शुक्रबार , चैत्र १६, २०८०

नर्सिङ कर्मचारी आकांक्षासिंह राठौर महाकाली अस्पतालको कोभिड वार्डमा थिइन्। तीन दिनअगाडि एक जना पुरुष स्वाँ-स्वाँ गर्दै आइपुगे।

उनलाई स्ट्रेचरमा राखेर इमर्जेन्सी वार्डबाट ल्याइएको थियो।

ती पुरुष कोरोना संक्रमित थिए। उनको शरीरमा अक्सिजनको मात्रा ६० प्रतिशतमात्र थियो।

‘हामीले तुरून्तै उहाँलाई अक्सिजनमा राख्यौं। उहाँको श्वासप्रश्वासको गति एक्कासि तलमाथि भयो। पछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार सुरू गर्‍यौं,’ उनले भनिन्।

त्यो घटनाले राठौरलाई अहिले पनि झस्काउँछ।

‘जति कोशिश गरे पनि उहाँलाई पहिलाको अवस्थामा ल्याउन सकेनौं। उहाँको मृत्यु भयो,’ उनले भनिन्।

मान्छे बाँच्नका लागि यतिसम्म प्रयास गर्ने रहेछ भन्ने उनले तिनै पुरुषलाई देखेर थाहा पाइन्। उनलाई बचाउन नसकेको कुराले राठौरलाई अहिले पनि पोल्छ।

‘अस्पतालमा बिरामीहरू छटपटाई रहेका हुन्छन्। कोही हात समात्दा-समात्दै मर्छन्। आफ्नो तनाव छुट्टै छ। परिवारको तनाव अर्कै छ,’ उनले भनिन्।

आइसियूमा त्यस्ता दृश्य देखेकी उनलाई बाहिर केही मानिसले कोरोनामाथि गरिरहेको हेलचक्र्याइँ देखेर दु:ख लाग्छ।

‘भित्र हामीले यसरी काम गर्नु परिरहेको छ तर बाहिर मान्छे अहिले पनि बिना कुनै सावधानी हिँडिरहेका छन्,’ उनले भनिन्।

अस्पताल आउने सबैलाई आफूहरूले परिवारको सदस्यझैं सेवा दिने उनले बताइन्।

‘ती बुबाको अनुहार मलाई प्रस्टै याद छ। हामी यहाँ आएका सबैलाई आफ्नो परिवारको मान्छे जसरी नै सेवा दिन्छौं,’ उनले भनिन्।

ती पुरुष अस्पताल पुग्दा उनलाई नमस्कार गरेर ढोग्न आएका थिए। ‘बचाइदिनुस्’ भन्दै बिन्ती गरेका थिए।

‘मलाई बचाइदिनुस्, तपाईं नै भगवान हो भनेर नमस्कार गरेको मलाई याद छ,’ उनले भनिन्।

अहिले अरू दर्जनौं बिरामी दैनिक यस्तै गरी अस्पतालमा कोरोनासँग लडिरहेका छन्।

महाकाली अस्पतालको आइसियूमै चार जना संक्रमितको मृत्यु भइसकेको छ।

राठौर बिहान ८ देखि बेलुका ५ बजेसम्म ड्युटीमा हुन्छन्। नाइट ड्युटीले १३ घन्टासम्म पिपिईमा काम गर्नु परिरहेको छ।

धनगढीको सेती प्रादेशिक अस्पतालका डाक्टर पवन जोशी कोरोना उपचार भवनमा जाँदा नयाँ संक्रमित नआऊन्, अस्पतालमा भएका निको भएर जाऊन् भन्ने सोचेर जान्छन्।

उनी अस्पतालभित्र पसेपछि कोही छट्पटाएका, कोही कमजोर भएर सुतिरहेका, कोही अक्सिजनको सहायतामा, कोही आइसियूमा त कोही भेन्टिलेटरमा हुन्छन्।

‘अस्पतालमा छटपटाइरहेका, बाँच्नका लागि तड्पेका, हात जोड्दै मलाई बचाउनुस् भनिरहेका हुन्छन्,’ उनले भने।

उनलाई सेतो पिपिई लाइसकेपछि डर हट्छ, मेरो काम यही हो, मैले ज्यान बचाउनु पर्छ भनेर आत्मबल बलियो पार्छन्।

‘बिमारीको अवस्था बुझ्छु, खाना, दिसापिसाब भए/नभएको सोध्छु, कस्तो महशुस भइरहेको छ? सोधेर औषधी दिने, अक्सिजनको मात्रा हेर्ने काम गर्छु,’ उनले भने।

बिरामीको अवस्थाबारे नर्सिङ कर्मचारीसँग, बिरामी र कुरूवासँग काउन्सिलिङ गर्ने काम पनि गर्नुपर्छ।

‘जो अलि गम्भीर छन्, उनीहरूलाई ध्यान दिइन्छ,’ उनले भने।

उनी काम गर्ने कोभिड वार्ड, कोभिड आइसियू संक्रमितले भरिएको छ। अक्सिजन पुगिरहेको छैन। कर्मचारीको पनि कमी छ।

‘बिरामीहरू कोही अक्सिजनमा हुन्छन्, अक्सिजन चाहिएका केहीले पाएका हुँदैनन्। उनीहरूका आफ्ना मान्छेहरू के हुने हो भन्ने चिन्तामा हुन्छन्, संख्या बढी भएर बिरामी म्यानेज गर्न सकिएको छैन,’ उनले भने।

बिरामीलाई अक्सिजनको अभाव हुँदा, बेड नहुँदा उनको मन दुख्छ।

‘बिरामीलाई मैले पनि केही गर्न सकिनँ भनौं भने हतोत्साहित भइहाल्छन्, त्यसैले सान्त्वना दिएर व्यवस्था गर्नतिर लाग्छौं,’ उनले भने।

बिरामीहरूले सोध्ने प्रश्न उही हुन्छ- निको हुन्छ कि नाइँ, कति दिन लाग्छ होला?

‘हेर्दार्हेर्दै मृत्यु भएको अवस्था छ। त्यो देखेर त आँसुमात्रै झर्न बाँकी हुन्छ हाम्रो पनि,’ उनले भने।

एकै वार्डमा सँगै रहेकामध्ये एक बिरामी मरेको खबर अरूलाई सुनाउँदैनन्।

‘बिरामी आफैं समस्यामा हुन्छ, अर्काको अवस्था थाहा पाए झन् असहज होला भनेर खबर गर्दैनौं,’ उनले भने।

अहिले स्वास्थ्यकर्मीले कोभिड वार्डमा बिरामीसँग गर्ने व्यवहार फरक भएका छन्।

‘हामीले बिरामीलाई स्पर्श गरेर, अंकमाल गरेर, पटक-पटक हेरेर उपचार गर्नु पर्नेमा अहिले सक्दो कम भेट्नु परेको छ, दूरीमा रहनु परेको छ,’ उनले भने।

कोभिड वार्डमा रहँदा पानी पनि नखाने र बाथरूम पनि नजाने प्रयासमा उनीहरू हुन्छन्।

बेलुका अस्पतालबाट निस्कँदा बिरामीलाई आफ्नो पालो सकियो, अरू आउनुहुन्छ, नआत्तिनुस् भनेर जान्छन्।

अस्पतालमा रहेका बिरामीहरू मरेको देखेर उनी जस्ता स्वास्थ्यकर्मी चिन्तित छन्।

‘डाक्टर र नर्स नै बिरामीको अन्तिम अवस्थामा सँगै हुन्छन्, हामीले नै छोडर जाने कुरै आएन,’ उनले भनिन्।

अहिले कोभिडको उपचारमा खटिएका स्वास्थ्यकर्मी परिवारबाट आफूलाई टाढै राख्न चाहन्छन्। जोखिम भएकाले परिवारसँगै बस्ने रहर बिर्सेर उनीहरू फोन, अनलाइनबाटै आफन्तसँग नजिकिन्छन्।

उनीहरू परिवारका महत्वपूर्ण क्षणमा सहभागी हुन पाउँदैनन्।

महाकाली अस्पतालकी नर्सिङ स्टाफ राठौरका बुवाको बुधबार जन्मदिन थियो। अहिले उनी बिदा लिन मन नै नलागेको बताउँछिन्।

‘आज बुवाको जन्मदिन हो, मन छ तर जाँदैन,’ उनले भनिन्।

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै सुदूरपश्चिम प्रदेश उच्च जोखिममा छ।

दिनहुँ कोरोनाका बिरामी बढेका छन्, उनीहरूको अवस्था दिनदिनै गम्भीर हुँदै गएको छ। कतिले ज्यान गुमाएका छन्। तर गम्भीर संक्रमितको उपचारका लागि अस्पतालमा चाहिने सुविधा अभाव छ।

संक्रमितको उपचारका लागिपरेका यहाँका अस्पतालहरूले जसोतसो तानतुन गरेर व्यवस्थापन गर्दै आएको भए पनि अब त्यसो गरेर पनि सम्भव नभएको बताएका छन्।

धनगढीको सेती प्रादेशिक अस्पतालपछि धेरै संक्रमित भएको प्रदेशको दोस्रो महाकाली अस्पतालमा पनि बेड, अक्सिजन, आइसियू र भेन्टिलेटरको अभाव हुँदै जान थालेको अवस्था छ।

दैनिक अस्पतालमा संक्रमित आउने क्रम बढेपछि जनशक्ति र उपकरण अभावबारे सम्बन्धित निकायमा पत्राचार गरिसकेको अस्पताल प्रशासनले जनाएका छन्।

महाकाली अस्पतालका सूचना अधिकारी नारद भट्टले थप व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रदेश सरकार र जिल्लाको कोभिड व्यवस्थापन समितिमा कुरा सुनाइसकेको तर, के गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बताए।

‘हामीले बेड, स्वास्थ्यकर्मी, अक्सिजनका लागि सिलिन्डरलगायत आवश्यक स्रोत थप गर्ने भन्ने कुरा गरेका छौं, छलफल भइरहेको छ निर्णय आएको छैन’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय