बिहिबार , बैसाख ६, २०८१

काठमाडौं

राजनीतिमा सबभन्दा महत्त्वपूर्ण कुरा इमानदारी हो । विचार र सिद्धान्त हो । तर त्यही हराएपछि कसको के लाग्छ ? राजनीतिमा इमान हराएपछि के हुन्छ ? जे नहुनुपर्ने हो त्यही हुन्छ ।

गण्डकी प्रदेशमा बिहीबार राजिव गुरुङ(दीपक मनाङे)ले युवा तथा खेलकुद मन्त्रीको शपथ लए । संकटोन्मुख गण्डकी सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले मनाङेलाई सामाजिक विकास मन्त्रालय फुटाएर र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

संसद्‌मा अविश्वास प्रस्ताव आएको बेला मन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव ल्याएका ल्याएका छन् ।

अविश्वास प्रस्तावमा बुधवार नै मतदान हुने कार्यसूची थियो । तर, राजनीतिक भाग दौडले अन्तिम समयमा आएर त्यो रोकियो । खासमा जनमोर्चाका एक सांसद नाटकीय ढङ्गले सम्पर्कविहीन भएपछि बुधवार को मतदान रोकिएको थियो ।

कुनै समय ‘गुन्डा नाइके’का रुपमासमेत चिनिएका मनाङे मन्त्री बनेपछि राजनीतिक वृत्तमा एउटा बहस छेडिएको छ । उसो त उनी माननीय बन्दै पनि यस खालका बहस नभएका होइनन् । उनी अपराध कर्ममा जेलसमेत बसिसकेका व्यक्ति हुन् । २०६० सालमै उनी धारिलो हतियार प्रयोग गरेको अभियोगमा पक्राउ परेका थिए ।

०६० पुसमा चक्रे मिलनलाई धारिलो हतियार प्रहार गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । काठमाडौँ जिल्ला अदालतले २०६१ सालमा मनाङेलाई २ वर्ष जेल सजायको आदेश गर्‍यो ।

जिल्लाको फैसलामा चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले तत्कालीन पुनरावेदन अदालत पाटनमा सरकारका तर्फबाट पुनरावेदन गर्‍यो । पुनरावेदन अदालत पाटनले २०६९ सालमा जिल्ला अदालतको फैसला बदल्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने आदेश गरेको थियो ।

त्यसपछि उनी ०६५ साल फागुन र ०७० साल फागुनमा पक्राउ परे। यति मात्रै होइन उनीमाथि धनमाल डाँका मुद्दा, सार्वजनिक अपराध, गोली हानेर हत्या प्रयास, अवैध सम्पत्ति, सङ्गठित अपराध, सार्वजनिक अपराधलगायत कयौँ मुद्दा उनीमाथि लागे ।

उनी महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमान ढोका परिसर, टेकु परिसरसँगै काठमाडौँका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेका छन् । अब उनी मन्त्री भइसके ।

को हुन् मनाङे ?

नवनियुक्त मन्त्री मनाङे जहिल्यै चर्चामा आइरहने व्यक्ति हुन् । विगतमा उनको गुण्डागर्दी देखि संसदीय निर्वाचन हुँदै सपथ ग्रहणदेखि मन्त्री बन्दासम्मका धेरै किस्सा छन् । कर्तव्य ज्यान मुद्दा टुंगो नलागेको भन्दै उनलाई सुरुमा सपथ नै गराइएन । १ वर्षपछि सपथ लिएका मनाङे संसदको अर्थ विकास समितिको सदस्य बने ।

समितिले राम्रो काम नगरेको आरोप लगाएर राजीनामा दिए । उनले सार्वजनिक ठाउँमा एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई हिर्काए । मिलनले मुद्दा हालेपछि उनी केही समय हिरासत समेत बसे । उनै मनाङे अहिले मन्त्री बनेका छन् । २०५०-५१ देखि नै उनी आपराधिक गतिविधिमा संलग्न थिए । पटक पटक पक्राउ पर्ने र छुट्ने उनको दिनचर्या जस्तै थियो ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा समेत चलाएको थियो । उनले त्यहाँबाट भने सफाइ पाए । पर्यटन व्यवसाय, ठेक्का पट्टा हुँदै उनी राजनीतिमा निरन्तर लागिरहे ।

२०७४ मंसिर १०–प्रदेश सांसदमा निर्वाचित

२०७५ बैशाख ७–फौजदारी मुद्धामा कारागार चलान

२०७५ माघ १४–प्रदेश सांसदको सपथ

२०७५ फागुन २८–अर्थ विकास समिति सदस्य

२०७६ असार १९–नेकपामा प्रवेश

२०७७ असार–अर्थ विकास समितिबाट राजीनामा

२०७८ बैशाख १३–स्वतन्त्र सांसदको कुर्ची माग

२०७८ बैशाख १४–नेकपालाई दिएको लेवी फिर्ता माग

२०७८ बैशाख १६–युवा तथा खेलकुद मन्त्री नियुक्त

नेपालमा पछिल्लो समय विचार, सिद्धान्त र आदर्शको राजनीति एकादेशको कथाजस्तै भइसक्यो । कर्णालीमा नेकपा एमालेको ह्विप उल्लङ्घन गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने तीन जनाले मन्त्री उपहार पाएको धेरै भएको छैन ।

उनीहरूको सांसद पद गए पनि अहिले मन्त्री छन् । सांसद नभएको अवस्थामा उनीहरू कर्णाली सरकारका ‘६ महिने जागिरे’ छन् । सरकार जोगाउन सङ्कटमा साथ दिएका एमालेका तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री उपहार दिए ।

सङ्कटमा साथ दिनेलाई मन्त्री उपहार दिने कर्णालीका मुख्यमन्त्री मात्रै होइनन् । यो त नेपाली राजनीतिको पर्याय जस्तै भइसक्यो । लुम्बिनीमा बिहान अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार सांसद पनि साँझ मन्त्री भएका थिए । उनीहरूको पनि सांसद पद गयो । ६ महिने जागिरेका रूपमा लुम्बिनी सरकारमा मन्त्री छन् ।

यही अवस्था प्रदेश १ मा पनि छ । केन्द्रमा त झन् सांसदै नभएका ६ जना मन्त्री छन् । माओवादी त्यागेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने ६ जनालाई ओलीले मन्त्री उपहार दिएका छन् । जसमा गृहमन्त्री रामबहादुर थापासहित, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायत छन् ।

भन्नलाई राजनीति सम्भावनाको खेल पनि भन्छन् नेताहरू । यहाँ जे पनि सम्भव छ । जे पनि हुन्छ । भइरहेको छ । तर, जतिसुकै सम्भावनाको खेल भए पनि न्यूनतम इमान त हुनुपर्ने । होइन भने त विचार र सिद्धान्तका नाममा कयौँ पार्टी किन चाहियो ।

एउटै दोकान खोलेर बसे भइगो । नीतिहरूको राज नै राजनीति हो । तर हामीकहाँ कहिल्यै पनि इमान,जमान र नीतिमा चल्न सकेन । नेपालमा पछिल्लो समय देखिएका राजनीतिक गतिविधिले आम मानिसमा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको छ । नेताहरूले लाज पचाएपछि जनताले लजाउनुपर्ने अवस्था छ । केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय