शुक्रबार , चैत्र १६, २०८०

काभ्रे

घटना–१
वैशाख १० गते छोराको विवाह आयोजना गरी घरमै भोज आयोजना गरेको पनौती नगरपालिका–१० खोपासी घर भएकी ५२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वैशाख १५ गते राति उपचारका क्रममा निधन भयो । विवाहमा सहभागीमध्ये ३० जना संक्रमित भए । थप केहीको परीक्षण हुँदै छ ।

घटना–२

बनेपा नगरपालिका–४ घर भएका एक युवाले वैशाख १० गते सिन्धुपाल्चोकमा विवाह गरे । वैशाख ११ गते पाटी प्यालेसमा भोज गरे । वैशाख १२ गते श्रीमतीको नागरिकता बनाउन धुलिखेल पुगे । तीन घण्टाको भीड छिचोल्दै नागरिकता लिएर घर आए ।

१३ गते कलंकीस्थित म्यानपावर कम्पनीमा पुगे । लगत्तै स्टार अस्पतालमा ७ घण्टा लाइन बसेर स्वाब दिएर घर फर्किए । मोबाइलमा म्यासेज आयो पोजेटिभ । १४ गते बहराइन जाने उनको भिसा रोकियो । उनको सम्पर्कमा आएका छिमेकीहरु केहीलाई संक्रमण देखिएको छ ।

घटना–३

बनेपा नगरपालिका–४ का एक युवा वैशाख १२ गते बनेपाको पाटी प्यालेसमा आयोजना भएको विवाहको भोजमा सहभागी भए । लगत्तै उनलाई ज्वरो आयो । काठमाडौंको स्टार अस्पतालमा पुगेर कोरोना परीक्षण गराए ।

पोजेटिभ भएको रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसे । उनीसँगै विवाहमा भोज खान लाइन बसेका वा उनले भेटेका कति संक्रमित भए खोजी भएको छैन ।

घटना–४

बनेपा नगरपालिका वडा नम्वर ३ र ४ मा मात्रै १० घर–परिवारमा कोरोना संक्रमण देखिएको छ । स्थानीय सरकारले सम्पर्कका आधारमा परीक्षण गर्ने र संक्रमण फैलन नदिन रोकथामका कुनै उपाय अपनाएको छैन ।

दैनिक विवाह र विवाहका भोजमा सहभागी हुने क्रम बढेको छ । विवाहमा सहभागी हुनेहरुमा संक्रमण देखिए पनि पाटी प्यालेसमा हुने भीडभाड कम भएको छैन ।

घटना–५

वैशाख ९ गते पाँचखाल कोशिदेखा घर भएका २४ वर्षीय युवकमा संक्रमण देखियो । ११ गते विवाहको तयारी गरेका युवकका घरमा पाहुना चिन्तित देखिए । परिवारका सदस्यहरुलाई पनि संक्रमण देखियो । युवक अस्पतालमा उपचारार्थ छन् ।

घटना–६

आमालाई निमोनियाको शंका लागेर धुलिखेल अस्पताल पुगेका बनेपा नालाका युवकले अस्पतालकै दुई थरीको रिपोर्टका कारण दुःख पाएको बताउनुभयो । अस्पतालबाटै आमालाई संक्रमण भएको र अन्य व्यक्तिमा पनि संक्रमण फैलिएको उहाँको गुनासो छ ।

यी प्रतिनिधिमूलक घटना हुन् । विवाहकै कारण समुदायमा संक्रमण दु्र्रत गतिमा फैलँदै गएको घटनाहरुले पुष्टि गरेका छन् । आज वैशाख १७ गते शुक्रबार जिल्लाका १३ वटै स्थानीय तहमा झन्डै ५० भन्दा धेरै विवाह आयोजना हुँदै छन् ।

स्थानीय सरकार विवाहमा भीडभाड नगर्न, सुरक्षाका उपाय अपनाउन अनुरोध गर्नेबाहेक थप तयारीमा छैनन् । संक्रमण रोग नियन्त्रण ऐनअन्तर्गत यस्ता गतिविधि गर्नेहरुलाई कारबाही गर्न सक्ने भए पनि स्थानीय सरकार त्यसतर्फ चासो नदिई आफैं विवाहमा सहभागी भई बधाई तथा शुभकामना दिन व्यस्त छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा बुधबार राति दुई जनाको कोरोनाका कारण निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाले बताउनुभयो ।

‘संक्रमण हुनेको संख्या बढिरहेको र मृत्युको क्रम शुरु भएकाले सचेत हुनुको विकल्प छैन’, उहाँले भन्नुभयो– ‘संक्रमितको अवस्थाका बारेमा स्थानीय सरकारले जानकारी राख्ने र श्वास–प्रश्वास तथा अन्य कुनै समस्या भए तत्काल अस्पताल लैजाने व्यवस्था मिलाउन आवश्यक छ ।’

स्थानीय सरकार तथा प्रशासनले तत्काल निशेधाज्ञा जारी गरी संक्रमण फैलन रोक्नुपर्नेमा उहाँको जोड थियो ।

समुदायमा संक्रमण फैलिसकेकाले त्यसलाई रोक्न भीडभाड नगर्ने, शुभकार्यमा समेत थोरै व्यक्तिहरु जम्मा हुने, स्वास्थ्य सुरक्षाका उपाय अपनाउनेतर्फ ध्यान दिनुपर्ने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

संक्रमण फैलने प्रमुख स्रोत विवाह, व्रतबन्ध, सार्वजनिक यातायातमा खचाखच यात्रु रहेको स्वास्थ्यकर्मीले बताएका छन् । नेपाल समाचार पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय