शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जोगाउने र ढाल्ने समिकरणको विषयमा विवाद हुँदा विभाजनको डिलमा पुगेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको भिन्न लाइनले विवाद उत्कर्षमा पुगेको छ ।

ओलीलाई साथ दिने पक्षमा ठाकुर छन् । उनको पहलमा जसपाका १२० नेता कार्यकर्ताको मुद्दा फिर्ताको निर्णय सरकारले गरेको छ । त्यसपछि उनी ओलीसँग सरकारमै सहभागी हुने सम्झौताका लागि बढेका छन् ।

तर, अध्यक्ष उपेन्द्र यादव कुनै हालतमा ओलीसँग मिलेर जान नहुने पक्षमा छन् । उनी ओली सरकारविरुद्धको समिकरणमा जानुपर्ने जोड गरिरहेका छन् ।

लुम्बिनी प्रदेशमा जसपामा ठूलो विवाद छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने ४ जना जसपा सांसद मन्त्री बनेपछि विवाद बढेको थियो ।

उनीहरुलाई जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरी सांसद पदबाटै मुक्त गर्ने सिफारिश गर्यो । यसको विरोधमा अध्यक्ष महन्थ ठाकुरले पत्र नै लेखे ।

एउटा पक्ष सांसदलाई कारबाही गर्ने र अर्को रोक्ने विषयले जसपाको विवाद छताछुल्ल भएको छ । अब केन्द्रमा ओलीलाई साथ दिने या नदिने विषयको विवादले जसपा फुट्न सक्ने सम्भावना बढेको छ ।

जसपाभित्र मन्त्री बन्न धेरै नेता आतुर देखिएका छन् । ओली सरकारमा सहभागी हुँदा मन्त्री बन्न नपाउनेहरु असन्तुष्ट बन्न सक्छन् । यसले जसपालाई विभाजित बनाउन सक्छ ।

जसपाभित्र विभिन्न प्रदेशमा त्यस क्षेत्रका नेताहरुबीच पनि विवाद बढेको छ । ठाकुर र यादव पक्षमा विभाजित भएकाहरु आ आफ्नो गुट बनाएर विवादमा सहभागी छन् ।

जसपासँग संघीय संसदमा ३२ जना मतदान गर्न पाउने सांसद छन् । उनीहरुमध्ये बहुमत ठाकुर पक्षमा देखिएका छन् । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय