शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको निर्णय नभईकन लुम्बिनी प्रदेशका आफ्ना सांसद हटाएर फर्जी काम भएको आरोप लगाएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै जसपा वरिष्ठ नेता महतोले पार्टीको कुनै कमिटीले आधिकारिक निर्णय नगरी कारबाहीका लागि गरिएको सिफारिसलाई सभामुखले स्वीकृत गर्नु गलत रहेको बताए।

‘पार्टीमा कुनै छलफल भएको छैन। म आश्चर्यमा परेको छु। यस्तो गलत काम कसरी भयो। प्रदेश सभाका बहुमत सांसद कारबाहीमा कसरी पर्न सक्छन्,’उनले भने,’यो प्रदेश सभाको मर्मविपरीत छ। यस्तो निर्णय कार्यान्वयनमा आउँदैन।’

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले भने लुम्बिनीमा कुनै पनि प्रदेशसभा सदस्यलाई कारबाही नभएको स्पष्ट पारेका छन्।

अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा पूर्व राजपा नेपाल र संघीय समाजवादी फोरमको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी रहेको तर प्रदेशसभामा दुबै संसदीय दलको समायोजन भई जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेससभासम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन भनिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदसहित जसपाका ४ जना मन्त्री बनेका थिए। मन्त्री बनेका सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जसपाको सिफारिसमा निलम्बन गरेको लुम्बिनी प्रदेश सचिवालयले सूचना निकालेको छ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादप पक्षले मन्त्रीबाट राजीनामा नदिए कारबाही गर्ने चेतावनी दिएको थियो।

अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भने मन्त्री बनेका सांसदहरूको निर्णयको स्वागत गरेको थियो।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय