मंगलबार , बैसाख ४, २०८१

काठमाडौं

बिहीबार अपरान्हतिर वीरगन्जस्थित नारायणी अस्पतालका कोभिड-१९ संयोजक डाक्टर सरोज रोशन दासलाई एक राजनीतिक दलका जिल्ला स्तरका नेताले फोन गरेर आफ्ना बिरामी अस्पताल आउँदै गरेको जानकारी गराए। अस्पतालबाहिर रहेका डा.दास केही मिनेटमा अस्पताल पुगेर बुझ्दा ती बिरामीको मृत्यु भइसकेको थियो।

‘कोरोना संक्रमितको जस्तो लक्षण देखिएको र आइसियूको आवश्यकता बुझेपछि म हतार-हतार अस्पताल पुगेको थिएँ। यहाँबाट सम्पर्क गर्दा त बाटैमा मृत्यु भइसकेको रहेछ,’ डा.दासले भने, ‘बाटैमा मृत्यु भएपछि पिसिआर परीक्षण गरिएन।’

नारायणी अस्पतालमा गत चैत १५ गतेबाट अहिलेसम्म भर्ना भएका १ सय १३ कोरोना संक्रमित मध्ये १९ जनाको मृत्यु भएको छ। डा.दासकाअनुसार उनीहरूमध्ये अधिकांशको मृत्यु अस्पताल भर्ना भएको एकदिनमै भएको छ।

‘बुधबार त दुई जनाको भर्ना गरेको दुई घन्टामै मृत्यु भयो। अन्य दुई जनालाई ५-६ घन्टाभन्दा बचाउन सकिएन,’ डा.दासले भने, ‘निमोनिया र श्वासप्रश्वासमा समस्या भएका बिरामी अधिकांशको अवस्था यस्तै छ।’

बुधबारमात्रै यस अस्पतालमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

रौतहटको माधव नारायण नगरपालिकाको पिप्रा-रजवाडाकी ५० वर्षीया महिला र वीरगन्ज महानगरपालिका-२७ बगहीकी ६० वर्षीया महिलाको भर्ना भएको दुई घन्टामै मृत्यु भएको थियो। उनीहरू दुबै जनामा श्वासप्रश्वास र निमोनियाको समस्या थियो।

श्वासप्रश्वास र कडा खालको निमोनिया देखिएका कोरोना संक्रमित सर्लाहीका ४३ वर्षीय संक्रमित पुरुष, बाराकी ३० वर्षीया महिलाको पनि बुधबार नै उपचार सुरू गरेको केही घन्टामै मृत्यु भएको थियो। बुधबार मृत्यु भएका अर्का कोरोना संक्रमित वीरगन्ज महानगरपालिकाका ४५ वर्षीय पुरुष भने तीन दिन अघि अस्पतालको आइसोलेसनमा थिए।

नारायणी अस्पतालमा मंगलबार ४ जना र सोमबार ३ जना संक्रमितको मृत्यु भएको थियो।

‘अहिले बिरामीहरू समस्या धेरै भइसकेपछि मात्रै अस्पताल आउने गरेका छन्। उपचार सुरू गर्दागर्दै सिलिन्डरको अक्सिजनले पनि नधानेर श्वास गइहाल्छ, हाम्रोमा उपचारका क्रममा मृत्यु भएकाहरू यस्तै बिरामी हुन्,’ डा. दासले भने, ‘ज्वरो आउने, टाउको दुख्ने, रूघा खोकी लाग्ने लक्षण देखिँदा बेवास्ता गरेर समयमै अस्पताल नआउने समस्याले मृत्युदर बढेर गएको छ।’

उनकाअनुसार कोरोना संक्रमणको शंका लागेर सुरूमै अस्पताल आउनेहरु भने प्रायः निको भएर फर्किएका छन्। ढिलोगरी अस्पताल आउनेलाई भने अस्पतालले बचाउन नसकेको उनले बताए।

अन्तिम अवस्था भइसकेपछि आइसियू मिलाइदिनुपर्‍यो भन्दै राजनीतिक दलका नेता, सांसदहरूको फोन आउने गरेको उनले बताए।

‘बिरामी पठाउनुस् अनि अवस्था हेरेर कहाँ राख्ने निर्णय गर्छौं भन्ने गरेका छौं,’ उनले भने, ‘हामी आफैं सीमित जनशक्तिले दिनरात खटेर बिरामीको सेवा गरिरहेका छौं, त्यसमाथि बाहिरबाट आउने दबाब पनि उत्तिकै झेल्नु परिरहेको छ।’

यो अवस्था रहिरह्यो भने मृत्युदर थप बढ्ने भन्दै चिकित्सकले लक्षण देखिएपछि स्वास्थ्यकर्मीको सम्पर्कमा पुगिहाल्न आग्रह गरेका छन्।

‘भारतबाट भित्रिएको कोरोना भाइरसको दोस्रो लहर समुदायमा फैलिसकेको छ समयमै उपचार सुरू गर्न सकिएन भने दीर्घरोगीहरू धेरैको छिटै मृत्यु हुने अवस्था देखिन्छ,’ डा. दासले भने, ‘सामान्य लक्षणलाई बेवास्ता गर्ने प्रवृत्तिले तन्दुरूस्त व्यक्तिको पनि ज्यान जाने खतरा छ।’

गत चैत यता कोरोना संक्रमित भएर सुरुआती लक्षण देखिँदा नै भर्ना भएका ४१ जना निको भएर घर फर्किएको नारायणी अस्पतालले जनाएको छ। उक्त अस्पतालमा अहिले ४७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ। अहिले ८ जनाको आइसियू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य एसचडियू र आइसोलेसनमा छन्।

ती बिरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मी २२ जना छन्। उनीहरूले पालैपालो गरेर बिरामीको उपचार गर्ने गरेको डा.दासले बताए।

‘केही स्वास्थ्यकर्मी आफैं संक्रमित बनेर आराम गरिरहेका छन्, पर्याप्त जनशक्ति नहुँदा पनि हामी दिनरात खटिरहेका छौं,’ डा.दासले भने, ‘गतिलोसँग निदाउन नपाएको पनि एक हप्ता भन्दा बढी भयो।’ सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय