मंगलबार , बैसाख ४, २०८१

काठमाडौं

कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागु गरेको छ।

अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि प्रहरीले सडकमै कारबाही गर्नेछ।

निषेधाज्ञा लागु भएपछि बिनाकाम सडकमा निस्कने, भीडभाड गराउने, कोरोनाको जोखिम बढाउनेलाई प्रहरीले कारबाही गर्नेछ।

निषेधाज्ञा नमान्नेलाई सडककै एक घण्टा उभ्याएर छाड्ने तयारी गरिएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले निषेधाज्ञा लागु गराउन उपत्यकामा करिब २ हजार प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार प्रहरीले बिनाकाम बाहिर निस्कनेलाई कारबाही गर्नेछ।

उनले भने, ‘बिरामी र अप्ठेरोमा परेकाहरूलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइन्छ तर बिनाकाम बाहिर निस्कन दिइँदैन।’

उनका अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियमको आधारमा प्रहरीले कडाइ गर्नेछ। अत्यावश्यक र तोकिएका सवारीसाधन भने गुड्न पाउनेछन्।

नागरिक दैनिकबाट

सङ्क्रमणको फैलावट उच्च

काठमाडौं ।

केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार बुधबार पुष्टि भएको सङ्ख्या अप्रत्यासित हो । बुधबार देशभर थप चार हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा चार हजार ७७४ जना र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जना गरी थप चार हजार ८९७ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि एक दिनमा पाँच हजार जना सङ्क्रमित भएका थिए । पहिलो लहरको कोरोना सङ्क्रमणमा विस्तारै बढेर पाँच हजारको सङ्ख्या छोएको थियो । अहिलेको सङ्ख्या केही दिनमै ह्वात्तै बढेको छ ।

अहिलेको सङ्ख्या वृद्धिले डराउनुपर्ने अवस्था आइसकेको बताउँदै सहप्रवक्ता डा अधिकारीले भने “कतै आईसीयू, भेन्टिलेटर र आइसोलेसन खाली छैनन् । यही अनुपातमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने अवस्था थप जटिल हुने निश्चित छ ।”

कोरोना सङ्क्रमणले उपत्यकालाई चापमा पारेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी दुई हजार ४७ जना एकै दिन थपिएका छन् ।

थप सङ्क्रमितसँंगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार २०९ पुगेको छ । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार मात्र थियो । यस्तै क्वारेन्टाइनमा ५४ जना रहेका छन् ।

त्यसैगरी हालसम्म १२ वटा जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित र १० वटा जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय