बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

कोरोना रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारदेखि लागु गरेको लकडाउन फितलो बन्दै गएको छ। प्रहरीले चेकचाँजमा कडाइ नगर्दा र प्रशासनले सबैखाले कार्यालयका परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न अनुमति दिएपछि सडकमा भीडभाड बढेको हो।

निषेधाज्ञा जारी भएपछि ‘पिक आवर’मा उपत्यकाका मुख्य सडकका चोकमा सवारी जामसमेत हुने गरेको छ। सार्वजनिक सवारीसाधन र पैदलयात्रुलाई कडाइ गरे पनि निजी सवारीसाधन र कार्यालयमा काम गर्ने सबैखाले कर्मचारी ओहोरदोहोर गरेका छन्।

गत सोमबार उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक सेवाबाहेक कार्यालय नखुल्ने गरी निषेधाज्ञा जारीको निर्णय गरेको थियो। तर कुनकुन कार्यालय भनेर नतोकिँदा सबैजसो कर्मचारी ओहोरदोहोर गर्ने गरेका छन्। वित्तीय क्षेत्र खुला हुन पाउने भएपछि बैंकदेखि सहकारी तथा बिमा कम्पनीका कर्मचारीसमेत ओहोरदोहोर गर्ने गरेको प्रहरी नै बताउँछ।

कार्यालयको कार्ड देखाएर छाड्नु परेपछि प्रहरी पनि अलमलमा परेको छ। तर, दैनिक ज्याला मजदुरी गर्ने र दिनभरी काम गरेर छाक टार्ने सर्वसाधारणलाई सडकमा हिँडडुल गर्न रोक लगाइएको छ। प्रशासनले जारी गरेको सूचनाको आधारमा कडाइ गरिएको प्रहरीको भनाइ छ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुवँरले सरकारको नियम पालना गरेर प्रहरीलाई सहयोग गर्न आग्रह गरे। उनले प्रशासनले दिएको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको बताए।

उनले भने, ‘जस्तोसुकै कार्यालयको परिचय पत्रका आधारमा पनि हिँड्न पाउने भनेर प्रशासनले सूचना जारी गरेको थियो, प्रहरीले पनि सोही सूचनाको आधारमा कडाइ गरेको हो।’ उनले आंशिकभन्दा बढी कार्यालय खुला रहेकाले पनि सडकमा सवारीसाधनको चहलपहल देखिएको जानकारी दिए।

जिल्ला प्रशासनले निषेधाज्ञा सुरु भएदेखि सभा सम्मेलन र मनोरञ्जन क्षेत्र सञ्चालनमा रोक लगाएको छ। तर विवाह र अन्य धार्मिक कार्यक्रममा पनि भीडभाड बढेको पाइएको छ।

प्रशासनले विवाह, व्रतबन्ध वा धार्मिक कार्यक्रमको हकमा १५ जनासम्म मात्रै सरिक हुन पाउने भने पनि त्यसको पालना नभएको पाइएको छ। एम्बुलेन्स, खाद्यान्न, तरकारी, खानेपानी, दूध, औषधि, फलफूल, फोहरमैला, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, वित्तीय संस्था, दूरसञ्चारलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई रोक लगाइएको छैन।

स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मी र फ्रन्टलाइनमा खटिनेहरूलाई ओहोरदोहोर गर्न दिइएको छ। बैंक तथा वित्तीय क्षेत्र पनि खुला छन्। जिल्ला प्रशासन कार्यालय, महानगरपालिका, नगरपालिका, जिल्ला अदालत, वडा कार्यालयलगायत कार्यालय खुला छन्।

अत्यावश्यक कार्यालयको वर्गीकरण गर्न नजान्दा सडकमा नचाहिँदो भीडभाड बढेको यातायातकर्मी प्रेमबहादुर थापाले जानकारी दिए। उनले सार्वजनिक यातायात बन्द गरे पनि जस्तोसुकै निजी यातायातलाई पनि प्रहरीले छाडेको बताए।

‘वडा कार्यालयले जथाभावी पास वितरण गरेको छ, प्रहरीले पनि कडाइ गरेको छैन,’ उनले भने, ‘यो निषेधाज्ञा गरिब र निजी सवारीसाधन नहुनेका लागि मात्रै गरेझै देखिन्छ।’ उनले सरकारले अति आवश्यकबाहेकका ओहोरदोहोर रोक्न सके मात्रै संक्रमण नियन्त्रणमा आउन सक्ने बताए।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सरकारले निषेधाज्ञा जारी गरे पनि सडक र चोकचोकमा पुग्दो कडाइ र निषेधाज्ञाको परिपालना नभएको बताए। उनले भने, ‘संक्रमण निकै भयावह अवस्थामा छ तर अझै पनि सडकमा लापरबाही भइरहेको छ, यत्तिकै खुला छाड्ने हो भने निषेधाज्ञाको अर्थ नै छैन।’

उनले पूर्ण स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गरेर बस्ने हो भने संक्रमण रोगबाट छिटो छुटकारा पाउन सकिने बताए। यत्तिकै फितलो छाड्ने भए निषेधाज्ञाको खासै अर्थ नहुने उनको भनाइ छ।

यसैबीच जथाभावी ओहोरदोहोर गर्ने ९ सयभन्दा बढी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने ६ सयभन्दा बढीलाई उपत्यकाका विभिन्न ठाउँमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीले उपत्यकाको कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, पुतलीसडक, लाजिम्पाट, चाबहिल, सातदोबाटो, जावलाखेललगायत ठाउँमा चेकजाँच कडाइ पारेको छ। यद्यपि भित्री गल्ली र सडकमा भने प्रहरीको उपस्थिति न्यून छ। जसकारण भित्री गल्ली र चोकमा भीडभाड पनि बढेको छ।

नेपाल प्रहरीका अनुसार उपत्यकामा निषेधाज्ञाको परिपालना गराउनका लागि ३ हजार ५ सयभन्दा प्रहरी खटाइएको छ। नेपाल प्रहरी सँगसँगै सशस्त्र प्रहरी पनि निषेधाज्ञा लागु गराउन खटिएको छ। नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय