मंगलबार , बैसाख ४, २०८१

काठमाडौँ ।

बीपी सङ्ग्रहालय समितिले नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) सँग जोडिएका विभिन्न स्थानको अध्ययन गरिरहेको छ ।

सङ्ग्रहालयको टोलीले गत फागुनतिर बीपीको जीवनकालमा जोडिएका भारतका बिहारस्थित पटना, सहरसा, फारविगन्ज, बयरगनिया र पश्चिम बङ्गालको कोलकाता, उत्तरप्रदेशको बनारस, सारनाथ, राजघाट, गोरखपुरलगायत स्थानको अध्ययन भ्रमण गरेको थियो ।

अध्ययन भ्रमणका क्रममा सङ्ग्रहालयको टोलीलाई पटनाको गोलघर पार्कस्थित बीपी कोइरालाको पूर्णकदको सालिकको दुरवस्थाले मन पोल्यो ।

बीपीको सालिक संरक्षणमा नेपाल सरकार, नेपाली काँग्रेस र बिहार सरकारबाट उपेक्षा भएको बीपी कोइराला सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलको बुझाइ छ ।

पोखरेलका अनुसार भारतको आन्दोलनमा बीपीलगायत नेपाली नेताहरूले खेलेको भूमिका र हजारीबाग जेलमा बीपीले काटेको सजायको सम्झनामा पटनामा सालिक बनाएको हो । सन् १९९४ मा तत्कालीन विहार सरकारले नै बीपीको सालिक बनाएको हो ।

बीपी पत्नी सुशीला कोइरालाको उपस्थितिमा १९९४ अक्टोबर २५ मा तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले सालिक अनावरण गरेका थिए । समाजवादी आन्दोलनका अभियन्ता कोइरालाको स्मृति र सम्मानमा बनाइएको सालिक ‘डम्पिङ क्षेत्र’ बनेकोमा उनको चित्त दुखेको छ ।

यसका लागि पोखरेलले पटनाका सरोकारवाला पक्षसँग कुराकानी पनि गरेका थिए । पोखरेलले पटना भ्रमणका क्रममा सालिकको बिजोग देखेपछि बिहार सरकारका मन्त्री र सांसद, प्राध्यापक, अध्येतासामु ध्यानाकर्षण गराएको बताए । सोही क्रममा पोखरेलले समाजवादी दलका अध्यक्ष देवेन्द्रप्रसाद यादव, राज्य सरकारका कृषिमन्त्री अमरेन्द्र प्रताप, शिक्षामन्त्री विजयकुमार चौधरी, कङ्ग्रेस आई विधायक प्रेमचन्द्र मिश्र, प्राध्यापक नोवलकिशोर चौधरीलगायतसँग भेटेका थिए । त्यसपछि पटना, गोलघर पार्कस्थित नेता बीपी कोइरालाको पूर्णकदको सालिकको संरक्षण र सुरक्षाका विषयमा बिहार संसद्‍मा आवाज उठेको थियो ।

पोखरेलका अनुसार बिहार राज्य सरकारले बनाएको सालिकबारे जनता दलका सांसद वीरेन्द्रनारायण यादवले गत चैत ४ गते संसद्को ध्यानाकर्षण गराएका थिए । साथै उनले सालिकको संरक्षणका लागि एकजना संरक्षकको व्यवस्था गरिदिन अनुरोध गरेको उनले बताए ।

सालिकको बिजोक देखेर बीपीको सम्मानभन्दा अपमान पो भएको हो कि भन्ने आफूलाई बोध भएको पोखरेलले सुनाए ।

उनका अनुसार सालिकको आसपासमा फोहोर थुपार्ने गरेको पाइएको छ । सालिक रहेको गोलघर पार्कमा यत्रतत्र रक्सीका बोतल, फाटेका लुगा फालिएको छ । त्यही खुला मैदानमा क्रिकेट खेल्ने गरिएकाले बलले लागेर सालिक टुक्रँदै गएको छ । सालिकमा बीपीको पूर्ण परिचय नराखिएको बारे पनि उनले सम्झाएको बताए । पोखरेलका अनुसार सालिकमा मिति लेखिएको छ, अरू केही लेखिएको छैन ।

‘बीपीको सालिकमा राखिएको अनावरण परिचयमा बीपी नेपालका जनप्रिय नेता हुन् । पूर्वप्रधानमन्त्रीसमेत हुन् भन्ने विवरणसमेत राख्नु अनिवार्य देखेर यसबारे सम्झाउने काम गरेको छु,’ उनले भने । यस्तै उनले भारतमा बीपीका नाममा राखिएको सडकमार्ग परिवर्तन गरेकामा पनि ध्यानाकर्षण गराएको बताए ।

‘बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले गान्धी मैदान छेउबाट बाँसघाटसम्मको सडकलाई बीपी पथ नामकरण गरेका थिए । तर, अहिले बिहार सरकारले यही सडकलाई अग्रेसन मार्ग नामकरण गरेको रहेछ । पोखरेलले यस विषयमा समेत ध्यानाकर्षण गराएको बताए ।

उनले आफूले कुरा उठाएपछि स्थानीय जानकारले पनि पार्कको सरसफाइमा ध्यान दिएको बताए । तर बीपीले जन्माएको पार्टी नेपाली काँग्रेस आफैले पनि यसबारे चासो नराखेको उनको गुनासो छ । काँग्रेस आफैले बिहार सरकारसँग कुरा गर्न सक्ने भन्दै उसको प्राथमिकतामा नपरेको पोखरेलको बुझाइ छ ।

बीपी सङ्ग्रहालयको मुख्य संरक्षक रहेका पार्टी सभापतिलाई पनि यसबारे भारतबाट फर्किएपछि बताएको जनाकारी दिए । बीपी पुत्र प्रकाश कोइराला, उनी छोरी मनिषा कोइरालासँग भेट्न खोजेको पोखरेलले बताए ।

तर, बीपीका कान्छा पुत्र पार्टी महामन्त्री शशांक कोइराला र भतिजा नेता शेखर कोइरालासँग यस विषयमा कुरा गर्न खोज्दा समयसमेत नपाएको उनको गुनासो छ । काँग्रेसले बीपीसँग जोडिएका ऐतिहासिक विषयमा चासो नदिएको उनको भनाइ छ । भारतस्थित नेपाली काँग्रेसको जनसम्पर्क समिति पनि यस विषयमा बेखबर छ ।

पोखरेलका अनुसार बीपीको सालिक अमेरिकामा पनि स्थापना भएको थियो । तर अहिले त्यसको अत्तोपत्तो छैन । काँग्रेस निकट जनसम्पर्क समिति अमेरिका सभापति तथा पार्टीका आमन्त्रित सदस्य आनन्द विष्टसँग बुझ्दा अनभिज्ञता प्रकट गरेको पोखरेलले बताए । विदेशमा रहेका बीपीसँग जोडिएका ऐतिहासिक सम्पदाको संरक्षणका लागि परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाउने तयारीमा रहेको उनको भनाइ छ ।

काँग्रेसले यसबारे एउटा विभागलाई नै संरक्षण तथा अध्ययनको जिम्मेवारी दिनुपर्ने उनको माग छ । बीपी सङ्ग्रहालय समितिले कोइरालाको विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण गर्न लागिरहेको पनि पोखरेलले बताए ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय