शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको आज पहिलो दिन । विहान ६ बजे नै प्रहरीले राजधानी शहरका धेरै सडक बन्द गर्न डिभाइडर तेर्स्याइसकेको छ ।

कालिमाटीबाट हुइँकिएर टेकुतर्फ आएको ट्याक्सीलाई एक प्रहरी निरीक्षकले रोक्न इशारा गरे । हातमा रजिस्ट्रर र डटपेन बोकेर छेउमै प्रहरी हवल्दार उभिएका छन् । ‘कहाँसम्म हउ, सर ?’ प्रहरी निरीक्षकले सोधे ।

ट्याक्सीको पछाडि सिटमा दुई वृद्धा बसेका छन्, अगाडि चालकसँगै एक युवक । ‘हजुरबुवा हजुरआमालाई एयरपोर्ट पुर्‍याउन हिँडेको’ युवकले जवाफ फर्काउँछन् । प्रहरी अधिकृतले हवाई टिकट मागेपछि उनले मोवाइलको स्क्रिनमा ईटिकट देखाए ।

‘एयरपोर्टसम्म जान/पुर्‍याउन पाइन्छ, तर उतै बस्नू, ट्याक्सी डुलाउन पाइदैन’ इन्सपेक्टरले झोक्किँदै भन्छन् ।

ट्याक्सी रोकिएका बेला अरु आधा दर्जन सवारी साधन त्यहीँबाट गुडे । खाद्यान्न, तरकारी, दूध जस्ता उपभोग्य सामग्री बोकेका सवारी साधनलाई प्रहरीले अवरोध गरेको छैन । त्यस्तै सञ्चालन गर्न पाइने भनेर तोकिएका कतिपय सेवामा आवद्ध व्यक्तिहरु पनि परिचयपत्र देखाएर सवारी साधन चलाइरहेका छन् ।

ट्याक्सी अगाडि बढेको केहीबेरमा प्रहरीले एउटा मोटरसाइकललाई रोक्यो । ‘यहीँ नजिकै हिँडेको, मेरो घरनै त्यहीँ हो’ चालक युवकले हतार हतार भने । इन्सपेक्टरले मोटरसाइकललाई छेउ लगाउन निर्देशन दिए । युवकले अनेक अनुनय विनय गरे पनि रजिस्टर र डटपेन बोकेका प्रहरी हवल्दारले मोटरसाइकल छेउ लगाउनैपर्ने बताए ।

यहाँ प्रहरीले उनी भन्दा अगाडि नै तीन वटा मोटरसाइकललाई होल्ड गरिसकेको छ ।

****

त्रिपुरेश्वर चोकमा राखिएको ट्राफिक प्रहरीको चेक पोष्टमा प्रहरीले सबै सवारी साधन रोकेको छ । परिचय पत्र बोक्ने चालक र अत्यावश्यक सवारी साधनलाई चल्न दिइएको छ । यो चोकमा हामी पुग्दासम्म कुनै सवारी साधन होल्ड भएका छैनन् ।

बबरमहलको चेक पोष्टमा रोकिएका दुई युवक हतास मुद्रामा देखिए । प्रहरीले उनीहरुको मोटरसाइकल होल्ड गरिदिएको छ, यहाँ एउटा ट्याक्सी पनि होल्ड भएको छ ।

‘पासको व्यवस्था छ भनेर बोलाएकाले म बानेश्वर जान लागेको, यहीँ रोकिदिनुभयो’ ट्याक्सी चालकले सुनाए । मोटरसाइकल चालक भने मोवाइलमा कतै फोन गरेर समस्यामा परेको सुनाउँदै थिए ।

‘साइड लगाउनुस्, साइड लगाउनुस्’ नयाँ बानेश्वर चोकमा एक प्रहरी कर्मचारी सडक किनारतिर मोटरसाइकल रोक्न चालकलाई निर्देशन दिँदै थिए । यहाँ पनि सवारी पास विना गुडेका गाडी रोकिएका छन् । पास देखाउने सवारी साधनलाई प्रहरीले छाडेको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबारदेखि निषेधाज्ञा जारी गरेका छन् ।

निषेधाज्ञामा खाद्यान्न, औषधि, दूध, पानी, तरकारी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित सवारी साधन मात्र चल्न दिइएको छ । त्यस्तै विमानस्थल जाने यात्रु चढेका सवारी साधन पनि चल्न दिइएको छ ।

अन्य निजी तथा सार्वजनिक सवारी साधन चल्न निषेध गरिएकाले सडक सुनसान छ । फुटपाथमा हिँड्ने मानिसहरु पनि धेरै कम भएका छन् ।

****

काठमाडौंको दरवारमार्गमा प्रहरीले एक दर्जन भन्दा बढी मोटरसाइकल र तीनवटा कार रोकेको छ ।

प्रहरी नायव निरीक्षक मोतीलाल शर्मा नेतृत्वको टोलीले ती सवारी साधन चेकजाँच गरिरहेका छन् । रातो टिसर्ट लगाएका झापाका देवदत्त मैनालीले हातमा पासपोर्ट र केही कागजात बोकेका छन् । उनी एकाएक आक्रोशित देखिए । ‘यो फटाहा सरकार, मान्छेलाई तनावमात्रै दिन जानेको छ, सतीले सरापेकोको देशमा यहाँभन्दा बढी के अपेक्षा गर्ने ?’

निधारबाट पसिना झर्न थालेको छ । ‘अफिस खोल्ने अनि सेवा लिन जानेलाई रोक्ने, के तरिका हो यो ?’ उनी कराइरहेका छन् । वैदेशिक रोजगारीका लागि कतारमा रहेका उनी केही महिना अघि बिदामा आएका थिए । अहिले पुनः कतार जान श्रम स्वीकृतिका लागि आएका उनी प्रहरी चेकिङमा रोकिएका थिए ।

‘६ गते फ्लाइट छ, आज श्रम गरेर पर्सी पीसीआर गरौंला भनेको’ रिसाउँदै मैनालीले भने, ‘टाउको फुट्न आँटिसक्यो, कसैलाई रोक्ने कसैलाई छाड्ने यो के गरेको ?’

चेक साट्न बैंक हिँडेका एक युवक डेढ घण्टादेखि रोकिएका छन् । उनी बेलाबेलामा प्रहरीसँग छाडिदिन अनुरोध गरिरहेका छन् । तर प्रहरीले उनलाई जान दिएको छैन ।

‘बैंक खुला हुन्छ भनेर म चेक साट्न हिँडेको’ हातमा चेक देखाउँदै उनले भने, ‘अब त यता न उता भएँ न बैंकमा जान दिन्छन्, न घर फर्कन ।’ सर्वसारणलाई सेवा नदिने भए बैंक किन खोल्नु परेको भन्दै उनी प्रश्न गर्छन्, ‘त्यसो भए ठप्पै पारे हुन्थ्यो नि किन खोल्नुपरेको ?’

चौधरी ग्रुपको सीजी फुडको परिचय पत्र बोकोक तीन जना पनि सडकमा होल्ड भएका छन् । दुई जना आक्रोशित मुद्रामा छन् । खाद्यान्न उद्योगलाई सरकारले नै छाड्न भनेको तर प्रहरीले अटेर गरेको भन्दै उनीहरुले आक्रोश पोखिरहेका छन् ।

‘यो त दुःख दिने काम मात्रै भयो, उद्योग मन्त्रालयले नै छाड्नु भनेकालाई त छाड्नुपर्‍यो नि’ सीजीका सञ्चित न्यौपानेले भने ।

प्रहरीले कसैलाई छाड्ने र कसैलाई रोक्ने गरेको उनले आरोप लगाए । ‘रोक्ने नै भए पुरै रोके भयो तर यहाँ प्रहरीले कसैलाई छाड्ने र सरकारले खुला हुने भनेको क्षेत्रलाई पनि रोक्ने काम भयो’ उनले भने ।

रोकिएकाहरु आक्रोशित भए पनि प्रहरी भने संयमित छ । प्रहरी नायव निरीक्षक शर्मा आफूलाई आदेश भए बमोजिमात्रै सवारी साधनलाई रोकेको बताइरहेका छन् ।

अनलाईन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय