बिहिबार , बैसाख ६, २०८१

काठमाडौँ

मुलुकमा बढ्दो कोभिड–१९ संक्रमणबीच अधिकांश बिरामीमा अक्सिजनको कमी हुने समस्या छ । शरीरमा अक्सिजनको कमीले कोभिड संक्रमितलाई अस्पताल जानुपर्ने अवस्था आए पनि तत्काल बेड नपाउने अवस्थासमेत छ ।

अस्पतालमा बेड नपाएको वा होम आइसोलेसनमा रहेको अवस्थामा आफ्नो सुत्ने तरिकामा केही परिवर्तन गरेर अक्सिजनको सामान्य कमीलाई धेरै हदसम्म बढाउन सकिने विज्ञहरूले बताएका छन् । ‘

कोभिड संक्रमितलाई सास लिन समस्या भए वा अक्सिजनको स्तर ९४ भन्दा कम भए घोप्टो परेर पल्टिनु (प्रोनिङ) फाइदाजनक हुन्छ,’ राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले भने, ‘धेरैजसो कोभिडका बिरामीको फोक्सोमा पर्याप्त मात्रामा अक्सिजन पुग्दैन, यसैले समस्या हुन्छ ।’

श्वासप्रश्वासलाई राम्रो बनाउन प्रोनिङ एउटा चिकित्सकीय स्वीकृत विधि हो । यो विधि कोभिड बिरामीका लागि अत्यन्त फाइदाकारी छ । घोप्टो परेर सुत्दा फोक्सो पूरा खुल्छ, यसले कोभिडका बिरामीमा सकारात्मक परिणाम देखिन्छ । यो विधि अपनाएपछि बिरामीको निको हुने दरसमेत बढेको पाइएको छ ।

अक्सिजनसहितको बेड उपलब्ध गराउन समस्या हुने नेपालजस्ता मुलुकमा प्रोनिङले सामान्य अवस्थाका बिरामीमा धेरै हदसम्म फाइदा पुग्ने विज्ञको भनाइ छ ।

‘हामीले अस्पताल आउने करिब सबैजसोलाई प्रोनिङ गरेका छौं, यसले अक्सिजनको स्तर बढाउँछ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट, डा.अनुप बाँस्तोलाले भने, ‘घोप्टो सुत्दा ८७ प्रतिशत अक्सिजनको स्तर भएकाको ९१–९२ प्रतिशत पुग्छ, ९० प्रतिशत भएकाको ९३–९४ प्रतिशत पुर्‍याउँछ ।’

घरमा भएका कोभिडका बिरामी घोप्टो परेर सुत्नु राम्रो हुने औंल्याउँदै डा.बाँस्तोला कोभिडको बिरामीलाई श्वास फर्न गाह्रो भए यो विधि अपनाउनु उचित हुने सल्लाह दिए । होम आइसोलेसनमा भएका बिरामीको अक्सिमिटरले अक्सिजनको स्तरको परीक्षण, तापक्रम, रक्तचाप एवं सुगरको समेत नियमित जाँच आवश्यक छ ।

नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन (एनसीबीआई) को सन् २०२० जुलाईमा क्युरस जर्नलमा प्रकाशित एक अध्ययनअनुसार प्रोनिङले अस्पतालको बोझलाई कम गर्ने मात्र नभई यान्त्रिक भेन्टिलेटरको आवश्यकतालाई समेत कम गर्न सकिने देखाएको छ ।

भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले समेत कोभिडका बिरामी आफैंले आफ्नो स्याहारका लागि प्रोनिङ उपयुक्त रहेको जनाएको छ । श्वासप्रश्वास र रगतमा अक्सिजनको मात्रा घटेर ९४ प्रतिशतभन्दा कम हुँदा यो प्रक्रिया आवश्यक हुन्छ ।

भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोभिड बिरामीलाई आधा घण्टादेखि २ घण्टासम्म घोप्टो पुरेर सुत्न, त्यति नै समय देब्रे कोल्टो र दाहिने कोल्टो फर्केर सुत्न सुझाव दिएको छ ।

मन्त्रालयले पुनः सुरुमा जस्तै घोप्टो परेर सुत्न र त्यसपछि आधा घण्टादेखि दुई घण्टासम्म खुट्टालाई सिधा गरेर पिठ्युँलाई कुनै ठाउँमा अडेस लगाएर बस्न सल्लाह दिएको छ ।
कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय