शुक्रबार , चैत्र १६, २०८०

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलभित्र आन्तरिक किचलो र ‘कचिङ्गल’ बढेको छ । संसदको पहिलो ठूलो दल नेकपा एमाले, दोस्रो ठूलो नेपाली काँग्रेस र चौथो ठूलो जनता समाजवादी पार्टीभित्र सत्ता राजनीतिको संघर्ष उत्कर्षमा पुगेपछि कचिङ्गल बढेको हो ।

सत्ता, शक्ति र पदका लागि आफैंभित्र रुमल्लिएका दलहरु मुलुकको राष्ट्रिय समस्यालाई बेवास्ता गर्दै निहित स्वार्थ पूरा गर्ने ध्याउन्नमा केन्द्रित हुँदा जनतामा वितृष्णा पैदा हुन थालेको छ ।

तीनवटै पार्टीमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणलाई लिएर यस्तो कचिङ्गल पैदा भएको हो ।

यही फरक दृष्टिकोणका कारण एमालेमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समूह र माधवकुमार नेपाल समुहले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् ।

एमालेमा एक समुहले अर्को समूहलाई कर्नरमा पार्नेमात्रै होइन, अस्तित्व नै नस्वीकार्ने अवस्था सिर्जना भएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेको ओली पक्षले विधान र पार्टी सिद्धान्त विपरीत एकपक्षीय ढंगले माधव पक्षलाई पार्टीबाट हटाउने, कारवाही गर्ने तथा अर्को पार्टीका नेताहरुलाई जिम्मेवारी दिने गरेपछि असन्तुष्ट बनेको माधव समुह देशभर समानान्तर कमिटीहरु गठन गरेर फरक पार्टीको अभ्यास गरिरहेको छ ।

एमालेका दुवै (ओली र माधव) समुहका गतिविधिले कानुनीरुपमा पार्टी एउटै भए पनि राजनीतिक रुपमा विभाजित भैसकेका छन् ।

काँग्रेसमा पनि उस्तै

संसदको दोस्रो ठूलो दल नेपाली काँग्रेसमा पनि कचिङ्गल कायमै छ । खासगरी केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा काँग्रेस नेताहरुबीच एकरुपता छैन ।

सभापति शेरबहादुर देउवा ओली नेतृत्वको सरकारप्रति नरम देखिन्छन् भने अर्का नेता रामचन्द्र पौडेल आक्रमक देखिन्छन् । पौडेल जनप्रतिनिधिको सर्वोच्च संस्था प्रतिनिधि सभा विघटन गर्ने ओली र उनको नेतृत्वको सरकार तत्काल विस्थापन गर्नुपर्ने पक्षमा छन् भने देउवा तत्काल त्यस्तो सम्भावना नरहेको बताइरहेका छन् ।

यो पनि..
कोरोना बढ्दैछ, राजनीतिक पार्टीचाहिँ के गर्दैछन् ?

फागुन २३ पछि माओवादी केन्द्रले देउवालाई सरकारको नेतृत्व गर्न गरेको पटक–पटकको आग्रहलाई समेत देउवाले ‘संख्या नै पुग्दैन’ भनेर ओली मोह देखाइरहेका छन् ।

पार्टी बैठकमार्फत नै ओलीको विकल्पमा काँग्रेस नेतृत्वको सरकार गठन गर्ने निर्णय गरेको काँग्रेसमा देउवाले पहलकदमी नगर्दा आफ्नै निर्णय कार्यान्वयन नहुने अवस्था आउने त होइन भन्ने काँग्रेसजले प्रश्न गर्न थालेका छन् ।

शुक्रबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापति देउवाले बैकल्पिक सरकार गठनको सम्भावना तत्काल नरहे पनि पहल जारी रहेको बताए । ‘कांग्रेसले वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ, तर संख्या पुग्नुपर्छ । संख्या नपुगुञ्जेल मैले प्रधानमन्त्री हुन्छु भनेर चाहेर हुँदैन । मैले चाहेन भनेर गलत प्रचार भएको छ, अहिले मैले चाहेर मात्रै हुने अवस्था छैन,’ देउवाको भनाइ थियो ।

देउवाले यस्तो बताए पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने देउवाले उचित पहलकदमी नलिएकै कारण नयाँ सरकार गठनमा ढिलाइ हुन पुगेको भन्दै देउवाको कार्यशैलीप्रति असन्तुष्ट बन्न पुगेको छ ।

जसपा फुटको संघारमा

एमाले र काँग्रेसमात्र होइन, संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीमा बढेको कचिङ्गलले पार्टी विभाजनको संघारमा पुगिसकेको छ ।

लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई कारबाही गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले यी सांसदलाई कारबाही गर्न १४ वैशाखमा पार्टीको कार्यकारिणी समितिले गरेको निर्णयसहित प्रदेशमा पठाएका थिए । सोहीअनुसार चार सांसदलाई बिहीबार प्रदेश संसद सचिवालयले कारवाही गरिसकेको छ ।

तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा आफ्ना चार जना सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको भन्दै निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई पत्र पठाएका छन् ।

चार सांसदलाई प्रदेश सभा सचिवालयले कारबाही गरेपछि शुक्रबार निर्वाचन आयोग पुगेका अध्यक्ष ठाकुरले कसैलाई पनि पार्टीले कारबाही नगरेको भन्दै जसपा नेपालको कार्यकारिणी समितिको बैठक ७ पुस २०७७ यता हालसम्म नबसेको जानकारी गराएका छन् ।

ठाकुरले उपेन्द्र यादवको पत्र गैरकानुनी भएको भन्दै सो पत्र र सम्बन्धित अन्य पत्र तथा निर्णयसमेत बदर गर्न निर्वाचन आयोगलाई भनेका छन् ।

पूर्वराजपा र समाजवादी पार्टी मिलेर बनेको जसपामा महन्थ र राजेन्द्र महतो ओलीप्रति नरम छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकार विस्थापन गर्ने पक्षमा छन् ।

राष्ट्रिय समस्यामा वेवास्ता

हाल मुलुकमा कोरोना माहामारी भयाबह बन्दै गएको छ । दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र मृत्यु दर बढ्दो छ । गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन मुस्किल छ । देशभरका अधिकांश अस्पतालका बेड खाली छैनन् । पछिल्लो तथ्यांकअनुसार ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शैय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारीसँग भनसुन गर्नुपर्ने बाध्यता छ । तर, यस्तो भयावह अवस्थामा पनि राजनीतिक दलहरु भने आफैं झगडामा व्यस्त छन् । राष्ट्रिय संकटका बेला एकजुट भएर समस्या समाधानतिर लाग्नुपर्ने दलहरु समस्याप्रति गैरजिम्मेवार बन्दा उनीहरुको भुमिका र कार्यशैलीप्रति प्रश्न उठेको छ ।

विश्लेषक भन्छन्– नेता नभएर गुटका नाइके भए

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य हालका राजनीतिक पार्टीका नेताहरु नेता नभएर गुटका नाइके मात्रै भएकाले जनतामा पार्टीप्रति नै वितृष्ण पैदा हुन पुगेको बताउँछन् । पदमा पुगेकाहरूले सत्ता, शक्ति, सम्पत्ति र परिवारबाहेक केही नहेर्ने गर्दा किचलो भइरहेको आचार्यको भनाइ छ ।

‘नेता त जनताको हुन्छ । यी त गुट र गिरोहका नाइके भए । हिजो एक समय त्याग गरे पनि उनीहरुमा नेता हुने गुण देखिएन’, विश्लेषक आचार्य भन्छन्, ‘नेता हुन क्षमता वा गुण चाहिन्छ । तर, यिनीहरुमा भएन । किनभने यिनीहरु अरुले बनाएको पार्टीको कारिन्दा थिए । काँग्रेसमा वीपी, कम्युनिस्टमा पुष्पलाल मनमोहनहरुका फलोअर्स मात्रै हुन् ।’

आचार्यले रातोपाटीसँग भने, ‘नेता कोही छैनन्, प्राविधिक रुपमा पदमा पुगेका मात्रै हुन् । उनीहरुमा नेता हुने सद्‌गुण नै छैन । तर, यिनै अवगुणीको बीचमा सबै पार्टी फसे ।’ उनले नेताहरुको कार्यशैलीको चित्रण गर्दै भने, ‘घरघरमा लास निस्किरहेको छ, उनीहरु जन्ती जाने तयारी गर्दैछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय