो मुलुक छाड्न बाध्य भएको म्यानमारको अल्पसंख्यक रोहिंग्या समुदाय अर्काको मुलुकमा शरणार्थी जीवन बिताइरहेको हो । विश्व समुदायले फर्काउन आग्रह गरे पनि म्यानमारको सरकारले चासो दिएको छैन । उसले उल्टै रोहिंग्यालाई म्यानमारमा आएर बसेका बंगलादेशी नागरिक भनेर दाबी गरिरहेको छ ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय