शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बैशाख ६, १० र १२ गते तीनचोटि बालुवाटारमा बसेको थियो । सोही बैठकले स्थायी कमिटीको पुनर्गठन गरेर माधव पक्षका नेताहरुलाई हटाई एकलौटीरुपमा १९ जनाको स्थायी कमिटी घोषणा गरेको थियो ।

माधव पक्षका नेताहरुको उपस्थितिविना बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरलद्वारा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरिएको थियो । पोखरेलको प्रस्तावलाई बैठकले सुझावसहित पारित गरेको थियो ।

महासचिव पोखरेलको संगठनात्मक प्रस्तावमा हाल रिक्त रहेका सांसद पदमा जेठको अन्तिम साता उपनिर्वाचन गराउन सरकारलाई सुझाव दिइएको छ ।

सरकारले यही जेठ ६ गते राष्ट्रियसभा सदस्यमा रामबबहादुर थापाका कारण खाली रहेको एक सीटमा उपचुनाव गर्ने मिति तय गरिसकेको छ । अब प्रतिनिधिसभा सदस्यहरु टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र लेखराज भट्टको सीटमा उपनिर्वाचनको मिति तय गर्न बाँकी छ ।

त्यस्तै प्रदेशसभामा दर्जनौं सिटहरु रिक्त बनेका छन् । स्थानीय तहमा पनि धेरै ठाउँमा उपचुनाव गर्न बाँकी छ । निर्वाचन आयोगले यी तीनै तहका रिक्त पदमा एकैचोटि उपचुनाव गरिने बताएको छ ।

बालुवाटारबाट पारित संगठनात्मक प्रस्तावमा पार्टीका विवादित संरचनाहरु कायमै राख्ने, असारसम्म सदस्यता नवीकरण गरिसक्ने र भदौमा वडातहसम्म अधिवेशनहरु गर्ने योजना प्रस्तुत गरिएको छ ।

माधव नेपाल समूहको हकमा संगठनात्मक प्रस्तावमा भनिएको छ, ‘कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।’

​हेर्नुहोस् ९ बुँदामा महासचिव पोखरेलका संगठनात्मक योजना

(क) प्रदेश, जिल्ला र सो मातहतमा पालिकाको वडा तहसम्म संगठन कमिटी बनाउने । कमिटीको पदाधिकारीमा अध्यक्ष र सचिव रहने । कमिटी र सचिवालयको सदस्य संख्या नेकपाको कार्यकालमा भएसरह हुने ।

(ख) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ पुस ७ गते विस्तारित केन्द्रीय कमिटीका सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने । यसका साथै केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरू, विभागका सचिवहरु, जनसंगठनका अध्यक्षहरू, प्रवास क्षेत्रबाट मनोनित कमरेडहरु राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य हुने ।

(ग) प्रदेश संगठन कमिटीको योजना अनुरुप २०७८ जेठ मसान्तभित्र जिल्ला र सो मातहतका सबै तहमा पार्टी कमिटीहरूको पुनर्गठन गरी संगठन कमिटीमा रुपान्तरण गर्ने । जन संगठनहरुको केन्द्रदेखि स्थानीय तहसम्मको र प्रवास क्षेत्रको समग्र संगठनात्मक काम पनि यही अवधिमा सम्पन्न गर्ने ।

(घ) २०७८ असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने । पार्टी सदस्यता नवीकरणका लागि निवेदनको नमुना, पार्टी सदस्यता पत्रको विवरण फारम र सदस्यता पत्रको नमुना पार्टी केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकालका पार्टी सदस्यहरु र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको समयमा कायम रहेका पार्टी सदस्यहरुलाई नवीकरणको अवसर दिने । पार्टीमा एकतावद्ध हुने सदस्यहरुको सदस्यता पनि यही अवधिमा नवीकरण गर्ने । सदस्यता नवीकरण शुल्क र लेबी पार्टीको नियमावली र अपानि ९ मा उल्लेख भए बमोजिम हुने ।

(ङ) पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जाने क्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आमरुपमा यथावत राख्ने । ती कमिटीमा अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।

(च) निर्वाचन आयोगको सूचना बमोजिम मतदाता नामावलीमा योग्यता पुगेका मतदाताहरूको नामावली समावेश गर्न सबै तहका पार्टी कमिटी तथा कार्यकर्ता कमरेडहरु योजना एवं सक्रियताका साथ परिचालित हुने । उपनिर्वाचन यही जेठ महिनाको अन्तिम सातामा आयोजना गर्न सरकारलाई सुझाव दिने । नियम कानून बमोजिम आयोजना हुने राष्ट्रिय सभाको निर्वाचनको तयारीमा क्रियाशील रहने ।

(छ) सबै तहमा उपरोक्त बमोजिम पार्टी तथा जनसंगठनहरुको संगठनात्मक संरचना निर्माण गर्न र पार्टी सदस्यता नवीकरण गर्न जिल्ला कमिटीले प्रत्येक पालिकामा ७ जनाको दरले विशेष कार्यदल गठन गरी खटाउने र प्रदेश कमिटीका तर्फबाट प्रत्येक पालिकामा २ जनाको दरले सहजकर्ता खटाउने ।

(ज) पार्टी सदस्यता नवीकरण सम्पन्न भएसँगै स्थानीय र प्रदेश तहका अधिवेशनहरु देहायबमोजिम गर्ने ः

– विधान संशोधनमा केन्द्रीत भएर छलफल एवं निर्णय गर्न २०७८ साउन २५–२७ मा राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने ।

– वडा अधिवेशन ः २०७८ भदौ ५ गते

– पालिका अधिवेशन ः २०७८ भदौ १५ गते

– जिल्ला अधिवेशन ः २०७८ भदौ ३० गते

– प्रदेश अधिवेशन ः २०७८ अर्साज २३ गते

– सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गर्ने ।

(झ) विगतमा पार्टी प्रवेश गरेका वा पार्टीमा एकतावद्ध भएका सबै कमरेडहरुलाई उपयुक्त जिम्मेवारी निर्धारण गर्न सम्बन्धित प्रदेश तथा जनसंगठनका ईञ्चार्ज कमरेडहरुले विशेष ध्यान दिने ।

पार्टीका निर्णयहरुबारे सर्कुलर जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘सबै कमरेडहरुलाई उपर्युक्त निर्णयहरुको व्यवस्थित, योजनावद्ध र निष्ठापूर्वक कार्यान्वयनका लागि पुनः निर्देशित गरिन्छ ।’

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय