नयाँदिल्ली

भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको शुक्रबार निधन भयो । उनलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार भइरहेका बेला शुक्रबार बिहान ‘कार्डिआक अरेस्ट’ का कारण उनको मृत्यु भएको हो । सरदानाले आजतक टीभीमा ‘दंगल’ र ‘दस तक’ कार्यक्रम चलाउँथे । त्यस्तै महामारी सुरु भएदेखि नै दिनरात नभनी रिपोर्टिङमा खटेका च्यानल न्युज नेसनका पत्रकार मनोज कुमार आफैं समाचार बने ।

एक वर्षभित्र कैयन् संक्रमितहरूका कथा र व्यथा उनको रिपोर्टिङमा समेटिए । उनले गत मंगलबार कोरोना संक्रमणबाट ज्यान गुमाए । बेलायती पत्रिका द गार्जियनकी दिल्ली संवाददाता ककोली भट्टाचार्यको पनि कोरोनाले नै ज्यान लियो । ५१ वर्षीय भट्टाचार्य करिब १२ वर्षदेखि गार्जियनको दिल्लीस्थित दक्षिण एसिया ब्युरोमा आबद्ध थिइन् ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्याले हरेक दिन नयाँ रेकर्ड बनाउने क्रमसँगै संक्रमणकै कारण मृत्यु हुने पत्रकारहरूको यस्तो सूची दिनहुँ लामो बन्दै गएको छ । एक अध्ययनले पछिल्लो एक वर्षमा महामारीको जोखिमपूर्ण सही सूचनाका लागि कुदिरहेका पत्रकारहरू आफैं पनि संक्रमित भएका छन् र करिब डेढ सय जनाले ज्यान गुमाउनुपरेको छ ।

प्रेस क्लब अफ इन्डियाले त अप्रिलको महिनामा प्रत्येक दिन कम्तीमा एक जना पत्रकार गुमाउनुपरेको जनाएको छ । भारतीय महिला पत्रकारहरूको सञ्जाल (नेटवर्क अफ वुमन इन मिडिया) को तथ्यांकअनुसार महामारी सुरु भएयता १ सय ५५ जना भारतीय पत्रकारहरूले संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यसैगरी इन्स्टिच्युट अफ पर्सेप्सनले गरेको अर्को एक अध्ययनले पछिल्लो एक वर्षमा संक्रमणबाट ज्यान गुमाउनेहरूमा उत्तरप्रदेशका पत्रकार बढी छन् ।

अध्ययनका अनुसार २० अप्रिल २०२० देखि २१ अप्रिल २०२१ सम्ममा उत्तरप्रदेशमा मात्र १५ पत्रकारको मृत्यु संक्रमणका कारण भएको छ । दोस्रो स्थानमा छ तेलंगना । त्यहाँ ११ जनाको ज्यान गएको छ भने राजधानी दिल्लीमा ५ जना पत्रकारको मृत्यु भएको छ ।

अध्ययनका अनुसार पछिल्लो चार महिना मात्र संक्रमणले ३१ पत्रकारको ज्यान लिएको छ । र, यो संख्या दिनहुँ बढ्दो छ । र, युवादेखि पाका पत्रकारसम्मले कोरोनासँग जुध्दाजुध्दै हार मानेका छन् । वामपन्थी नेता सीताराम यचुरीका ३४ वर्षीय छोरा आशिष यचुरीको पनि संक्रमणबाट एक साताअघि मृत्यु भएको थियो ।

उनी न्युजलन्ड्रीमा सहायक सम्पादक पदमा कार्यरत थिए । पत्रकार यचुरीको हरियाणाको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अघिल्लो मंगलबार पाका पत्रकारद्वय पीपी पाण्डे र बिजन सरकारले पनि कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सकेनन् । त्यस्तै गत आइतबार मुम्बईमा वरिष्ठ द हिन्दुका फोटो पत्रकार विवेक बेन्द्रेको संक्रमणकै कारण मृत्यु भयो ।

करिब ३० वर्ष फोटो पत्रकारिता गरेका बेन्द्रेले सन् १९९३ मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटको तस्बिरका कारण निकै चर्चा बटुलेका थिए । पाँच दिनअघि अर्का पुराना पत्रकार सन्तोष कुमारको पनि कोरोनाले नै ज्यान लिएको थियो ।

संक्रमित पत्रकारहरूको संख्या त गनिसाध्य छैन । न कसैले यसको तथ्यांक राखेको छ । पत्रकारहरूले पनि अन्य नागरिकहरूले जस्तै बेड, अक्सिजन र रेम्डेसिभिरलगायतका अत्यावश्यक औषधिहरूका लागि हारगुहार गरिरहेको देखिन्छ । कति पत्रकारले त अक्सिजनको गुहार गर्दै मृत्युवरण गरेका छन् ।

अघिल्लो साता लखनउका स्वतन्त्र पत्रकार विनय श्रीवास्तवको ट्वीटरमा अक्सिजनका लागि गुहार गर्दागर्दै मृत्यु भयो । उनले २४ घण्टादेखि आफ्नो अक्सिजन निरन्तर घटिरहेको भन्दै सहयोगका लागि याचना गरिरहे । याचना सुन्ने कोही भएनन्, भोलिपल्ट उनको मृत्यु भयो ।

यति धेरै संख्यामा पत्रकारहरू संक्रमित हुने र ज्यान गुमाउनुपर्ने परिस्थिति कसरी बन्यो त ? दिल्लीस्थित भारतीय आमसञ्चार अध्ययन संस्थान (आईआईएमसी) का प्राध्यापक तथा पूर्वपत्रकार आनन्द प्रधान महामारीका बेला अपनाइनुपर्ने सावधानी र सतर्कमा गम्भीर नभएका कारण पत्रकारहरूले असमयमै ज्यान गुमाउनुपरेको बताउँछन् ।

‘अस्पताल, गल्लीगल्ली, शवदाह गृह केही नभनी अत्यन्त जोखिमपूर्ण वातावरणमा रिपोर्टिङ गरिरहेका छन् तर त्यसका लागि चाहिने सावधानी र पूर्वतालिम नभएकाले पनि धेरै पत्रकारहरूको ज्यान गएको हो,’ उनले भने । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय