निषेधाज्ञापछि काठमाडौंको डेरै छाडेर गाउँ फर्किए उनीहरू

काठमाडौं ।

बुधबार साँझ ५ बजे, गोंगबु बसपार्कमा काठमाडौं बाहिर जानेहरूको निकै भिड थियो। सबै आफ्ना झोला-पोका भिरेर गाउँ फर्किन हतारिएका देखिन्थे।

त्यही भिडमा एक ठाउँ टन्नै सामान थुपारिएको थियो- ठूला जेब्रा झोला, म्याट, बोरा, ओढ्ने-ओछ्याउनेसहित भिर्ने झोलाहरू। कुनै कोठाको पूरा सामानभन्दा कम्ती थिएन।

सामानमाथि साना केटाकेटी बसेका थिए। उनीहरूलाई फकाउँदै एक महिला बस आउने बाटो हेरिरहेकी थिइन्।

‘दुई बजेको टिकट भनेको, पाँच बजिसक्यो। श्रीमान बुझ्न जानुभएको छ। यो बेलासम्म आउनुभएन। गाउँ जान नपाइने हो कि क्या हो,’ उनले अत्तालिँदै भनिन्।

उनी हुन् रुकुम आठबीसकोटकी कल्पना परियार। काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा हुने भनेपछि उनको परिवार रुकुम फर्किन लागेको रहेछ। उनीहरू अब कहिले फर्किन्छन्, टुंगो छैन। किनकी उनीहरू काठमाडौंको डेरा नै छाडेर जाँदै रहेछन्।

डेरै छाडेर किन फर्कन लाग्नुभएको?

हाम्रो प्रश्नमा कल्पनाले भनिन्, ‘भोकले मरिन्छ कि भनेर।’

काठमाडौं कल्पनाजस्तै भोक मेट्नकै लागि संघर्ष गर्नेहरूको पनि सहर हो। यहाँ एक दिन काम नपाउँदा बिहान-बेलुका के खाने भनेर सोच्नुपर्ने अवस्था आउँछ। त्यसैले कल्पना र उनका श्रीमान विनोद परियार कोरोना निषेधाज्ञा अगाडि नै आफ्ना साना छोराछोरी सहर छाड्न हतारिएका छन्, डेरै छाडेर।

‘नआऊँ भन्दा पनि आउनै पर्ने यो सहर,’ कल्पनाले भनिन्, ‘तर के गर्नु काम नभए खान पाइँदैन। श्रीमानको काम हिजैदेखि छैन।’

कल्पनाको परिवार पोहोरको लकडाउनभन्दा पछाडि काठमाडौं छिरेका हुन्। उनीहरूलाई यहाँ आउने रहर थिएन। परिस्थिति त्यस्तै आइलाग्यो। उनीहरूका बालख छोरा बेलाबेलामा बिरामी हुन थाले। गाउँमा अस्पताल छैन। उपचारका लागि काठमाडौं धाइराख्नुपर्ने भयो।

‘छोरालाई निमोनिया भइरहन्थ्यो। गाउँमा अस्पताल छैन। काठमाडौंमा जचाउँन ल्याउँदा अस्पतालले मुटुको भल्भमा प्वाल छ भन्यो,’ कल्पनाले भनिन्, ‘उपचारका लागि बेलाबेला धाइराख्नुपर्ने भएपछि हामीले यतै बस्ने सोच्यौं।’

उनीहरू बसुन्धारामा डेरा गरी बस्न थाले। तर बाध्यताले डोर्‍याएर केन्द्रीय राजधानी छिरेका उनीहरूलाई यहाँ टिकिरहन सजिलो भएन। विनोद ज्यामी काम गर्थे। दिनभरी काम गर्दा दैनिक आठ सय रूपैयँ कमाइ थियो।

कोठा भाडा चार हजार आठ सय महिनामा बुझाउनपर्ने। त्यसमाथि छोरा बेलाबेलामा बिरामी भइरहने हुँदा उपचार खर्च पनि जोहो गर्नुपर्‍यो।

सधैंजसो काम भइरहँदा पनि विनोदले कमाएको दैनिक आठ सयले खर्च चलाउन मुश्किल थियो। श्रीमानको कमाइले मात्रै खर्च नधानेपछि कल्पनाले पनि काठमाडौंमा काम खोजिन्। धेरै भौंतारिएपछि बल्लतल्ल एउटा घरमा सफाइको काम पाएकी थिइन्, महिनाको तीन हजार पाँच सय रूपैयाँ दिने कुरा थियो।

कल्पनाले काम पाएको ६ दिन मात्रै भएको थियो।

एक साता पनि काम गर्न नपाउँदै निषेधाज्ञा घोषणा भयो।

‘श्रीमानको काम मंगलबारदेखि नै नहुने भयो। अब कहिलेदेखि काम हुने भन्ने टुंगो छैन,’ उनी भन्छिन्, ‘मेरो तीन हजार पाँच सयले त के गर्ने? के खाने? कोठा भाडा कसरी तिर्ने? सम्झिँदै दिक्क भएपछि मैले काममा अब आउँदिनँ भनेँ। अनि डेरा छाडेर हिँड्यौं।’

सरकारले हाल एक साता निषेधाज्ञा घोषणा गरे पनि कम्तीमा १५ दिन गर्नैपर्ने भनेको छ। कल्पना र विनोदलाई भने पहिलो लकडाउन जसरी समय लम्बिने हो कि भन्ने डरले पनि काठमाडौं छाड्न बाध्य बनाएको हो।

‘अर्काको घरमा ताल्चा लगाएर गएका बेला निषेधाज्ञा लम्बिँदै गयो भने कोठा भाडा कहाँबाट तिर्नु?,’ उनले भनिन्, ‘बरू गाउँमा त सरसापट-पैंचो अझै चल्छ भनेर हामी सामान पोको पारेर हिँडेका हौं।’

कल्पनालाई यो सहर फेरि फर्किने मन त छैन। तर छोराको उपचार गराउनुपर्ने छ। यसअघि उपचार गराउँदा लागेको एक लाखभन्दा बढी ऋण पनि तिर्न बाँकी छ।

अब अवस्था सामान्य भयो भने फेरि काठमाडौं छिरेर संघर्ष गर्ने, ऋण तिर्ने र छोराको उपचार गराउने परियार दम्पत्तिको योजना छ।

कल्पना भन्छिन्, ‘अब एक वर्षसम्म औषधि खुवाउँदा ठीक भएन भने अपरेसन गर्नु पर्छ भनेको छ। अवस्था कस्तो हुन्छ कुन्नि! गाउँमा छोरा बिरामी पर्‍यो भने फेरि ऋण काढेर काठमाडौं फर्किनु पर्छ।’

कल्पनासँग कुराकानी गर्दागर्दै साढे पाँच बजिसकेको थियो। बस खोज्न गएका उनका श्रीमान विनोद पनि आइपुगे।

‘सिट छैन। मुडामा बसेर जानुपर्ने रे। गाडी आयो जाऊँ,’ विनोद हस्याङफस्याङ गर्दै सामान बोकेर बस भएतर्फ दौडिए। कल्पना र साना छोराछोरी पनि पोका बोकेर विनोदकै पछि लागे।

सेतोपाटी

२०७८ बैशाख १६, बिहीबार ०४:४३ गते 1 Minute 197 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार