
काठमाडौं ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ओसार–पसार गर्ने जिम्मा प्रि–पेड ट्याक्सीलाई दिइएको छ । विभिन्न पार्टीका मजदुर नेताहरुको स्वामित्वमा दर्ता भएका विमानस्थलका प्रिपेड ट्याक्सी बाहेक अन्य ट्याक्सीमाथि चाहिँ सरकारले रोक लगाएको छ ।
पर्यटनलाई सेवा दिने उद्देश्यले दर्ता भएका २०८ वटा प्रिपेड ट्याक्सी अहिले विमानस्थलमा सञ्चालित छन् । ‘प्रिपेड ट्याक्सी नेपाल’ नामको फेसबुक पेजमा सो ट्याक्सीलाई सम्पर्क गर्ने हटलाइन नम्बर राखिएको छ ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीका अनुसार विमानस्थल आउन र त्यहाँबाट गन्तव्यमा जान यात्रुले यी ट्याक्सी प्रयोग गर्न सक्छन् ।
सरकारले निषेधाज्ञाका बेला विमानस्थलमा साझा बस चलाउने भने पनि पहिलो दिन साझा बस देखिएन । निषेधाज्ञामा पनि विमानस्थलमा यात्रुको चाप बढेको छ । त्यसैले महामारीमा पनि प्रिपेड ट्याक्सीलाई ‘दसैं’ आएजस्तो भएको विमानस्थलका कर्मचारीहरु बताउँछन् । अन्य ट्याक्सी चालकहरू भने रोजीरोटी गुम्ने चिन्तामा छन् ।
कोरोना महामारीको दोस्रो लहर शुरु हुँदा विमानस्थलमा यात्रु ओसार्ने प्रिपेड ट्याक्सी स्वास्थ्य मापदण्ड पालनामा चाहिँ उदासीन देखिएका छन् ।
बिहीबार रातोपाटीले विमानस्थलमा प्रिपेड ट्याक्सीले स्वास्थ्य मापदण्ड पालना गरेको छ कि छैन भनेर निगरानी गरेको छ । आन्तरिक र बाह्य टर्मिनलमा रहेका एका–दुई बाहेक अधिकांश ट्याक्सीले स्वास्थ्य मापदण्ड पालना गरेको देखिएन् ।
ट्याक्सी चालकले मास्क लगाएका छन् । तर, यात्रुलाई सेनिटाइजर उपलब्ध गराउने र गाडीको सिट डिसइन्फेक्सन गरेको पाइएन । अधिकांश ट्याक्सी यात्रु चढाएर गन्तव्यमा लैजान आतुर थिए । तर, बा.१ य १०८५ नम्बरका ट्याक्सी चालकले चाहिँ यात्रुलाई सेनिटाइजर दिएर सिट पनि डिस्इन्फेक्ट गरेको देखियो ।
विमानस्थलका सबै ट्याक्सी ‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’को मातहतमा सञ्चालित छन् । रातोपाटीसँग कुरा गर्दै एकजना ट्याक्सी चालकले सेनिटाइजरको व्यवस्था नभएको बताए ।
‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’का सुपरभाइजर किसन रोकाले प्रत्येक ट्याक्सीमा चालकसहित ३ जनामात्र बस्ने गरी प्रोटोकल लागु गरिएको दाबी गरे । उनले भने, ‘सकभर प्रोटोकल पालना गरेर यात्रुलाई सेवा दिइरहेका छौं ।’
रातोपाटी