शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

टीकापुरका पदम मल्ल सामान्य अवस्थामा एक हजार चार सय रूपैयाँ बस भाडा तिरेर काठमाडौंबाट धनगढी जान्थे। तर बुधबार मल्लले दुई हजार तिर्नुपर्‍यो।

काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा हुने भएपछि बाहिर जाने बस टिकट अभाव भएसँगै उनी साविकभन्दा बढी भाडा तिर्न बाध्य भएका हुन्।

‘दुई हजार तिरेर पनि मुश्किल मात्रै गाडी पाइयो। त्यो पनि सिटमा होइन, क्याबिनमा भनेको छ। उभिएर जानुपर्ने होला,’ मल्लले सेतोपाटीलाई सुनाए।

सरकारले उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बर्दियास्थित गुलरिया पुग्न टिकट काटेका अनिल थारूले पनि चर्को भाडा तिर्नुपरेको छ।

‘पहिले ११ सयमा लैजान्थ्यो, अहिले १६ सय लिएको छ,’ उनले भने, ‘भाडा महँगो भए पनि जसरी गाउँ जानै पर्ने छ।’

सल्यानका कमल बस्नेतले रूकुमको थामारेसम्म जाने गाडी मात्रै पाए। त्यो पनि अलिकति महँगै भाडामा। उनीसहित पाँच जना साथीका लागि काटिएको टिकटमा चार हजार पाँच सय रूपैयाँ बुझाएको देखिन्छ।

सामान्य अवस्थामा प्रतिव्यक्ति आठ सय रूपैयाँ लाग्ने उनले बताए। सोही स्थानका लागि हेमराज सुनार र उनका साथीलाई भने प्रतिव्यक्ति एक हजारका दरले टिकट उपलब्ध गराएको भेटिएको छ।

सानी नानी च्यापेर बसपार्कमा उभिइरहेकी रोल्पाकी रमिला बिक उभिएरै भए पनि गाउँ फर्कन तयार थिइन्।

‘काठमाडौं बसौं, कहिलेसम्म बन्द हुने हो, थाहा छैन। उभिएर भए पनि जानैपर्‍यो,’ रोल्पाकी बिकले सुनाइन्, ‘उभिएर जाँदा १७ सयसम्म र बसेर जानेलाई दुई हजार भाडा लाग्छ रे। बस्ने सिट छैन। उभिएर जाँदा पनि भाडा महँगो छ।’

उनका अनुसार सामान्य अवस्थामा रूकुम जान १६ सय भाडा लाग्थ्यो।

बुधबार गोंगबु बसपार्कमा भटिएका यी व्यक्ति अहिले आफ्नो घरगाउँ फर्कने क्रममा बस भाडा बढी तिर्ने प्रतिनिधि मात्रै हुन्।

उनीहरू जस्ता हजारौं यात्रु साविकभन्दा बढी भाडा तिरेर काठमाडौं बाहिर गएका छन्। व्यवसायीले यात्रुसँग मनलाग्दी बस भाडा उठाएको उनीहरूको भनाइ छ।

बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगायत स्थानमा उपत्यका छाड्नेहरूको भिड छ। गाउँ फर्कन चाहने सबैले टिकट पाउन सकेका छैनन्।

कतिपय यात्रु काउन्टरसम्म पुगेर फर्किएका छन् भने केही उभिएर भए पनि लामो दुरीको यात्रा गर्न बाध्य छन्।

यात्रु खचाखच भएर टिकट अभाव भएको मौकामा यातायात व्यवसायीले फाइदा उठाएको यात्रुहरूको गुनासो छ। सामान्य अवस्थामा भन्दा प्रतिव्यक्ति एक सयदेखि झन्डै दोब्बरसम्म भाडा लिएको यात्रुहरूले बताए।

यस सम्बन्धमा हामीले बसपार्कका केही काउन्टरका कर्मचारीहरूसँग सोध्यौं। उनीहरूले महामारीको समयमा नियमित चल्ने गाडीसँगै अन्य गाडी थपिएकाले भाडा महँगो पर्न गएको दावी गरे।

‘अहिले गाडी नै छैनन्। केही लोकल गाडीहरू पनि हामीले मिलाएर हालेका छौं। अरू गाडी थप्दा भाडा महँगो नै परेको छ,’ सल्यान-रुकुम यातयात प्रालिका टिकट काउन्टर इन्चार्ज शान्तकुमार डाँगीले भने।

महामारीमा गाउँ फर्कनेको भिड बढेको मौकामा व्यवसायीले मनलाग्दी भाडा असुल्दा सरकारले नियमन गर्न सकेन। पोहोर सरकारले गरेको पहिलो लकडाउनताका धेरै मानिस समस्यामा परेका थिए।

-लामो समय सबै व्यापार-व्यवसाय र यातायात ठप्प हुँदा खानै समस्या भएपछि पैदल यात्रा गरेर मानिसहरू गाउँ फर्किएका थिए। फेरि सोही समस्या दोहोरिने डरले यतिबेला महँगै भाडा तिरेर जोखिम मोल्दै धेरैले उपत्यका छाडेका छन्।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय