शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चार सांसद निलम्बित भएका छन् ।

जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे निलम्बनमा परेको बिहीबार प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत जानकारी दिएका हुन् ।

ती निलम्बित सांसदहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टामै वैशाख ६ गते तीनजनालाई मन्त्री र एकजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुमध्ये एकजनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् ।

पाण्डेयले भौतिक पूर्वाधार विकास मन्त्रालय, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय र रायमाझीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।

पार्टी नीति र निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेको भन्दै जसपाको लुम्बिनी प्रदेश संसदीय दलले वैशाख ७ गते कारबाही प्रक्रिया अघि बढाएको थियो । जसपा संसदीय दलका नेता सहसराम यादवले चारैजना सांसदलाई छुट्टाछुट्टै रुपमा २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

लुम्बिनी प्रदेश सरकार र मन्त्रिपरिषद्‌प्रति विश्वास छैन भन्ने जसपाको लुम्बिनी प्रदेश समितिको चैत २६ को बैठक निर्णय र वैशाख ६ गतेको संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको निर्णय किन उल्लंघन गरेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ (क) र २ बमोजिम ह्विप उल्लंघन किन गरेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको थियो ।

प्रदेश सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३(१) बाट निर्वाचित सदस्य पाण्डेय, बाँके क्षेत्र नं. २(१) बाट निर्वाचित सदस्य यादव, समानुपातिक बन्दसूचीबाट निर्वाचित सदस्य रायमाझी र पाण्डेलाई प्रदेश सभा सदस्य र पार्टी सदस्य पदबाट निष्कासन गरेको व्यहोरा जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा संसदीय दलले बिहीबार प्रदेश सभा सचिवालयमा जानकारी गराएपछि उनीहरुलाई निस्काशन गरिएको सचिवालयको सूचना पाटीमा टाँस गरिएको छ ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय