शुक्रबार , चैत्र १६, २०८०

गण्डकी प्रदेश सरकारको मन्त्री पदमा १६ वैशाखको साँझ दिपक मनाङेले सपथ लिए । ग्याङस्टर हुँदै राजनीतिमा होमिएर प्रदेश सांसद जितेका उनी मन्त्री बन्नु रोचक थियो । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका उनले प्रदेशको संसदीय अंकगणितमा महत्व पाउँदा मन्त्री बन्ने अवसर पाएका थिए ।

मनाङे मात्र नभई नेपालको राजनीतिमा धेरै विवादास्पद पात्रहरु सांसद हुँदै मन्त्री बनेको इतिहास छ । कतिपय मन्त्रीहरुको अन्र्डवल्र्ड कनेक्शन समेत खुलेको थियो । राजनीतिमा अपराधीकरणका यस्ता धेरै नमूनाहरु नेपालमा देखिएका छन् । ग्याङस्टर देखि अन्र्डवल्र्ड डनसम्म नेपालको सत्ता राजनीतिका खेलाडी बन्न् पुगे । उनीहरु मन्त्री सम्म बने ।

सञ्जय शाह ‘टक्ला’
सञ्जय शाह ‘टक्ला’ले जनकपुरमा डनको छवि बनाएका थिए । ठेक्कापट्टामा निकै बलियो पकड बनाएका उनले पैसा र बाहुबलीका आधारमा पहिलो संविधान सभा निर्वाचनमा टिकट पाए । शाह प्रत्यक्षतर्फ निर्वाचित भए । दोस्रो संविधानसभा निर्वाचनमा पनि विजयी भए ।

मधेशी जनअधिकार फोरमबाट पहिलो संविधानसभामा र सद्भावना पार्टीबाट दोस्रो संविधानसभा निर्वाचनमा टक्जा विजयी भएका थिए । फोरम विभाजित हुँदा उनले भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बन्ने मौका पाए । डनबाट मन्त्री बन्न सफलमध्ये सञ्जय शाह टक्ला पनि हुन् ।

जनकपुरमा गुण्डागर्दी गर्दै मन्त्री सम्म बन्न सफल टक्ला २०७० सालयता भने संकटमा परे । उनीविरुद्ध १८ वैशाख २०६९ मा रामानन्द चोकमा आरडीएक्सयुक्त बम रिमोट कन्ट्रोलमार्फत् विष्फोट गराइएको अभियोग लाग्यो । ५ जनाको हत्या भएको उक्त घटनामा भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिएपनि मुख्य योजनाकार टक्ला नै रहेको ठहर भयो ।

शाहविरुद्ध सम्पत्ति शुद्धिकरणलगायतको मुद्दा पनि चल्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साँढे ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा पनि दर्ता गरेको थियो । १७ फागुन २०६६ मा जनकपुरका व्यवसायी अरुण कुमार सिंघानियाको गोली हानी हत्या भएको घटनामा पनि उनीमाथि आरोप लाग्यो । एकपछि अर्को अभियोग लागेपछि टक्ला अदालतको आदेशले जेल चलान भए । जेलमा रहेपनि उनको जनकपुरमा प्रभाव रहेकै छ ।

खोभारी राय
सर्लाहीका खोभारी राय डन प्रवृत्तिका नेता हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गरेका रायको सर्लाहीमा बलियो पकड छ । उनी पटक पटक सर्लाहीबाट निर्वाचित सांसद रहे ।

२०५१ सालको मध्यावधि निर्वाचनमा सर्लाहीबाट चुनाव जित्दा खोभारी राय युवावस्थाका थिए । उनले काठमाडौंको डिस्कोमा बन्दुक पड्काउने सम्मको व्यवहार गरे । २०५१ सालको निर्वाचन पछि सांसद किनबेच देखि बैंकक यात्रामा खोभारी पनि देखिए । उनी पटक पटक मन्त्री बन्न सफल भए ।

पहिलोपटक २०५२ सालमा खोभारी शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बने । त्यसपछि २०६८ सालमा डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बने । सदभावना पार्टीबाट सांसद हुँदा उनले राजेन्द्र महतोको घरमा बन्दुक लिएर आक्रमण गर्न पुगेका थिए । २०७७ सालमा खोभारी राय जुवा अड्डाबाट पक्राउ परेका थिए ।

मिर्जा दिलसाद वेग
मिर्जा दिलसाद वेग नेपालको राजनीतिमा निकै चर्चित नाम हो । २०५५ सालमा उनको काठमाडौंको सडकमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो । सांसद हुँदै मन्त्री समेत बनेका मिर्जा अल्र्डवल्र्डसँगको सम्बन्धले विवादमा परेका थिए । उनको दाउद इब्राहिमसँगको सम्बन्धले निकै चर्चा पाएको थियो ।

कपिलवस्तुलाई केन्द्र बनाएका मिर्जाको उत्तर प्रदेशको गोरखपुर नजिकैको क्षेत्रमा पनि बलियो प्रभाव थियो । उनी सन् १९८० को दशकमा कार चोरी, अपहरण र हत्या जस्ता घटनामा संलग्न भएको विकिपेडियाले उल्लेख गरेको छ ।

सन् १९८० को शुरुवाती समयमा दाउद इब्राहिमलाई मुम्बईमा भेटेका उनको सम्बन्ध छोटा राजन र छोटा सकिल जस्ता अन्र्डवल्र्ड डनहरुसँग पनि थियो । उनीमाथि पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइसँग सम्बन्धको आरोप समेत लाग्यो । उत्तर प्रदेश प्रहरीले उनको पक्राउमा पुरस्कार नै घोषणा गरेको थियो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा मिर्जा दिल सादवेग कपिलवस्तुबाट निर्वाचित भए । उनी दुईपटक मन्त्री बन्न सफल भए । उनले सद्भावना पार्टी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समेत चुनाव लडी जितेका थिए । उनको निवास नै आपराधिक गतिविधिका लागि प्रयोग गरिएको आरोप लाग्यो । सिफलमा गाडीमा पुगेका उनी घरतर्फ बढ्न खोज्दा मारिएका थिए । छोटा राजनले उनको हत्याको जिम्मा लिएका थिए ।

दिपक मनाङे
दिपक मनाङे, काठमाडौंको मुख्य व्यापारिक क्षेत्रलाई केन्द्र बनाएर गुण्डागर्दीमा संलग्नको रुपमा परिचित नाम हो । ठमेललगायतका क्षेत्रमा मनाङेको प्रभाव अझै पनि छ ।

विकिपेडियामा दिपक मनाङेको परिचय नेपाली ग्याङस्टर र राजनीतिज्ञका रुपमा परिचय उल्लेख छ । उनी सन् १९९० को दशकमा ठमेल क्षेत्रमा हप्ताअसुली गर्दै बढेको विवरणमा भनिएको छ । उनीमाथि ज्यान मार्ने उद्दोग, सांघातिक आक्रमणलगायतको अभियोग दर्ता भई जेल सजाय पनि भएको थियो ।

ठमेलमा जन्मिएका मनाङे कलकत्ता र सिक्किममा हुर्किएका थिए । उनले विद्यालय स्तरको शिक्षा सिक्किमबाट पूरा गरेका थिए । काठमाडौं फर्किएर केही वर्ष गार्मेन्ट व्यवसाय चलाए । काठमाडौं र दिल्ली ओहोरदोहोर गरेर तयारी पोशाकको व्यापार गरे ।

रात्रीक्लबहरुमा मनाङेले लगानी गरे । उनको डिस्को, क्लब, रेस्टुरेन्ट र निर्माण व्यवसाय समेत गरे । व्यवसाय गर्दा गर्दै उनी हप्ताअसुलीमा लाग्न थाले । उनीमाथि जर्बजस्ती हप्ताअसुलीको अभियोग लाग्ने गथ्र्यो । उनी पटक पटक पक्राउ परे ।

काठमाडौं उपत्यकामा गनिएका डनहरुमध्ये दिपक मनाङे पहिलो नम्बरमा आउँथे । उनीमाथि प्रतिष्पर्धी डनहरुमाथि आक्रमणको अभियोग समेत दर्ता भएको थियो ।
आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगको सामना गरेका दिपक मनाङे अचानक राजनीतिमा संलग्न भए । उनलाई विगतमा राप्रपा नेता पशुपति शमशेर जबराको संरक्षण थियो । पछि लक्ष्मण थारु नेतृत्वको थारुवान संघीय समाजवादी पार्टीमा जोडिए । फेरि राप्रपामा लागे । पछि राप्रपा परित्याग गरे ।

मनाङबाट प्रतिनिधि सभामा उम्मेदवारी दाबी गरे । मनाङबाट नेकपा एमालेको टिकटबाट चुनाव लड्न खोज्दा उनलाई रोक्ने प्रयासहरु चले । एमालेले टिकट नदिने भयो । डनलाई टिकट दिन खोज्दा पार्टी नै बदनाम हुने भन्दै आलोचना भयो । त्यसपछि मनाङेले टिकट नपाउने भए । एमालेले उनीसँग भित्री सहमति गर्यो । जस अनुसार प्रदेश सभामा मनाङेलाई साथ दिने र प्रतिनिधि सभामा मनाङेले एमाले उम्मेदवारलाई साथ दिने विषय थियो ।

मनाङे राजीव गुरुङ्गका नामबाट मनाङ ख बाट स्वतन्त्र उम्मेदवार बने । उनले सजिलै चुनाव जिते ।

गण्डकी प्रदेश सभा सदस्य बनेका मनाङे त्यसपछि पोखरा मुकाम बनाएर सक्रिय भए । उनी खेलकुद सम्बन्धी कार्यक्रमहरुमा प्रमुख अतिथि बनेको देखिन्थ्यो ।
नेकपा विभाजनका बखत मनाङे बामदेव गौतमको पक्षमा देखिए । उनी बामदेवको एकता अभियानमा लागे ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनलाग्दा उनले एमाले त्यागेको घोषणा गरे । प्रदेश सभामा स्वतन्त्र सांसदको हैसियतले अलग्गै कुर्सी राख्न निवेदन दिए । उनले अविश्वासको प्रस्तावको पक्षमा रहेको सन्देशहरु प्रवाह गरे ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता हुँदा राजनीतिक रोचक मोडमा पुग्यो । जनमोर्चाका सांसद खिमविक्रम शाही अविश्वासको प्रस्तावमाथि मतदान हुने बखत वेपत्ता भए । त्यसपछि मनाङे निर्णायक शक्ति भए । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले मन्त्री बनाउने प्रतिवद्धता व्यक्त गरेपछि निर्णय परिवर्तन गरे । उनले विपक्षमा मतदान गर्ने भए ।

कुनैबेला काठमाडौंका ग्याङस्टर दिपक मनाङेलाई प्रदेशको मन्त्री बन्ने अवसर सृजना गर्यो । संसदको अंकगणितको खेलले मनाङेलाई मन्त्रीको अवसर जुरायो । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय