मंगलबार , चैत्र ६, २०८०

काठमाडौं ।

बिहीवारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने घोषणापछि काठमाडौं छाड्नेको संख्या बढेको छ ।

कोरोनाको दोस्रो लहर फैलिएपछि सोमवार बसेको उपत्यकाका तीनओटै जिल्लाका प्रमुखको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेपछि सोही दिनदेखि आआफ्नो गन्तव्यतर्फ जाने यात्रुको भीड बढेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी श्यामकृष्ण अधिकारीका अनुसार सोमवारदेखि बुधवार साँझ ६ बजेसम्ममा १ लाख ४७ हजार ७५ जना टिकट काटेर बाहिरिएका छन् ।

टिकट नकाटेर जानेको संख्या बढी रहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले करीब ५ लाखले उपत्यका छाडेको अनुमान गरेको छ ।

बुधवार साँझसम्म उपत्यकाका नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, बालाजु लगायत क्षेत्र तथा नाकाहरूमा बस पर्खिनेको भीड थियो ।

गतवर्ष जस्तै बन्दाबन्दी लम्बिने त्रासले विद्यार्थी, कर्मचारी, श्रमिक, मजदूरले हतारहतार काठमाडौं उपत्यका छाडेका हुन् ।

महासंघले अलपत्र यात्रुलाई घर पु¥याउन अझै केही दिन सर्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ ।

काठमाडौंसहित कोरोना प्रभावित जिल्लामा स्थानीय निकायले निषेधाज्ञा लगाउन थालेपछि घर फर्किनेको संख्या ह्वात्तै बढेको छ ।

यस्तोमा उनीहरूलाई सहज ढंगले गन्तव्यमा पुर्‍याउन केही समय सवारीसाधन चल्न दिनुपर्ने माग महासंघले गरेको हो ।

उपत्यका छाडेर घर जान चाहने अधिकांश यात्रुले गाडी पाउन नसकेको महासंघका महासचिव सरोज सिटौलाले बताए ।

‘काठमाडौं छाड्न केही समय मात्र दिँदा ठूलो संख्यामा यात्रु निस्किए,’ उनले भने, ‘तर बस अभाव हुँदा धेरै यात्रु बाटोमै अलपत्र परेका छन् ।’

कोभिड संक्रमण फैलिएपछि सरकारले यसअघि २०७६ चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी गरेको थियो ।

त्यतिबेला सरकारले मजदूररश्रमिकलाई उचित राहतको व्यवस्था नगर्दा र सार्वजनिक यातायातको व्यवस्था पनि नगरिदिँदा उनीहरू टाढा टाढाबाट भोकभोकै हिँडेर गाउँ फर्किन बाध्य भएका थिए ।

‘सर्वसाधारण यात्रु, मजदूररश्रमिकहरू बाटोमै अलपत्र पर्ने जोखिम बढेको छ,’ सिटौलाले भने, ‘दुई चार दिन थपेर उनीहरूलाई सहज रूपमा घर पुर्‍याउने वातावरण मिलाउन सकिन्थ्यो ।’

यातायात सञ्चालनमा सहजीकरण गरिदिन आफूहरूले गृह मन्त्रालय र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पनि अनुरोध गरेको उनले बताए ।

आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय