शुक्रबार , बैसाख ७, २०८१

पोखरा

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनुअघिकै छलफलमा अनुपस्थित राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफ्नो पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रष्ट गरेका छन् ।

संसद‍्मा अनुपस्थित भएर अस्पताल भर्ना भएका उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएको आरोप लागेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा उनी अनुपस्थित हुँदामात्रै मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव असफल हुने थियो ।

सोही उद्देश्यबाटै शाही अनुपस्थित भएको आरोप लागेकोमा अस्पतालबाटै बिहीबार विज्ञप्ति जारी गरी पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।

‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै छ,’ सांसद शाहीले भनेका छन्, ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरी दिनु हुन म सम्पूर्ण दाजुभाइ दिदीबहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहन्छु ।’

राष्ट्रिय जनमोर्चाका सांसद शाहीको अनुपस्थितिको कारण देखाउँदै सभामुख नेत्रनाथ अधिकारीले बुधबार एक्कासि सदन स्थगन गरेका थिए । अविश्वास प्रस्तावको पक्षमा १ जना सांसदले मात्रै पनि मतदान नगर्दा गुरुङ सरकार जोगिन्थ्यो ।

कार्यसूचीसमेत प्रकाशित गरी बुधबार पौने २ बजे संसदको बैठक सुरु भएको थियो । बैठक सुरु भएपछि ११ जना सांसदले प्रस्तावमाथि बोलिसकेका थिए । त्यतिन्जेलसम्म कोरोना संक्रमित ४ र एकजना अर्का सांसद अनुपस्थित थिए ।

२० मिनेटका लागि स्थगित संसदमा जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो पार्टीका सांसद शाहीको अवस्था अज्ञात रहेको भनी निवेदन दिएको र उनी सार्वजनिक नभएसम्म सदन नचलाइयोस् भनेर निवेदन दिएको हुँदा सदन स्थगित गरिएको सूचना प्रदेश सभा सचिवालय सचिव हरिराज पोखरेलले प्रकाशित गरेका थिए ।

कोरोना संक्रमण भएपछि एमाले सांसद राजीव पहारी र प्रभा कोइराला एवं कांग्रेस सांसद मनकुमारी गुरुङ पनि अपराह्नसम्म अनुपस्थितै थिए । तर राजमोकी सांसद थापाको निवेदनकै आधारमा सदन स्थगन भएको छ ।

संसद स्थगनको सूचना आउनुअघि नै राजमो सांसद कोरोना संक्रमित भई चरक अस्पतालको आइसियुमा भर्ना भएको सार्वजनिक भइसकेको थियो ।

२ वैशाखमा २८ सांसदको हस्ताक्षरसहित कांग्रेस, माओवादी र जसपाले दर्ता गरेको अविश्वास प्रस्ताव पारित हुन ती दलले ३ सांसद भएको राजमोको साथ मिल्ने विश्वास गरेका थिए ।

राजमो केन्द्रीय कमिटीले अविश्वासको पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । १ स्वतन्त्र सांसदको पनि मुख्यमन्त्रीलाई साथ छ ।

सांसदले हस्ताक्षर गरी स्वकीय सचिव मिलन हमालद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ,

म खिमविक्रम शाही राष्ट्रिय जनर्मोचाको तर्फबाट गण्डकी प्रदेश, बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित प्रदेश सभाको सदस्य हो । मिति २०७८ वैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने थियो ।

तर म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु ।

हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्प्रष्ट गर्ने नै छु ।

अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामिक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु हुन म सम्पूर्ण दाजुभाइदिदी बहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहन्छु ।

साथै पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पाटी निर्णय प्रति प्रतिबद्वता कायमै छ ।

मेरो स्वास्थ्यप्रति गम्भीर भई उपचारमा सहयोग गर्नुहुने स्वास्थ्यकर्मी, स्वास्थ्यप्रति चासो र चिन्ता प्रकट गर्नु हुने मेरा पार्टीका नेता, प्रदेश सभाका माननीयज्यूहरु, अग्रज साथीहरु र सम्पूर्ण शुभचिन्तकमा धन्यवाद प्रकट गर्दछु ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय