काठमाडौं ।
नेकपा एमालेले गण्डकी प्रदेशमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई विहीबार युवा तथा खेलकूद मन्त्री बनाएको छ ।
सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई मन्त्री बनाइएको हो । सत्ता जोगाउनका लागि मनाङ्गेलाई मन्त्री बनाइएकोमा सामाजिक सञ्जालमा एमालेप्रति तीव्र व्यंग्य एवं आलोचना शुरु भएको छ ।
यो पनि
गण्डकीमा प्रदेशमा दीपक मनाङेले लिए मन्त्रीको शपथ
गण्डकी प्रदेशसभाको अंक गणितलाई हेर्दा मनाङ्गेलाई मन्त्री बनाए पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध परेको अविश्वासको प्रस्ताव असफल पार्नका लागि सत्तारुढ एमालेलाई आवश्यक संख्या पुग्दैन ।
किनभने, ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, माओवादीका ११ जनमोर्चाका ३ र जसपाका २ गरी ३१ सीट पुग्छ । चारवटै दलले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताइसकेका छन् ।
दीपक मनाङ्गेलाई समेत जोड्दा एमालेसँग २८ मत मात्र छ । बराबरी भएको अवस्थामा निर्णायक मत दिन पाउने सभामुख पनि माओवादीकै छन् ।
यो पनि
गाईजात्रा हेर्नुस् त ! प्रधानमन्त्रीले प्रदेशका मन्त्रीहरुको व्यापार गरेका छन् : चित्रबहादुर केसी
बुधबार अकस्मात् अस्पताल भर्ना भएका जनमोर्चाका सांसद खिमविक्रम शाहीले पनि पार्टीको निर्णय पालना गर्ने भन्दै वक्तव्य निकालिसकेका छन् ।
मंगलबार पीसीआर जाँच नगरी मतदान गर्न नपाइने भन्दै सत्तारुढ एमालेले प्रदेशसभा अवरुद्ध पारेको थियो । बुधबार मतदान हुने बेलामा जनमोर्चाका सांसद हराएपछि संसद बैठक स्थगित गरिएको छ ।
विहीबार एमालेले सत्ता जोगाउने अर्को रणनीति अन्तरगत मनाङ्गेलाई मन्त्री बनाएको हो । तर, मनाङ्गेलाई मात्रै मन्त्री बनाएर सरकार जोगिने स्थिति छैन । बरु यो निर्णयले पार्टीको बदनामी मात्र भएको छ ।
त्यसो त विहीबार मनाङ्गेसँगै माधव नेपाल पक्षमा सांसद इन्द्रलाल सापकोटा र जनमोर्चाका कृष्ण थापालाई पनि मन्त्री बनाइन लागेको हल्ला चलेको थियो । तर, सापकोटाले आफू मन्त्री नहुने बताइसकेका छन् भने जनमोर्चाका नेताहरुले आफ्ना सांसद पार्टीको अनुशासनप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
यो पनि
सरकारमा जान्न भनिसकेको छु, अनावश्यक हल्ला चलाइयो : इन्द्रलाल सापकोटा
यस प्रदेशमा माधव नेपाल पक्षका सांसद एकजना मात्रै छन् । अविश्वासको प्रस्तावमा मतदान हुँदा उनले फ्लोर क्रस गरे भने सरकार ढल्ने लगभग निश्चितजस्तै छ ।
भलै, माधप नेपाल पक्षका सापकोटाले फ्लोर क्रम नगर्दा पनि अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिन्छ ।
यस प्रदेशमा जसपाका दुईजना सांसद छन् । सत्तापक्षले उनीहरुलाई पनि मन्त्रीको प्रलोभन दिइरहे पनि अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरिसकेका उनीहरु अहिलेसम्म आफ्नो अडानमै दृढ देखिएका छन् ।
बुधबार सांसद हराएको प्रकरणले रोकिएको मतदान कहिले हुन्छ भन्नेबारे संसद सचिवालयले सूचना जारी गरेको छैन । अस्पतालमा रहेका सांसद शाहीले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।
रातोपाटी