बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

बिहीबार दिउँसो १२ बजे शुक्रराज अस्पताल टेकुमा ‘श्री शान्ति युवा क्लब कैलाली’ लेखिएको एम्बुलेन्स तीव्र गतिमा इमर्जेन्सी अगाडि रोकियो । हतारिंदै अधबैंसे पुरुष एम्बुलेन्सको अघिल्लो ढोकाबाट निस्किए ।

निकै हतास देखिएका उनी महेन्द्रनगरदेखि काठमाडौं आइपुग्दा घण्टौं लामो जाममा परे । यसैले जतिसक्दो चाँडो बिरामी श्रीमतीलाई जाँच गराउन चाहन्थे ।

बुधबार बिहानै महेन्द्रनगरबाट हिंडेका उनीहरू बिहीबार दिउँसो मात्र टेकु आइपुगे । ‘काठमाडौं छाड्नेहरूको जामले दाउन्ने र नागढुंगामा दुई घण्टा जाममा परियो’, भीमदत्त नगरपालिका-३ कञ्चनपुरका भीमबहादुर थापाले अनलाइनखबरसँग गुनासो पोखे ।

भीमबहादुर भन्छन्- महेन्द्रनगरका अस्पताल कोभिडका बिरामीले खचाखच थिए । बेडको त के कुरा, खोजेजस्तो परामर्श समेत पाउन सकिएन । मंगलबारदेखि अक्सिजन लेभल ८० भन्दा कम देखिन थालेपछि एम्बुलेन्सलाई मात्रै ५० हजार रुपैयाँ तिरेर काठमाडौं ल्याएँ ।
श्रीमती साबित्री थापालाई श्वासप्रश्वासको समस्या बढेपछि उनलाई लिएर थापा काठमाडौं आइपुगेका हुन् । महेन्द्रनगर बजारदेखि काठमाडौंसम्म आउन एम्बुलेन्सलाई मात्रै ५० हजार रुपैयाँ तिरेका उनले भने, ‘भाडाबाहेक ड्राइभरलाई खाना-खाजा र अक्सिजन सिलिण्डरको छुट्टै पैसा तिर्नुपर्‍यो । जसोतसो सरसापट गरेर आइपुग्यौं ।’

यो त भयो बिरामीका आफन्तको कथा । भीमबहादुरकी ४७ वर्षीया श्रीमती साबित्री थापाको स्वास्थ्य समस्या आफ्नै छ ।

पाँच वर्ष पहिलेदेखि साबित्रीलाई थाइराइड र निमोनियाको समस्या थियो । त्यसको उपचार गर्न उनी चार महिनाअघि मात्र दिल्ली पुगेकी थिइन् ।

दिल्लीका डाक्टरको सल्लाहअनुसार औषधि खाँदै घरमै आराम गरेर बसेकी थिइन् । पछिल्लो एक महिना घरबाट बाहिर निस्केकी थिइनन् । स्वास्थ्य अवस्था सामान्य थियो ।

सोमबारदेखि उनलाई एक्कासी छाति दुख्न थाल्यो । सास फेर्न असहज भएपछि स्थानीय अस्पताल पुगिन् । तर, महेन्द्रनगरका अस्पताल कोभिडका बिरामीले खचाखच थिए । ‘बेडको त के कुरा, खोजेजस्तो परामर्श समेत पाउन सकिएन’, भीमबहादुर सुनाउँछन्, ‘मंगलबारदेखि अक्सिजन लेभल ८० भन्दा कम देखिन थालेपछि हामी डरायौं ।’

सोमबार मात्रै कोरोना संक्रमणले भाइ गुमाएकी साबित्री आँत्तिन थालिन् । यसपछि काठमाडौंमा भएका आफन्तसँग सल्लाह गरी साबित्री र उनका श्रीमान् एम्बुलेन्सबाट रातारात काठमाडौं आए । ‘महेन्द्रनगरमा सामान्य अक्सिजन सिलिन्डर र औषधि समेत पाउन सकिएन । दायाँबायाँ केही नसोची काठमाडौं आउनुपर्‍यो’, उपचारको चटारोबीच साबित्रीका श्रीमान् आफ्नो दुःख पोखिरहेका थिए ।

साबित्रीलाई काठमाडौं ल्याइने भएपछि उनका भाइ सशस्त्र प्रहरी निरीक्षक सुरज केसी पनि टेकु आइपुगे । दिदीलाई एम्बुलेन्सबाट झार्नेदेखि एक्स-रे गर्न लैजानेसम्म काम उनैले गरे ।

‘मैले एपीएफ अस्पतालमा पनि कुरा गरेँ । अन्त पनि बुझेँ तर टेकुमा सबै जाँच गर्न सजिलो हुन्छ भनेर सुरुमै यता ल्यायौं’, सुरज सुनाउँछन्, ‘चिनेजानेको मान्छेलाई त बेड पाउन गाह्रो छ भने सामान्य जनताको हालत के होला !’

तीन घण्टाको परीक्षणपछि भर्ना

अस्पताल ल्याइपुर्‍याएको सुरुका तीन घण्टा त उनलाई इमर्जेन्सी भवनको आँगनमै राखेर अस्पतालकै सिलिन्डरबाट अक्सिजन दिइयो । यसअघि उनले महेन्द्रनगरबाटै ल्याइएको अक्सिजन लिइराखेकी थिइन् । यति गरेपछि साबित्री र भीमबहादुर दुवैको कोरोना परीक्षणका लागि ‘एन्टिजेन टेस्ट’ गरियो । साबित्रीको छातिको एक्स-रे जाँच गरियो, अक्सिजन लेभल समय-समयमा मापन हुन थाल्यो ।

संक्रमित बिरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न अस्पताल प्रशासन लागिपरेको छ । बेड खाली नभएपनि टेकु अस्पतालले आँगनमै राखेर भए पनि बिरामी जाँच्ने, अक्सिजन दिने काम गरेको छ – डा. अनुप बास्तोला भन्छन् ।
डाक्टरहरूले करिब तीन घण्टा उनको अवस्था परख गरे । अन्ततः एन्टिजेन परिपोर्ट पोजेटिभ आएर कोरोनाका सबै लक्षण देखिएपछि मात्र साबित्रीलाई इमर्जेन्सीभित्र प्रवेश गराए । ‘इमर्जेन्सीमा सबै कोरोना संक्रमित मात्रै भएकाले हामी नयाँ बिरामीलाई त्यहाँ पठाउँदैनौं । आवश्यक जाँचपछि मात्रै भर्ना लिने-नलिने निर्णय गर्छौं’, इमर्जेन्सी विभागका प्रशासक लिलानाथ भण्डारीले अनलाइनखबरलाई भने ।

यता अस्पतालको आँगनमा डाक्टरहरूले परीक्षण गर्न थालेपछि साबित्री बिस्तारै केही राहत महसूस गर्न थालिन् । एक्स-रे गर्न जाँदासम्म उनी श्रीमानकाे हात समाएर बिस्तारै हिंड्न सकिन् । बेलाबेला मनतातो पानी आफैंले पिइन् ।

अस्पतालको आँगनमा उपचार गराइरहँदा डा. अनुप बास्तोला पनि राउण्डमा आइपुगे । उनले पनि साबित्रीको अवस्था बुझे ।

थप परीक्षण गरेपछि अपरान्ह ४ बजेमात्र उनलाई टेकु अस्पतालको वार्डमा भर्ना गर्ने व्यवस्था मिलाइयो । ‘डाक्टरहरूले जसोतसो एउटा बेड मिलाएर यहीँ भर्ना गर्ने व्यवस्था मिलाए । अब टेकु अस्पतालमा नै सबै उपचार गराउँछौं’, भीमबहादुरले सुनाए ।

यता, आफ्नो रिपोर्ट के आउँछ भन्ने त्रासमा छन् उनी । रिपोर्ट पोजेटिभ आयो भने सेल्फ क्वारेन्टाइनमा बस्ने योजना बनाएको उनले सुनाए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग आबद्ध रहेका भीमबहादुर नियमित खेलकुदमा सक्रिय भएकाले उनलाई कोरोनासँग जुध्न सक्छु भन्ने लागेको छ । यसैले दत्तचित्त भएर श्रीमतीको हेरचाहमा लागेका छन् । ‘अब म पनि संक्रमित भएँ भने आफन्तलाई अस्पताल बोलाएर सेल्फ क्वारेन्टाइनमा बस्छु’ उनी भन्छन्, ‘तर आजसम्म मलाई कुनै लक्षण देखिएको छैन । आत्मविश्वास कम हुन दिएको छैन ।’

टेकुमा पनि बेडकै समस्या

टेकु अस्पताल परिसरमा भीड नदेखिए पनि इमर्जेन्सी र वार्डका बेड खाली छैनन् । डाक्टरका अनुसार इमर्जेन्सीमा एउटा बेड खाली हुनेबित्तिकै अर्को बिरामी आइहाल्ने गरेका छन् । बढ्दो चापलाई व्यवस्थापन गर्न अस्पताल प्रशासन लागिपरेको छ । तर पनि समयमै बेड पाउन हम्मेहम्मे हुने बिरामीहरू बताउँछन् ।

यद्यपि बेड खाली नभएपनि टेकु अस्पतालले आँगनमै राखेर भएपनि बिरामी जाँच्ने, अक्सिजन दिने काम गरेको बताउँछन् डा. अनुप बास्तोला ।

बास्तोलाका अनुसार बिरामीलाई सुरुमै इमर्जेन्सीमा भर्ना गर्नुभन्दा पनि उसको जाँच गरेर प्रवेश गराउँदा बेडको समस्या हल हुन्छ । ‘धेरै बिरामी कोरोना परीक्षण नै नगराई सीधै यहाँ आउनुहुन्छ । जसले गर्दा अतिरिक्त भीड हुन्छ’ बास्तोलाले भने, ‘यसैले म सबैजनालाई कोरोना परीक्षण गराएर गाह्रो अवस्था आयो भनेमात्र अस्पताल आउनुहोला ।’

टेकु अस्पतालमा अहिले वार्डतर्फ ३० बेड, आईसीयूमा २२ र इमर्जेन्सीमा १५ बेड छन् । डा. बास्तोलाका अनुसार थोरै भए पनि बेड संख्या बढाउने क्रम जारी छ ।

अनलाईन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय