दैनिक १६ घन्टा बिरामी उपचार गरेर आफैं कोरोना संक्रमित भएका डाक्टरको भोगाइ

काठमाडौं ।
कोरोनाको दोस्रो लहरले आक्रान्त बाँकेमा संक्रमितले अस्पतालहरू भरिभराउ छन्। बिरामीलाई आइसियू बेड पाउन मुश्किल हुन थालेको छ।

यसबीच मंगलबार सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भयो। त्यो थियो, नेपालगन्ज मेडिकल कलेजका डाक्टर विनोद प्याकुरेलको तस्बिर जसमा भर्खरै पञ्जाबाट निकालिएका उनका हात पसिनाले बाफिएर खुम्चिएका थिए। ती हातले संक्रमितको उपचारमा खटिँदाको मेहनत देखाउँथ्यो।

स्वास्थ्यकर्मीहरूले काममा खटिँदा मास्क, पिपिई र ग्लोब्स अनिवार्य लगाउनैपर्‍यो। डा. प्याकुरेलले पनि हातमा तीनवटा ग्लोब्स लगाउने गर्थे। त्यसमाथि नेपालगन्जको गर्मी, जसले शरीर बाफिएर पानीको मात्रा कम हुन पुग्यो।

‘ग्लोब्सभित्र पसिना धेरै आयो, तर त्यो पसिना बाहिर निस्कन पाएन। भित्रै बाफिएर हातहरू त्यस्तो भएका हुन्,’ उनले भने, ‘हामीले लगाउने चश्मा र मास्कले अनुहारमा पनि घाउहरू छन्। पिपिईले हातगोडा लगायत शरीरका विभिन्न भागमा त्यस्तै फोका बनेका छन्।’

उनले त्यसलाई डाक्टरको कर्तव्यसँग तुलना गरे।

‘हामीले काममा खटिँदा दुःख, कष्ट, भोक, प्यास, निद्रा सबै सहनुपर्ने हुन्छ,’ उनले भने, ‘बिरामी छटपटाएको, रोइकराई गरेको दृश्य एउटा डाक्टरले हेरेर बस्नै मिल्दैन।’

डाक्टरको पहिलो जिम्मेवारी सकभर बिरामीको ज्यान बचाउनु हो भन्ने उनलाई लाग्छ।

‘यो महामारीको समय चिकित्सक र स्वास्थ्यकर्मीले व्यक्तिगत सुखदुःखको जोडघटाउ गरेर बस्ने होइन,’ उनले भने, ‘हामीले बिरामीको उपचार गर्छौं, सेवा गर्छौं, उनीहरूको ज्यान जोगाउँछौं भनेर नै दुःख गरेर पढेका हौं। यस्तो बेला जतिसक्यो खट्नु स्वास्थ्यकर्मी र डाक्टरहरूको जिम्मेवारी हो।’

संक्रमण फैलिएसँगै उनी दिनको १६ घन्टासम्म संक्रमितको उपचारमा खटिएका थिए। त्यही क्रममा उनलाई पनि कोरोनाले समात्यो।

लामो समय बिरामीको उपचारमा खट्दा डा. प्याकुरेलका हातका जोर्नी दुख्न थालेका थिए। उनले त्यसलाई अनिदो र आराम गर्न नपाएकाले होला भन्ठानेका थिए।

वैशाख १० गते बिहान उठ्दा उनलाई हल्का ज्वरो आयो। त्यसपछि उनले शंका लागेर स्वाब परीक्षण गराउन दिए। उनलाई मंगलबार संक्रमण पुष्टि भयो।

कलेजका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भए पनि विचलित नभएर काम गर्नुपर्ने अवस्था रहेको उनले बताए। बाँकेका कोरोना फोकल-पर्सन तेज वलीका अनुसार यहाँ करिब सय जना चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित छन्।

‘मेरो अवस्था सामान्य छ,’ डा. प्याकुरेलले भने, ‘म कोरोना जितेर फेरि संक्रमितको उपचारमा पहिलेजस्तै खटिने छु।’

उनले लगातार सात दिन दैनिक १६ घन्टा बिरामीको रेखदेख र उपचार गरेका थिए। मंगलबार स्वाबको रिपोर्ट पोजेटिभ आएपछि उनी आइसोलेनमा बसेका छन्।

२८ वर्षीय प्याकुरेलले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा काम गर्न थालेको तीन वर्ष भइसकेको छ। नेपालगन्जमै पढेका उनले त्यहीँबाट काम सुरू गरेका थिए।

पुर्खौली घर दैलेख भए पनि डा. प्याकुरेलको परिवार काठमाडौं बस्दै आएको छ। उनका आमाबुवा र परिवारका अन्य सदस्यले पटक-पटक फोन गरेर उनलाई कोभिडबाट जोगिएर काम गर्न भनिरहन्थे।

‘हरेक आमाबुवाले आफ्ना बच्चाबच्चीलाई त्यस्तो भन्नुहुन्छ नै,’ प्याकुरेलले थपे, ‘आफू मात्रै बचेर त भएन, एउटा डाक्टरले जस्तोसुकै कठिन अवस्थामा बिरामीलाई बचाउने कोशिस गर्नु उसको कर्तव्य हो।’

उनका अनुसार, वैशाख ३ गतेसम्म मेडिकल कलेजको अस्पतालमा बिरामीको उति चाप थिएन। उनी ड्युटीमा जाँदा ४/५ जना कोराना संक्रमित बिरामी मात्र आइसियूमा थिए। सामान्य वार्डमा बिरामी थिएनन्। ड्युटीमा तीन जना चिकित्सक थिए। उनीहरूले आलोपालो गरे। त्यो रात त्यति धेरै ड्युटी गर्नु नपरेको उनी बताउँछन्।

तर, ४ गते बिहान नहुँदै आइसियूमा कोरोनाका २१ जना बिरामी भर्ना भइसकेका थिए। आइसियू सबै प्याक थियो। बिरामी थपिँदै गएपछि अस्पतालले बेड थप्यो। ७/८ वटा आइसियू बेड तुरून्तै बनाइयो। अर्को दिन ती सबै प्याक भए।

अस्पतालले माथिल्लो तलामा पनि अक्सिजनसहितका र अक्सिजनरहित बेड थप्यो। ती सबै बेड भरिए। बिरामी आउने क्रम जारी रह्यो। नयाँ बिरामीले बेड पाउनै मुश्किल हुन थाल्यो।

‘बिरामीहरू मलाई सास फेर्न गाह्रो भयो भन्दै छटपटाउने, चिच्याउने, कराउने, बर्बराउने गरिरहन्थे,’ डा. प्याकुरेलले भने, ‘त्यो समय हामीले घन्टौं खटेर काम गर्‍यौं, कम्तिमा १५/१६ घन्टा बिरामीको उपचारमा खटियौं।’

संक्रमण ह्वात्तै बढेपछि बिहानैदेखि बिरामी रेखदेख गर्नुपर्ने र रातभर पनि बिरामी हेर्नुपर्ने परिस्थिति बनेको उनले बताए।

कोभिडको एक जना बिरामी हेर्न कम्तिमा आधा घन्टा लाग्ने हुँदा तीन जनाले ७७ जना बिरामी हेर्न निकै समय खट्नुपरेको उनको भनाइ छ।

पिसिआर रिपोर्ट बेलुकीपख आउने हुँदा साँझ ४/५ बजेदेखि राति अबेरसम्म नयाँ बिरामी थपिने क्रम जारी रहन्छ।

‘मैले रातभर बिरामीले सास फेर्न गाह्रो भयो भन्दै कराइरहेको सुनेको छु,’ उनले भने, ‘कति बिरामी त हामीले भेन्टिलेटरमा सार्दासार्दै मृत्युको मुखमा पुगेका थिए। आँखैअगाडि जवान युवाहरू मृत्युको मुखमा पुगेको देख्दा निकै नमजा लाग्थ्यो।’

एक जना २८ वर्षका युवकको मृत्युले आफूलाई अहिले पनि नमजा लागिरहेको उनले बताए।

आइसियू बेड नपाएर ती युवकलाई वार्डमा भर्ना गरिएको थियो। उनी गाह्रो भयो भन्दै थिए। उनलाई राउन्ड मिलाएर आइसियूमा सार्ने प्रयास भइरहेको थियो। डाक्टरहरू उनलाई नआत्तिनू भन्दै सम्झाइरहन्थे।

‘उहाँ एक्कासि बेहोस हुनुभयो। हत्तपत्त भेन्टिलेटरमा राखे पनि बचाउन सकिएन। त्यो घटनाले मलाई नराम्रोसँग बिथोलेको छ,’ उनले भने।

सामान्य आइसियू र वार्डमा भन्दा फरक दृश्य सघन कक्षमा देखिने उनले बताए।

‘हामीले भेन्टिलेटरमा राख्दा राख्दै बिरामीहरू मृत्युवरण गरिरहेका हुन्थे। त्यो देख्ने अरू बिरामी अब मेरो पालो हो कि भनेजस्तै डराएर तन्ना, ब्ल्यांकेट ओढेर सुत्ने गरेको कारूणिक दृश्यले हामी डाक्टरसमेत आत्तिन्थ्यौं,’ प्याकुरेलले भने।

बिरामी र डाक्टरको मनोबल उच्च राख्न सरकारले पनि काम गर्नुपर्ने उनको भनाइ छ।

यस्तो महामारी बेला सरकारले चिकित्सकको सल्लाहअनुसार योजना बनाउन उनी जरूरी देख्छन्। नेतृत्व दूरदर्शी र व्यवहारिक भएको भए भारतमा महामारी फैलिएको थाहा पाएपछि यहाँ सतर्क रहनुपर्थ्यो भन्ने उनलाई लाग्छ।

‘भारतमा कमजोरी के भयो भनेर त्यहीँका चिकित्सकसँग छलफल गर्न सक्नुपर्थ्यो,’ उनले अगाडि भने, ‘नेपालगन्ज इपिसेन्टर बन्दै गर्दा यहाँका चिकित्सकसँग राज्यले छलफल गर्नुपर्थ्यो। नेपालगन्जमा कमजोरी के भयो? कहाँनेर हामी चुक्यौं? त्यसको खोजी हुनुपर्थ्यो अनि तथ्य पत्ता लगाएर अन्यत्र त्यस्तो हुन नपाओस् भनेर तयारी गर्नुपर्थ्यो।’

डा. प्याकुरेल कोरोना भाइरसलाई खेलाँची नठान्न सर्वसाधारणलाई पनि आग्रह गर्छन्।

‘जसले भोग्छ त्यसलाई पीडा थाहा हुन्छ,’ उनले भने, ‘सबैले स्वास्थ्य मापदण्ड पालना गरौं, सही रूपमा मास्क लगाऔं र साबुनपानीले पटक-पटक हात धुने गरौं।’ सेतोपाटी

२०७८ बैशाख १६, बिहीबार ०५:१२ गते 1 Minute 92 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार