शनिबार , अषोज ३०, २०७८

काठमाडौँ

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा सुरु हुँदै छ । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।

सडकमा गुडेका सवारी नियमन र अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ७२ ठाउँमा नियमित चेक प्वाइन्ट र ५६ स्थानमा ‘ब्यारिकेड’ सहितको डेडिकेटेड चेक प्वाइन्ट स्थापना गरेको छ । ब्यारिकेट सडकमा बार लगाएर सवारी आवागमन नियमनका लागि गरिएको चेकिङ पद्धति हो ।

ब्यारिकेड भएको स्थानबाट सहजै सवारीसाधन भाग्ने सम्भावना हुँदैन । अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना गर्न प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको पहिलो दिनका गतिविधि र आदेश पालनाबारे विश्लेषण गरी थप रणनीति बनाइने बताए ।

‘कोरोना महामारीविरुद्ध लिइएको निषेधाज्ञासम्बन्धी मन्त्रिपरिषद्का निर्णय र उपत्यकास्थित तीनवटै जिल्ला प्रशासनका आदेश कार्यान्वयनका लागि अत्यावश्यकबाहेकका बजार, आवागमन, यातायात र मानिस ओहोरदोहोरमा यो स्वाभाविक किसिमको बन्देज हो,’ प्रवक्ता दाहालले भने, ‘पहिलो दिन कुन रूपमा आदेश पालना वा उल्लंघन हुन्छ, त्यसकै आधारमा आगामी रणनीति बन्छ ।’

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले उपत्यकामा निषेधाज्ञालाई सफल पार्न करिब २ हजार जनशक्ति फिल्डमा खटिएको बताए । फिल्डमा खटिएका र ब्यारेकमा रिजर्भ रहेका फौजलाई एकअर्कामा संक्रमण जोखिम हुन नदिन छुट्टाछुट्टै मेस र बासस्थानको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलसिंह राठौरले निषेधाज्ञामा तीनवटै जिल्ला प्रहरी र रिजर्भ फोर्स गरी करिब ३ हजार ५ सय जति जनशक्ति खटाइएको बताए । राजधानी प्रवेश गर्ने नाकामा प्रहरी र सशस्त्रको संयुक्त चेक प्वाइन्ट स्थापना गरिएको छ ।

उपत्यकाभित्र भने एकअर्काबीच काममा दोहोरोपन नहुने गरी एरिया विभाजन गरी जिम्मेवारी बाँडफाँट गरिएको राठौरले बताए । उनका अनुसार सडकमा चेक प्वाइन्ट, पिकेट, मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोसाकका सुरक्षाकर्मीलाई फरक–फरक भूमिकामा परिचालन गरिएको छ ।

पैदल र सवारीबाट उपत्यका प्रवेश गर्न थानकोट, फर्पिङ, जगाती, तीनपिप्ले/मुड्खु भन्ज्याङ, जर्सिङ पौवा, कात्तिके, चिसापानी, गुर्जुभन्ज्याङलगायत नाका प्रयोग हुने गरेका छन् । त्यसमध्ये थानकोट, जगाती, फर्पिङ प्रमुख नाका हुन् । निषेधाज्ञा उल्लंघन रोक्न सडक/गल्ली र चोकचोकमा सुरक्षाकर्मी खटिनेछन् ।

जनपद, ट्राफिक र सशस्त्र प्रहरीले आ–आफ्ना जिम्मेवारी क्षेत्रभित्र जनचेतनामूलक ब्यानर, निषेधाज्ञासम्बन्धी सन्देशलगायत लेखिएका पर्चा सामग्रीसहित सडकमा चेक प्वाइन्ट खडा गरेका छन् ।

अनुमतिवाहकले पनि सवारीमा देखिने गरी सेवा दिने क्षेत्र उल्लेख गरी परिचयपत्र भिरेर हिँड्नुपर्नेछ । प्रहरी र सशस्त्रले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा डोरी टाँगेर होल्डिङ सेन्टर बनाएका छन् ।

अत्यावश्यक सेवा र अनुमतिवाहकबाहेकका सवारी र पैदलै मानिसको आवागमन भएमा नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राख्न तीनवटै प्रशासनले प्रहरी र सशस्त्रलाई निर्देशन दिएका छन् ।

 

आरआरटी परिचालन

निषेधाज्ञा पालना भए/नभएको अनुगमन गर्न तीनवटै प्रशासनले आ–आफ्ना क्षेत्रमा सहायक प्रजिअ र आवश्यकताअनुसार अन्य अधिकारीको संयोजकत्वमा र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) अन्तर्गत संयन्त्र परिचालन गरेका छन् ।

त्यस्तै खाद्य सामग्री, स्वास्थ्य सामग्री, सुरक्षा, सवारी पास, इन्धनलगायत दैनिक उपभोग्य वस्तु आपूर्ति, खरिद–बिक्री, कालोबजारी र कृत्रिम अभाव नियन्त्रणलगायतको अनुगमन र नियमन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि र गृहका सहसचिव तथा वाणिज्य विभागका महानिर्देशक सम्मिलित ५ सदस्यीय आरआरटी गठन भएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए ।

आपूर्ति व्यवस्थापन सहसचिव प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजीकरण गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल, कृषि तथा पशुजन्य सामग्रीको आपूर्ति हेर्न कृषि मन्त्रालयका सहसचिव डा. श्रीराम घिमिरे, उत्पादनशील उद्योग हेर्न उद्योगका सहसचिव नारायणप्रसाद दुवाडी, वैदेशिक व्यापारको हकमा सहसचिव डा. नारायणप्रसाद रेग्मी रहेको टिम गठन गरिएको हो ।

निषेधाज्ञाको मौकामा कालोबजारी र मूल्य वृद्धि गरे/नगरेको बुझ्न राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई पनि फिल्डमा खटाइएको छ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले ३ दिनअघिबाटै निषेधाज्ञा घोषणा गरिएको र पूर्वसूचना जानकारी गराउँदा गराउँदै आदेश उल्लंघन गर्नेलाई नरम नीति अपनाउन नसकिने चेतावनी दिए ।

उनले भने, ‘निषेधाज्ञाबारे कसैले मलाई थाहै भएन भन्छ र जनस्वास्थ्य प्रतिकूल गतिविधि गर्छ भने उसलाई कैद र जरिवाना हुन्छ, नरम नीति अपनाउन सकिँदैन ।’

भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा मानव जनस्वास्थ्य प्रतिकूलका गतिविधि नियन्त्रण र महामारी रोकथामका लागि लागू गरिएकाले यसको पालना गर्ने दायित्व पनि सबैको भएको बताए ।

‘महामारीको यो कठिन समयमा संक्रमणको चेन ब्रेक गर्नु छ, यो हामी सबैको एकीकृत पहलले मात्रै सम्भव छ,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुको अभाव हुन दिँदैनौं ।’

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय