बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

करिब दुई दशकअगाडि क्रिकेट र फुटबलका अब्बल खेलाडीमा जनकपुरधामका खेलाडीहरू पनि पर्थे। यहाँका खेलाडीसामु राष्ट्रिय टिमका खेलाडीले समेत कयौं पटक पराजय भोगे। अहिले जनकपुरधामका ती खेलाडीमध्ये केहीले आफ्नो सीप बिर्सिसके। कोही अरू नै पेसामा गुजारा चलाइरहेका छन्।

जनकपुरधामको खेल जगत चम्काउनेमध्येका एक हुन् पूर्व खेलाडी अशोक दत्त। अहिले साहित्यकार एवं पत्रकारका रूपमा पहिचान बनाएका दत्त कुनै समय क्रिकेटको बलिङमा खप्पिस मानिन्थे। क्रिकेटमा धारिलो बलिङ गर्ने दत्तसामु धेरै खेलाडी खेल्न हिचकिचाउँथे।

‘सुरूमा बलरका रूपमा जनकपुर अञ्चलको टिममा स्थान पाएको थिएँ,’ दत्तले भने, ‘पछि ब्याटिङमा पनि राम्रो गरेँ अनि मलाई अलराउन्डर बनाइयो।’

अलराउन्ड प्रदर्शन क्रममा उनको टिमले राष्ट्रियस्तरमा गोल्ड तथा सिल्भर मेडल जित्न सफल भएको थियो। अब्बल दर्जाका क्रिकेटरका रूपमा पहिचान बनाएकै कारण दत्तले जनकपुर चुरोट कारखानामा जागिर पाएका थिए। कारखानाले तत्कालीन समयमा विभिन्न खेलमा आवद्ध राम्रा खेलाडीहरूलाई जागिर व्यवस्था गरेको थियो।

तर अहिले उनले खेल र यो जागिर दुवै छाडेर पत्रकारिता र साहित्य क्षेत्रलाई आफ्नो बनाएका छन्।

देशमा राजनीतिक अवस्था परिवर्तन हुँदा नागरिकलाई सुखद परिणामको आश हुन्छ। त्यस्तै आश दत्तले बहुदलीय प्रजातन्त्र आउँदा राखेका थिए। तर प्रजातन्त्र आवागमनसँगै उनले एक खेलाडीका रूपमा गुमाएको साख कहिल्यै भुल्न नसक्ने घाउजस्तै भएको उनले बताए।

‘बहुदलीय प्रजातन्त्र आउँदा हामी एकदमै आशावादी थियौं,’ पूर्व खेलाडी दत्तले भने, ‘तर एक खेलाडीका रूपमा मेरो अवनति त्यहीँबाट सुरू भयो।’

उनका अनुसार देशमा नयाँ व्यवस्थासँगै जनकपुर चुरोट कारखानामा नयाँ खिचातानी देखिन थाल्यो। कारखानाले विस्तारै जागिरमा राखेका खेलाडीको सम्झौता पनि तोड्दै गयो। यही क्रममा, २०५० सालमा राजविराजमा क्रिकेट प्रतियोगिता भएको थियो। त्यहाँ देशभरका क्रिकेट टोली सहभागी भए। दत्त पनि जनकपुर अञ्चल टिमको प्रतिनिधित्व गर्दै सामेल भए। विजेता पनि उनकै टोली भयो।

त्यो दिन जनकपुर अञ्चल टोलीका लागि सुखद थियो। दत्तका लागि भने आफूलाई सबभन्दा मनपर्ने खेल त्याग्नुपर्ने कालो दिन बन्यो, ‘त्यो दिन हाम्रो टोलीले प्रतियोगिता जितेपछि मैले मसँग भएको क्रिकेट बल, प्याड सहित अरू सामग्री आफ्ना जुनियर खेलाडीलाई दिएँ।’

उनी अहिले पनि आफूले खेल क्षेत्र त्याग्नुमा सरकारलाई दोषी मान्छन्।

‘सबै मैले खेलमा नराम्रो प्रदर्शन गरेकाले खेल्न छाडेँ भन्थे,’ दत्त भन्छन्, ‘तर कसैले सरकारी उदासिनता देखेनन्।’

खेलमा भविष्य सुरक्षित नदेखेकैले आफ्नो सपना तुहाएर साहित्य र पत्रकारिता अँगालेको उनको भनाइ छ। क्रिकेट करिअरमा पूर्णविराम लगाएपछि उनी पत्रकारिता र साहित्य लेखनमा सक्रिय भए। अहिले उनी जनकपुरधामको सामुदायिक रेडियो स्टेसनका रूपमा रहेको जानकी एफ.एम.मा काम गर्छन्।

जनकपुरधाम उपमहानगरपालिका-७ का ६३ वर्षीय दिनेश सिंहको कथा पनि दत्तकै जस्तो छ। उनी कुनै बेला जनकपुरमा फुटबलका चर्चित खेलाडी मानिन्थे।

सिंहलाई पनि जनकपुर चुरोट कारखानामा जागिर दिइएको थियो। तर प्रतिभावान् मानिएका खेलाडी सिंह अहिले खाजा पसल चलाएर परिवारको जीविकोपार्जन गरिरहेका छन्। जनकपुरधामको कवर्ड हल नजिकै उनले सानो माटोको झुपडी बनाएका छन्। खाजा-नास्ता पसलमा उनी आफैं समोसा, कचौरी (प्याज, खुर्सानी र बेसन राखेर बनाइएको परिकार) बनाउँछन्।

‘दैनिक पाँच सय जति कमाइ हुन्छ,’ सिंहले भने, ‘यसैबाट परिवार धान्दै आएको छु।’

उनले कारखानामा ११ वर्षजति काम गरेका हुन्। पछि कारखानाले आर्थिक रूपमा धान्न छाडेपछि उनी सहित कयौंलाई रोजगारबाट हटायो। त्यसयता उनी खाजा पसलबाटै गुजारा चलाइरहेका छन्।

सिंह फुटबलर हुँदा कारखानाको आफ्नै फुटबल टिम थियो। टिममा आफूसँगै अभयकान्त झा, वीरेन्द्र लामा, राजु थापा, ठक्कन साह लगायत खेलाडी पनि भएको उनी बताउँछन्।

‘देशका अन्य टोली प्रतिस्पर्धा गर्न आउँदा हामी दोब्बर मेहनत गर्थ्यौं,’ सिंहले भने, ‘अब्बल खेलाडी भएकैले कतिपयले कारखानाको टिमलाई राष्ट्रिय टिमसम्म भन्थे। यहाँसम्म कि देश-विदेशमा फुटबल खेल्न जाँदा यही टिमका कतिपय खेलाडीले नेपालको प्रतिनिधित्व गरेका थिए।’

उनले भने विदेशमा खेल्ने मौका पाएको भारतमा मात्रै हो। तर देशका धेरै ठाउँमा भएका प्रतियोगितामा सहभागी भएको उनी बताउँछन्।

फुटबलमा सिंहले दिएको सट्सबारे राम युवा कमिटीका पूर्व उपाध्यक्ष परमेश्वर साह भन्छन्, ‘दिनेश सिंह सेन्टरमा गज्जब तरिकाले फुटबल खेल्थे। सेन्टरमा उनको तुलनामा कोही पनि थिएन।’

एक उत्कृष्ट खेलाडीको पहिचान बनाए पनि सिंहले सरकारी सम्मान पाएनन्। अनि खेलेर पारिवारिक जीवन धान्न नसक्ने देखेपछि उनी यस क्षेत्रबाट पलायन भएको बताउँछन्।

‘जागिरे हुँदासम्म कहिल्यै पनि बाध्यताले मेरो सपना खोस्ला भन्ने लागेन,’ उनले भने, ‘तर जब कारखानाको जागिरबाट हटाइयो, म विकल्पहीन भइसकेको थाहा पाएँ। त्यतिबेला आफ्नो सपना त्याग्नु नै उचित थियो।’

अतीत राम्रो भए पनि वर्तमान कष्टकर रहेको सिंह बताउँछन्। राष्ट्रियस्तरसम्म खेलिसकेका खेलाडीका लागि विगतका सरकारले केही नगरेकामा उनलाई गुनासो छैन। तर संघीयता आएपछि पनि कुनै सरकारको नजर पूर्व खेलाडीमा नपरेकामा उनी दुःखी छन्।

‘खेल क्षेत्रमा गरेको सेवावापत सम्मान त गरिएन नै, निवृत्तिभरण व्यवस्थासम्म पनि भएन,’ उनी दुखेसो गर्छन्।

वेट लिफ्टिङका पूर्व राष्ट्रिय खेलाडी अमरचन्द्र अनिल पनि खेल विकासका लागि तीन तहका सरकारमध्ये कसैले चासो नलिएको बताउँछन्।

‘केन्द्र सरकारले त माया मारिसक्यो। प्रदेश र स्थानीय सरकारले खेल र खेलाडीले उचित स्थान दिने आश गरेका थियौं,’ समाजसेवी समेत रहेका अनिलले भने, ‘तर कुनै सरकारले केही गरेनन्।’

खेल क्षेत्रमा सरकारले चासो नदिएकै कारण नयाँ पुस्ताका धेरै अब्बल खेलाडी गुमाउनुपर्ने अवस्था आएको उनी बताउँछन्।

अब्बल मानिने जनकपुरधामका धेरै खेलाडीले देशमा शासन व्यवस्था फेरिएपछि खेल क्षेत्रमा सुधार आउने विश्वास गरेका थिए। जनकपुर चुरोट कारखानाले खेलाडीका लागि रोजगारी सिर्जना गर्दा कारखानाको साख र खेलाडीको ऊर्जा बढाएको पूर्व क्रिकेट खेलाडी सञ्जय ठाकुर बताउँछन्।

‘कारखानाले ऊर्जावान् खेलाडीलाई जागिर दिएकै कारण त्यतिबेला कयौं युवा खेलमा आकर्षित थिए,’ ठाकुरले भने, ‘जागिर भएपछि परिवार चलाउन समस्या हुन्थेन। त्यसैले खेलाडीहरू आफ्नो खेलस्तर बढाउन अहोरात्र मेहनत पनि गर्थे।’

२०४६ सालसम्म कारखाना र जनकपुरधामको खेल जगत दुवैको भविष्य उज्वल देखिन्थ्यो। बहुदलीय व्यवस्था आएसँगै दुवैको अवनति सुरू भएको यहाँका जागिरे रहेका पूर्व खेलाडीहरू बताउँछन्।

उनीहरूका अनुसार कारखाना सञ्चालनमा राजनीतिक हस्तक्षेप बढ्दै गयो। विस्तारै कुनै समय चार हजार बढीलाई जागिर दिने क्षमता राखेको कारखाना तलब दिन नसक्ने अवस्थामा पुग्यो।

अहिले जनकपुर चुरोट कारखाना बोर्डमा मात्र सीमित छ। यसको भवनमा प्रदेश सरकारका मन्त्रालय तथा मन्त्रीहरूको आवास बनिसक्यो।

दत्त, सिंह, ठाकुर कारखानाको जागिर र खेलसँग जोडिएका प्रतिनिधि मात्रै हुन्। अरू कयौं खेलाडी खेलमा आर्थिक सुधारको बाटो नदेखेरै अन्य पेसामा आवद्ध छन्।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय