काठमाडौं ।

गण्डकी प्रदेशको नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’लाई बधाइ दिनेहरूको भीड छ।

मन्त्रालयमा होस्, वा बाहिर जहाँ पनि उनलाई बधाई दिन जानेहरूको लाइन देखिन्छ। उनलाई भेट्न पुग्ने लाइनमा धेरैजसो युवा छन्, खेलाडी पृष्ठभूमिका।

सामाजिक विकास मन्त्रालय भएकै भवनमा एउटा कोठामा युवा तथा खेलकुद मन्त्रालय छ। त्यही मन्त्री मनाङेको कार्यालय छ। शुक्रबार दिउँसो पनि उनलाई भेटेर बधाई दिनेहरूको लाइन थियो।

शुक्रबारमात्रै झण्डै ४ सय जनालाई भेटेको मनाङेले बताए। उनलाई भेट्न आउनेहरूमा धेरैजसो मार्सल आर्ट पृष्ठभूमिका युवा र खेलाडी रहेको उनको भनाइ छ।

मन्त्री मनाङेले बिहीबार साँझ सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए।

झण्डावाल सरकारी स्कारपियो चढेका उनले प्रहरी अधिकृत सुरक्षा गार्ड पाएका छन्। गाडीबाट ओर्लने र उक्लने बेला प्रहरीको सलुट पाएका छन्।

मन्त्रालयमा गएर पदभार ग्रहण गर्दै मनाङेले प्रदेशभरका खेलकुदका सम्पत्ति प्रदेश सरकार मातहत ल्याउने पहिलो निर्णय लिए। यसका लागि उनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका मुख्यसचिवदेखि सामाजिक विकास मन्त्रालयका सचिवले सघाएका थिए।

‘प्रदेशमा खेलकुदको सम्पत्ति छ, त्यो चिजलाई मन्त्रालयभित्र ल्याउनुपर्‍यो’, मनाङेले भने, ‘भोलि सुकुम्बासी बस्देला, सब्जीमण्डी खोल्देला, आफ्नो सम्पत्ति संरक्षण गर्नुपर्‍यो।’

मन्त्रीको पदभार ग्रहण गरे पनि अहिलेसम्म उनको मन्त्रालयको संगठनात्मक संरचना भने बनेको छैन।

उनको मन्त्रालयका लागि आवश्यक सचिवदेखि अरू कर्मचारी छैनन्। बजेट र योजनाका कार्यक्रम पनि छुट्टै छैन।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले २ हप्ताभित्र मन्त्रालयका लागि आवश्यक बजेटदेखि कर्मचारीको बन्दोबस्त हुने आश्वासन दिएको मनाङेले बताए।

मन्त्रालयमा भएको भेटमा सेतोपाटीसँग कुरा गर्दै मनाङेले गत वर्ष खेलकुदमा भएका काम र यसवर्षका योजना तथा बजेट कहाँ कति छ माग गरेको बताए।

उनले भने, ‘पहिला के गरिराथ्यो पूर्ति गर्नुपर्‍यो। बजेट फ्रिज हुन नदिन काम चाँडै गर्नुपर्‍यो।’

मनाङेले मन्त्रीका रूपमा शुक्रबार ३ वटा निर्णय लिएको बताए।

प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेज गुरुङका लागि पोखरा रंगशालामा कार्यालयको बन्दोबस्त गर्ने निर्णय गरेको बताए।

‘बिचरा नियुक्त भएको २ महिना भइसक्यो। कार्यालय पनि छैन भनेपछि रंगशालामा कार्यालय दिने निर्णय गरेको हुँ,’ उनले भने।

उनले प्रदेशभरका खेलाडीलाई बन्द शिविरमा राखेर प्रशिक्षण दिने निर्णय लिएका छन्। उनले १, २ हप्ताको प्रशिक्षण दिएर नहुने भन्दै कम्तीमा २ महिना प्रशिक्षण दिनुपर्ने बताए।

खेलकुदका लागि १ करोड ५० लाख रुपैयाँ आएको भन्दै उनले खेलाडीलाई बन्द प्रशिक्षणमा खान बस्नका लागि खर्च गर्ने बताए।

दिनभर मन्त्रालयमै बसेका मन्त्री मनाङे ४ बजेपछि कास्की जिल्ला खेलकुद विकास समितिमा नियुक्त भएकाहरूलाई सपथ खुवाउन गए। त्यसपछि पनि उनी भेटघाटमै व्यस्त छन्।

उनलाई भेट्न आउनेहरूले दिएको एउटा पत्रले मनाङे अचम्ममा परेका छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले परिषदका सदस्य राजेश गुरूङलाई पोखरा रंगशालाको रेखदेख गर्ने जिम्मा दिएको पत्र छ।

एउटा व्यक्तिलाई यसरी रेखेदेखको नाममा जिम्मा लगाउन नपाइने भन्दै उनले असन्तुष्टि जनाएका छन्। यसबारे ‘सिनियर लिडर’सँग कुरा गर्ने मनाङेले बताए। आफूलाई भेट्न आउने धेरै खेलाडीले यसबारे चासो दिएको उनको भनाइ छ।

मन्त्रालय चलाउनका लागि अहिले आफूले पाएको कार्यालयले पुग्ने उनले बताए।

कार्यालयकै लागि थप बजेट खर्च गर्न नपर्ने उनले बताए।

मनाङेले सपथ लिएपछि यो सरकार २ सातामै ढल्न सक्छ भन्ने कुरा अझै पनि यथार्थ रहेको बताए।

उनले भने, ‘जनमोर्चाले सरकारलाई समर्थन गरेन भने त ढल्छ नि, मैले फ्र्याङ्क भएर भनेको हुँ।’

२ साताका लागि पनि मन्त्री बन्दा पदलोलुप देखियो नि ? प्रश्नमा मनाङेले आफू काम गर्न आएको र काम गर्न नसके राजीनामा दिने जवाफ फर्काए।

नेतालाई टिभीमा हेरेर देशै खायो भनेर रिसाउन नहुने मनाङेको भनाइ छ।

उनले भने, ‘पहिलाका मन्त्रीलाई डाइलग हानिराको हुन्छ। बाहिर बसेर गाली गर्न हुन्न कहिल्यै पनि। टिभीमा हेरेर रिसाउन हुँदैन। हामी कति काम गर्दो रहेछ हेरौं न त। चारवटा काम भइसकेछ। हामीले काम गर्न सकेन भने म आफैं राजीनामा दिन्छु।’

मन्त्रालयमा कुरा गर्दा मनाङेले आफू बाध्यताले राजनीति गर्नु परेको बताए।

आफूले पनि टिभी हेरेर नेतालाई गाली गरेको भन्दै अरूले काम गर्न नसकेर आफैं राजनीतिमा आउनुपरेको बताए।

‘म राजनीति गर्न जन्मिएको मान्छे होइन। मैले राजनीति करले गरेको हो, रहरले गरेको होइन। हामीले टिभी हेरेर धेरै नेतालाई गाली गर्‍यौं। मैले पनि गरें। एकचोटि आफैं काम गरेर हेरौं न। राम्रो काम गर्न सके भने मलाई उहाँहरू (पहिलेका नेता र मन्त्री)ले सरी भन्ने हो। सकिनँ भने मैले उहाँहरूलाई सरी भन्ने हो,’ मनाङेले भने।

मनाङेलाई मन्त्री नियुक्त भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ र एमालेको आलोचना भइरहेको छ।

अपराधिक पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना जारी छ। तर मनाङेले यसलाई सामान्य रूपमा लिए।

उनले सामान्य मान्छेको आलोचना नहुने तर्क गरे।

उनले भने,‘क्रिटिसाइज भनेको सामान्य मान्छेको हुँदैन। ठूलो मान्छेको हुने हो। जस्तो प्रधानमन्त्रीको हुन्छ। मलाई कसैले क्रिटिसाइज गर्छ भने म ठूलो मान्छे भइसकेको रैछु। नत्र रिक्सावालाको कसले गर्छ क्रिटिसाइज ? ट्याब खाएर हिँड्ने जंकीको कस्ले गर्छ? हाम्रो क्रिटिसाइज हुने भनेको तपाईं यो बुझ्नु अब हामी ठूलो मान्छे भएछौं।’ सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय