शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

स्थान : कलंकी, बाबा पेट्रोल पम्प छेउ । समयः दिउँसो साढे १२ बजे ।

सडक किनारमा एक अधवैंशे पुरुष टुक्रुक्क बसेका छन् । छेउमा दुईवटा जेब्रा झोला र एउटा प्लाष्टिकको बोरा छ । तिनमा केही लुगाफाटा पोको पारेका छन् । घरि यता, घरि उता गरिरहन्छन् । झोला देखेरै उनको बेचैनीको कारण बुझ्न गाह्रो हुँदैन ।

कोरोना भाइरसको दोस्रो लहरको चेन ब्रेक गर्न प्रशासनले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । कैलालीको लम्कीका लक्ष्मीप्रसाद जैसी घर फर्किने गाडी नपाएकाले कलंकीमा अलपत्र परेका हुन् ।

‘सिन्धुपाल्चोकमा मजदुरी गरिरहेको थिएँ,’ उनले भने, ‘बुधबार कैलालीमा रहेकी श्रीमती मनकुमारी बिरामी भएको खबर पाएँ ।’

काम गर्न थालेको एक महिना मात्र भएको थियो, श्रीमती बिरामी भएको खबर सुनेपछि ठेकेदारले घर जान त दियो, तर पैसा दिएन । उनले अनलाइनखबरसँग पीडा सुनाए, ‘ठेकदार गाउँकै थियो, काउन्टरमा पुगेर फोन गर्नु भनेको थियो, तर २ बजे बसपार्क आइपुग्दा सिटै रहेनछ ।’

उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा लगाएको पनि थाहा थिएन । ठेकेदारले पनि केही भनेनन् ।

बुधबार गाउँ फर्किने गाडी नपाएपछि राजधानी काठमाडौंमा अलपत्र परेको उनले सुनाए । बसपार्कमै बिहीबारबाट निषेधाज्ञा लाग्दैछ भन्ने थाहा पाए ।

कलंकी पुग्न पाए, साँझसम्ममा केही भेटिन्छ कि भन्ने लाग्यो । तर, राति १२ बजेसम्म पनि घर जाने कुनै उपाय निस्किएन । त्यसपछि कलंकी आसपास कतै रात कटाउन सकिन्छ कि भन्दै हिँडे, नजिकै एक फर्निचर उद्योगमा सुत्ने ठाउँ देखे र त्यहीं सुते ।

‘घरबाट कहाँ पुगिस् भनिरहन्छन् । आफू यहाँ केही नखाई बाटोमा बसेको छु,’ गहभरि आँशु टिलपिल पार्दै लक्ष्मीप्रसादले भने– ‘कसैले कोहलपुरसम्म भएपनि लगिदिए हुन्थ्यो । त्यहाँबाट जसोतसो लम्कीसम्म जान्थे ।’
झिसमिसेमै पुनः सडक किनारमा आए । तर, बेलुकीसम्म घर जाने कुनै उपाय भेटिएको छैन ।

‘बेलुकीदेखि केही खाएको छैन’

जैसीका अनुसार कैलालीको लम्कीबाट केही किलोमिटरभित्र रहेको गाउँमा बसेर पेट पाल्न गाह्रो भएपछि उनी काम खोज्दै भारत गएका थिए । सिम्लामा स्याउ टिप्ने जागिर पाएपछि श्रीमती मनकुमारीलाई पनि त्यतै लगे ।

तर, श्रीमती स्याउको रुखबाट खसेपछि पेटमा चोट लाग्यो, उपचारपछि घरै फर्किए । घर त आए तर, दुई छोरालाई कसरी पाल्ने ? कान्छो छोरा जय भर्खर कक्षा ९ मा पढ्दै थिए, जेठा २१ वर्षीय छोरा प्रकाशको खुट्टामा समस्या छ, उनको अपाङ्ग परिचयपत्र छ ।

घर आएपछि परिवारको जिम्मेवारी लक्ष्मीप्रसादकै काँधमा थियो । दुई छोरीको बिहे भइसक्यो । गाउँमा बसेर परिवार धान्नै गाह्रो थियो । कामको खोजी नलागी उपाय थिएन ।

त्यहीबेला गाउँकै चिनजानका ठेकेदारले उनलाई सिन्धुपाल्चोक बोलाए । त्यहाँ उनी टावर बनिरहेको ठाउँमा उनी ढुंगा बोक्ने काम गरिरहेका थिए ।

‘ठेकदारले खान खाएर दिनको तीन सय, नखाइ आठ सय रुपैयाँ दिने भनेको थियो,’ उनी भन्छन्, ‘घर जान्छु भन्दा पनि पैसा पाइन, अहिले मोबाइल नै स्वीचअफ छ ।’

सिन्धुपाल्चोकबाट आएदेखि पैसा नहुँदा केही नखाएको उनी बताउँछन् । ‘यही बस्ने एकजना दिदीले खाउँ भन्नु भएको थियो, तर पनि खान मन लागेन,’ उनले भने ।

सडकमा रुझ्दै गाडीको पर्खाइ

निषेधाज्ञाका कारण गाडी नआएको अहिले उनलाई थाहा छ । तर कहाँ जाने के गर्ने सोच्न पनि सकेका छैनन् । बाटोमा बसिराख्दा केही आइहाल्छ कि भन्ने आशमा छन् ।

उनले प्रहरीसँग पनि सहयोग नमागेका होइनन् । ‘कलंकी चोकमा बसेका ट्राफिकलाई भनेको थिएँ, तर उल्टै नहिंड्नु भन्दै कराए,’ लक्ष्मीप्रसादले सुनाए । श्रीमती र छोराले दिउँसो पनि फोन गरेर, ‘कहाँ आइपुग्नु भयो’ भनेर सोधेको सम्झिंदा उनी भक्कानिए ।

‘घरबाट कहाँ पुगिस् भनिरहन्छन्, आफू यहाँ केही नखाई बाटोमा बसेको छु,’ गहभरि आँशु टिलपिल पार्दै उनी बोले, ‘कसैले कोहलपुरसम्म भए पनि लगिदिए हुन्थ्यो, त्यहाँबाट जसोतसो लम्कीसम्म जान्थे ।’

कुराकानीपछि हामी निस्कियौं, अपरान्ह नागढुंगाबाट फर्किएर कलंकी पुग्दा दर्के झरी परिरहेको थियो । लक्ष्मीप्रसाद अझै सडक किनारमा गाडी कुरिरहेका थिए ।

अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय