शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको आरोप लगाएका छन्।

नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप लगाएका हुन् ।

बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारवाही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न माग गरे।

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिम विक्रम शाही फोन स्विच अफ गरि सम्पर्कविहीन भएका थिए ।

नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु सिद्धान्त र निष्‍ठामा रहेको जनमोर्चा जस्तो पार्टीको आदर्शमाथि प्रहार गरेको आरोप लगाए।

शाही प्रकरणको स्वतन्त्र छानविन हुनुपर्ने पनि नेता पौडेलले बताए। ‘किर्ते नक्कली बहाना बनाएर,अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ? यसमा षडयन्त्र छ ।’

पौडेलले भने, ‘मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उडाउने काम भयो । यस्ता खेल, किर्ते जालसाजी खेल,अलोकतान्त्रिक षडयन्त्रको छानविन हुनुपर्छ ।’

नेता पौडेलले जनमोर्चाले आफ्नो निष्‍ठालाई जोगाउनका लागि पनि सांसद शाही माथि तत्काल कारवाही गर्नुपर्ने बताए । स्थानीय प्रशासन,संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलको आरोप छ । सुदर्शन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय