मंगलबार , अषोज ५, २०७८

काठमाडौं ।

धनुषाका रामसुफल महरा चमार वर्षौंदेखि काठमाडौंका चोक र गल्लीमा जुत्ता पालिस गर्ने काम गर्दै आएका छन् । चमारको परिवारमा अहिले श्रीमती, १ छोरा र १ छोरीसहित ४ जना छन् । २ छोरीहरुको विवाह भइसक्यो । कान्छी छोरीको पनि विवाह गर्नेबेला हुन लाग्यो । छोरा अलि सानै छन् ।

काठमाडौंमा निशेधाज्ञा शुरु हुनु दुई दिनअघि अर्थात् वैशाख १४ गते साँझसम्म पनि रामसुफल ढुङ्गेधारा चोकमा दुनियाँका जुत्ता टल्काउँदै थिए । अरुका जुत्ता टल्काइमा उनको गाँस र बासको सवाल छ । परिवारका लागि केही पैसा जोहो गर्नु छ । गाउँका साहुजी र बैंकको ऋण पनि तिर्नु छ ।

जब सरकारले बैशाख १६ गतेको बिहान नहुँदै निषेधाज्ञा सुरु हुने घोषणा गर्‍यो, त्यसपछि भने रामसुफलमा छटपटी सुरु भएको छ ।

‘लकडाउन’ भएपछि काठमाडौंमा के खाने, कसरी बस्ने, साहु र बैंकको ऋण कसरी तिर्ने ? अनि धनुषामै रहेका परिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले रामसुफललाई सताएको छ । तर, सरकारको आदेश उल्लंघन गर्ने ताकत उनमा छैन ।

निषेधाज्ञाका बेला मानिसहरु सडकमा जुत्ता टल्काउन आउने छैनन् । आम्दानीको एकमात्र स्रोत जुत्ता टल्काउने पेशा बनाएका रामसुफल अब के गर्ने भन्ने चिन्तामा छन् । अहिले बढीमा १५ दिन बन्द भएमा जेनतेन जीवन धान्न सकिने सोचमा छन् उनी । १५ दिनभन्दा बढी बन्दाबन्दी भयो भन्ने जीवनको रथ कसरी तान्ने भन्ने चिन्ता छ उनलाई ।

शारीरिकरुपमा समेत अशक्त रहेका रामसुफल अरु काम गरेर कमाउन सक्ने अवस्थामा छैनन्, जसका कारण उनको पहिलो पुकार छ, यो ‘लकडाउन’ २ साताभन्दा बढी नभइदियोस् । उनी निषेधाज्ञा भन्न जान्दैनन्, लकडाउन नै भन्न अभ्यस्त छन् ।

वनस्थली ढुङ्गेधारामा जुत्ता टल्काउँदै गर्दा भेटिएका रामसुफल केही समयको कुराकानीपछि खुलेर कुरा गर्न तयार भए । सुरुमा केही लजाएका उनले आफ्नो दैनिकी र जीवनको कथा खुलस्त सुनाए ।

 

यो पनि
कहिल्यै काठमाडौँ नफर्कने वाचा गर्दै रोल्पा फर्किइन् दिलकुमारी
दैनिक मजदुरीमै चलेको जीवन

धनुषा जिल्ला साविकको खजुरी चन्हा गाविस तथा हालको जनक नन्दिनी गाउँपालिका वडा नं ४ का रामसुफल महरा चमारका नाममा कुनै जग्गाजमिन छैन ।

सम्पत्तिका नाममा श्रीमतीका नाममा रहेको ३ धुर घडेरी र त्यहाँ बनेको एउटा सानो झुप्रो मात्रै छ । खेती किसानीका लागि थोरै अरुको जमिन पनि कमाएका छन् । तर, त्यो जमिन कसको हो भन्ने उनलाई थाहा छैन । उनी भन्छन्, ‘खै कोही कार्की थरको मान्छेको जमिन हो भन्छन्, तर को हो, मलाई थाहा छैन । त्यही जमिनमा श्रीमती र छोराछोरीले काम गर्छन् । उनी भने काठमाडौंमै जुत्ता सिलाउने र पालिस गर्ने काम गर्छन् ।

दैनिक ज्याला मजदुरीबाटै उनीहरुको परिवार चलिरहेको छ । घरमा कमाउन सक्ने अरु मानिस नभएका कारण यदि रामसुफलले कमाउन पाएनन् भने उनको घरमा चुल्हो बल्न मुस्किल छ ।

राज्यले अपाङ्ग भत्ता नै दिएन

रामसुफल महरा चमारको दाहिने गोडा सुकेर राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । पहिले उनी दुर्घटनामा परेका थिए । बाटोमा हिँड्ने क्रममा गाडीले हानेर उनी घाइते भएका थिए । उपचारपछि दाहिने गोडा सुक्न थाल्यो र उनी राम्रोसँग हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे । १५ किलोको कुनै सामान छ भने उनी बोकेर हिँड्न सक्दैनन् ।

२०६३ साल असार ११ गते रामसुफलले धनुषा जिल्लाबाट अपाङ्गता परिचय पत्र बनाए । रामसुफलको परिचयपत्र नम्बर २४३ हो । उनको अपाङ्गताको किसिममा ‘अशक्त’ लेखिएको छ । उनको अपाङ्गता परिचय पत्रमा धनुषाका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार निरौलाले हस्ताक्षर गरेका छन् ।

रातोपाटीले भेट्दा उनी खुट्टा खोच्याएर हिँड्दैथिए । दाहिने गोडासुकेर धेरै सानो भइसकेको छ । रामसुफलले स्थानीय तहबाट सिफारिस नहुँदा अपाङ्ग भत्ता पाउन नसकेको सुनाए । आफ्नो अपाङ्गता परिचय पत्र देखाउँदै उनले भने, परिचयपत्र त छ, तर भत्ता पाउन सकेको छैन । ‘किन पाउनुभएन त ?’ भन्ने प्रश्नमा उनले भने, ‘खै भत्ता पाउँदैन भन्छ, अरु कुरा थाहा छैन ।’

रामसुफल महरा चमार बस्ने वडा नम्बर ४ का वडाध्यक्ष हरिशचन्द्र कामत रामसुफललाई आफूले चिनेको र अब चाँडै प्रक्रिया पुराएर अपाङ्ग भत्ताका लागि सिफारिस गर्ने बताउँछन् । अहिलेसम्म रामसुफलले अपाङ्गता भत्ताका लागि निवेदन नदिएकाले सिफारिस गर्न नसकिएको उनी बताउँछन् । तर, रामसुफल भने वडामा जाँदा भत्ता पाउँदैन भनेकाले निवेदन नै नदिएको बताउँछन् ।

अपाङ्गता भत्ता प्राप्त गर्नका लागि अशक्तता वा अपाङ्गताको श्रेणी छुट्याइएको हुन्छ । क, ख, र ग श्रेणी छुट्याइको हुनाले उनी ‘ग’ श्रेणीमा पर्ने भएकाले भत्ता नपाएको हुन सक्ने जनकनन्दिनी गाउँपालिकाका उपाध्यक्ष भारती कार्की बताउँछिन् ।

तर, अपाङ्गता परिचयपत्रमा त आंशिक अशक्तता नभएर अशक्त नै भनेर लेखिएको छ त भनेपछि उनले मिल्ने भए सिफारिश गरिदिने बताइन् ।

छोरीको बिहेमा ३६ प्रतिशतको ऋण

रामसुफलका तीनजना छोरीहरु हुन् । जेठी छोरीको बिहे करिब ६ वर्ष पहिले भएको थियो, जुन बिहेमा उनले करिब ५ लाख खर्च गरेका थिए । त्यो ऋण करिब ३ वर्षमा तिरे । किनभने, त्यतिबेलाको कमाई दैनिक करिब १ हजार रुपैयाँ थियो ।

त्यसपछि ३ वर्ष अगाडि माइली छोरीको बिवाह गरिदिए । माइली छोरीको बिवाह गर्दा ८ लाख रुपैयाँ लाग्यो । तर, उनीसँग कत्ति पनि पैसा थिएन । उनले सबै रकम ऋणमा लिए । उनी भन्छन्, ‘माइली छोरीको विवाह गर्दा ८ लाख खर्च भयो, सबै ऋणमा लिएको हो । गाउँका ११ जना व्यक्तिसँग सयकडा ३ (३६ प्रतिशत) मा ऋण लिएको थिएँ । अहिले १ जनाको ऋण तिरेँ । बाँकी १० जनाको सावाँ र ब्याज हिसाब गर्दा अझै १२ लाखजति ऋण बाँकी नै होला । त्यो बाहेक घर व्यवहार चलाउन पनि बैंकबाट ऋण लिएको र उक्त ऋणको मासिक ब्याज र सावाँ तिरिरहेको रामसुफल बताउँछन् । उनले भने, ‘अघिल्लो महिनासम्म त तिरेको थिएँ, अब त कसरी तिर्नु ? यो महिना पनि बैंकको ऋण तिर्न सक्दिनँ ।’

‘यत्रो ऋण रहेछ, अब कान्छी छोरीको विवाह कसरी गर्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘कान्छी छोरीको विवाह गर्ने उमेर त हुन लाग्यो । तर, माइली छोरीको विवाहमा लिएको ऋण त तिर्न सकेको छैन, कान्छीको बिहे कसरी गर्नु, सधैं यही चिन्ता हुन्छ ।’

खर्च नधानेपछि छोराको पढाइ छुटाए

रामसुफल महरा चमारका छोरो अहिले १५ वर्षका भए । र उनी स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्दैछन् । छोरालाई पढाउनुपर्छ भन्ने त रामसुफललाई थाहा थियो र छ । तर, आर्थिक हैसियतका कारण छोरालाई पढाउन नसक्ने भए । आफूलाई काममा सघाएको अवस्थामा वा अन्य कुनै काम गरिदिएमा उनको आर्थिक बोझ कम हुने सोचेर उनले केही समय अगाडिमात्रै छोरालाई काठमाडौंमा ल्याए र काममा लगाइदिए । तर छोरो काठमाडौंमै बसेर बुवाको ‘आर्थिक बोझ’ कम गर्नतिर लागेनन् । म त स्कुल नै पढ्ने भन्दै छोरा फेरि गाउँ गए र उतै बस्न थाले । ‘पढाइ त ठूलो कुरा हो नि, अब के गर्नु त,’ चमार भन्छन् ।

दैनिक १ किलो चामल किनेर डेरातिर …

रामसुफल प्रत्येक दिन बिहान १० बजेतिर ढुङ्गेधारामा दुनियाँका जुत्ता टल्काउन आइपुग्छन् । एउटा ठूलो छाताले घाम छेक्छन् । अर्को सानो छाता इमरर्जेन्सीका लागि राखेका छन् उनले । दिनभर त्यहीँ बसेर काम गर्छन् । खाजा पनि खाँदैनन् । साँझ ७ बजेतिर जुत्ता सिलाउन र टल्काउन प्रयोग हुने सियो, धागो, ब्रस र पालिसहरु नजिकैको एक पसलको छेउमा राख्छन् । अनि साँझ १ किलो चामल किन्छन् र डेरातर्फ अगाडि बढ्छन् ।

ढुङ्गेधारामा किराना पसल चलाइरहेकी सञ्चालिका भन्छिन्, ‘उसले दैनिक एक किलो चामल किनेर लैजाने गरेको छ ।’

एक किलो चामल किनेपछि रामसुफलले उक्त चामल एउटा कपडाको पोकोभित्र राखे । उक्त पोकोभित्र केही उनका कपडाहरु पनि थिए । मंगलबार साँझ पनि चामल किनेपछि उनी ढुङ्गेधाराबाट हिँडेर ठूलो भर्‍याङमा​ रहेको डेरातर्फ अगाडि बढे ।

नेपाल आर्मीको बारुद खारखानको नजिकै उनको डेरा छ । गाउँकै अर्का एकजना व्यक्तिसँग उनी डेरामा बस्छन् । माटोको घरको एउटा सानो कोठा उनले भाडामा पाएका छन् । कोठाको उचाई करिब ६ फिटको छ । माटोको घर भएकाले माथिबाट माटो झर्ने गरेकाले उनले बजारबाट थोत्रो प्लाई ल्याएर माटो झर्ने ठाउँ टालेका छन् । यो डेराको उनले मासिक २ हजार रुपैयाँ भाडा तिर्नुपर्छ ।

रामसुफलले भने, ‘लकडाउनमा यहाँ पनि बसिएन । तर, साहुले कत्ति पनि भाडा छुट दिएन । अहिले पनि यो डेराको ८ हजार रुपैयाँ तिर्नै बाँकी छ । अब फेरि लकडाउन हुने भयो, कसरी तिर्ने होला ?’

रामसुफलले अघि पसलमा किनेको चामलको पोको फुकाए । त्यहाँबाट आधाजति चामल निकाले र प्रेसर कुकरमा हाले । भाँडोमा रहेको पानी खन्याए, एकपटक पखाले र चुल्होमा राखे ।

अनि खल्तीमा रहेको पैसा झिकेर खाटमा राखेर गन्न थाले । ‘आज ४८० रुपैयाँ कमाइ भएछ’ हामीतिर हेर्दै मुस्कुराए उनी ।

भिडियाे

दिनभरको कमाई जम्मा ४८० रुपैयाँ ? अनि यति कमाएर सबैथोक टार्न पुग्छ त ? हाम्रो प्रश्नमा उनले हठात् जवाफ दिए, ‘अचेल काम नै छैन ।’

दिनभर कमाएको ४८० रुपैयाँबाटै उनले ७० रुपैयाँमा १ किलो चामल किनेका थिए । बाँकी ४१० रुपैयाँ उनको खल्तीमा थियो ।

खल्तीमा एउटा औषधीको पत्ता पनि थियो । त्यो निको ब्राण्डको सिटामोल थियो । उनले भने, ‘कहिलेकाहीँ टाउको दुख्यो र ज्वरो आयो भने खान्छु ।’

पैसा गनिसकेपछि उनले तरकारी खोजे । बिहान पकाएको फर्सीको आधा भाग बाँकी थियो । त्यही फर्सी निकाले र काट्न थाले ।

‘ज्यान है तो जहान है !’

‘अब लकडाउन भएपछि तपाईँ कसरी बस्नुहुन्छ, के खानुहुन्छ त ?’ रामसुफलले जवाफ दिए, ‘अब एकछाक खाएर बस्ने । बाँच्नु त प¥यो नि ।’

‘भनेपछि, बन्दाबन्दीले तपाईंजस्तो दैनिक काम गरेर खानेको बिजोग हुने भयो है ?’ हाम्रो प्रश्नमा उनले भने, ‘ज्यान हे तो जहान है ! अब ज्यान नै ठूलो कुरा भयो नि । बाँचे त बिस्तारै कमाउँला, खाउँला । पहिले बाँच्नु त पर्‍यो नि ।’

सानो कोठा एउटा ठूलो खाटले आधाभन्दा बढी भाग ओगटेको थियो । बाँकी स्थान उनी र साथीका सामानले भरिएको थियो । एक छेउमा ग्यास चुल्हो थियो । चुल्होको ठीक अगाडि मान्छे मात्रै छिर्न मिल्ने खाली स्थान थियो, अपाङ्गगता भएका रामसुफल त्यहीँ उभिएर खाना बनाउनतिर लागे ।

हामी हिँड्नै लाग्दा उनले भने, ‘सर, मेरो अपाङ्ग भत्ता मिलाइदिन पहल गरिदिनुपर्‍यो । मेरो फोन नम्बर ९८१८०६८५१४हो, मिल्ने भयो भने फोन गरिदिनोस् है ।’

हामी अपाङ्ग भत्ताका लागि स्थानीय तहसँग पहल गरिदिने भन्दै बाहिरियौँ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय