बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

प्रतिपक्षी दल कांग्रेसले सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि जनता समाजवादी पार्टीको एउटा समूहले आफ्नो कित्ता क्लियर गरेको छ ।

संसद पुनःस्थापना भएको झण्डै दुई महिनापछि प्रतिपक्षी कांग्रेसको माओवादी केन्द्रसहितको दलको समन्वयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी छ ।

यसका लागि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आजै बोलाइएको छ । बैठकले उपनिर्वाचनसँगै देशको सत्ता समीकरणबारे पनि छलफल गर्नेछ ।

कांग्रेसको यस्तो तयारीसँगै जसपाका महन्थ ठाकुर र उनीनिकट सांसदहरुले भने सरकारलाई समर्थन गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

ओली सरकारले मधेस आन्दोलनमा उठाउँदै आएको माग पूरा गर्ने प्रक्रियामा गइसकेको बताएपछि जसपाभित्र पूर्व राजपाले सरकारलाई सहयोग तयारी गरेको हो ।

स्रोतका अनुसार ओली सरकारलाई सहयोग गर्न महन्थ ठाकुरले २२ सांसदलाई मनाइसकेका छन्।

ओली सरकारले ठाकुर नेतृत्वको समूह सरकारमा सहभागी भए ८ मन्त्रालयसहित दिने प्रतिवद्धता जनाएको छ।

यसका साथै मधेस आन्दोलनताका लगाइएका मुद्दा र रेशम चौधरीको मुद्दा पनि प्रक्रियागत रुपमा टुंग्याउने प्रधानमन्त्री ओली र ठाकुरबीच सहमति भएको छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएपछि जसपा अध्यक्ष ठाकुर जाने तयारीमा रहेको स्रोतले जनाएको छ । तर जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव भने कुनै हालत ओली सरकारलाई समर्थन नगर्ने अडानमा छन् ।

सरकारबाट निकालेपछि चिढिएका यादवले ओलीलाई सरकारबाट हटाएर बदला लिने तयारीमा जुटेका छन् । यसका लागि अध्यक्ष यादवले आफ्ना नजिकका सांसदलाई मात्रै नभइ ठाकुर नजिकका सांसदलाई समेत फकाउने कोसिस गरिरहेका छन् ।

स्रोतका अनुसार पछिल्लो समय उनी सांसदहरुसँग भेटघाटसँगै विभिन्न लोभ दिएर प्रलोभनमा पार्ने खोजिरहेका छन् ।

२३ फागुनमा सर्वोच्च अदालतले नेकपालाई साविककै दलमा फर्काइदिएपछि जनता समाजवादी पार्टीभित्र विवाद सुरु भएको थियो ।

सरकार टिकाउने वा हटाउने खेलमा निर्णायक बनेपछि समर्थन गर्ने वा नगर्ने विषयलाई जसपामा चुलिएको विवाद अन्तिम समय आएर दुई खेमा विभाजित भइसकेको छ।

जसपामा अध्यक्ष ठाकुरको नेतृत्वमा एउटा समूह बलियो बनेको छ। अर्का अध्यक्ष यादवको नेतृत्वमा अर्को गुट बनेको छ ।

जसपामा अहिले ३२ सांसद छन् । जसमध्ये १६ जना पूर्व राजपा र १६ जना पूर्व सपाबाट सांसद छन् ।

तर अध्यक्ष ठाकुरले भने उपेन्द्र यादव नजिकका केही सांसदलाई आफ्नो पक्षमा ल्याएर सरकारमा जान लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय