शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

एमाले इतर दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न थालेको कति भयो ? सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरे देखिनै उनीहरू ओलीको बहिर्गमन पर्खिरहेका छन् ।

तर उनीहरूले न त अविश्वास प्रस्ताव ल्याउन सकेका छन् न त माओवादीले नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादीले समर्थन फिर्ता नलिनुका पछाडि जे सुकै कारण भए पनि ओलीइतर सत्ता समीकरण बन्न नसक्नु नै मुख्य कारण हो । यसमा जनता समाजवादी पार्टीको रोल पनि महत्त्वपूर्ण छ । जसपाको एक पक्षले निरन्तर ओलीलाई साथ दिने बताइरहेको छ ।

माओवादीले ओलीको बहिर्गमनका लागि प्रयत्न गरे पनि काँग्रेस पनि खुलेर लागेको छैन । काँग्रेसले आधिकारिक रूपमा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरे पनि यसले केही मुद्दामा सुनिश्चितता खोजेको देखिन्छ ।

त्यो हो एमसीसी । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्र कार्की अर्थमन्त्री रहेको बेला एमसीसी सम्झौता भएको थियो । एमसीसी जसरी पनि पास गर्नुपर्ने देउवाको अडान छ । त्यही कारण उनी ओलीसँग पनि नजिक छन् ।

माओवादीमा यसबारे प्रस्ट छैन । माओवादीका केही नेताले एमसीसी जस्ताको त्यस्तै पास गर्न नहुनेमा छन् । यही कारण माओवादीले सभामुखमार्फत दुई वर्षदेखि एमसीसी रोकेर राखेको छ ।

योपनि

सत्ता जोगाउन ‘एमसीसीको टेको’

माओवादीसँग सत्ता गठबन्धनका लागि देउवाले माओवादीलाई एमसीसी पास गराउने सुनिश्चितता खोजेका छन् । माओवादी र काँग्रेस एमसीसीका पक्षमा आए ओली यसअघि नै एमसीसी पास गर्नुपर्ने अडानमा छन् ।

उनले सभामुखले एमसीसी संसद्मा प्रस्तुत नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । एमसीसीकै कारण विपरीत वैचारिक धारका काँग्रेस र माओवादीबिच सत्ता गठबन्धनको प्रयास भइरहेको छ ।

एमसीसीका विषयमा समान धारणा बनाएर ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत काँग्रेसले थालेको छ । ओलीविरुद्धको सत्ता गठबन्धनका विषयमा छलफल चल्दा काँग्रेस सभापति देउवाले आफ्नो नेतृत्वको सरकार एमसीसी पास गर्ने पक्षमा रहेको र माओवादीले पनि त्यसमा समर्थन गर्नुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन ।

जसरी पनि ओलीको बहिर्गमन खोजिरहेको माओवादी एमसीसीमा मध्यमार्गी बाटो अपनाएर भए पनि काँग्रेसलाई मनाउने मनस्थितिमा पुगेको छ ।

अविश्वास प्रस्ताव पास भएर देउवाको नेतृत्वमा सरकार बन्ने बित्तिकै एमसीसीबारे संकल्प प्रस्ताव पास गर्ने गरी सहमतिको खाका तयार गर्ने तयारी काँग्रेस माओवादीले गरेका छन् । एमसीसीका कतिपय प्रावधान स्पष्ट पारेर सहमति गर्न सकिने वचन माओवादीले दिएको छ ।

काँग्रेस माओवादी गठबन्धन सत्ता समीकरणका लागि मात्रै होइन आगामी चुनावसम्मै कायम रहेन माओवादी नेताहरू बताउँछन् । एमसीसी अनुमोदन गराउने पक्षमा काँग्रेस पहिलेदेखि नै भएकाले आफ्नो नेतृत्वमा सरकार बने पनि, नबने पनि त्यो विषय काँग्रेसको एजेन्डा बनिरहने काँग्रेस नेताहरूको भनाइ छ । यता जसपा पनि सत्ता गठबन्धनका विषयमा अन्तिम निर्णय गर्ने तयारीमा छ ।

एमसीसीका विषयमा जसपाका खासै विवाद छैन । तर, जसपाले काँग्रेस–माओवादीभन्दा ओलीलाई साथ दिने सम्भावना प्रबल छ । जसपाका संस्थापन महन्थ ठाकुर पक्ष निरन्तर ओलीलाई साथ दिन सकिने बताउँदै आएको छ । ठाकुरको जसपाका बहुमत रहेको पनि बताइन्छ ।

लामो समय सत्ता समीकरणका लागि कसरत गरेका काँग्रेस माओवादीलाई अन्ततः एमसीसीले जोड्ने देखिएको छ । यता ओली पनि एमसीसीलाई विषय बनाएर काँग्रेसको विश्वास जित्ने मनसायमा छन् ।

उनले केही दिनअघि भएको सर्वदलीय बैठकमा एमसीसी संसद्मा छलफलको विषय बनाइनुपर्ने बताएका थिए । जसमा काँग्रेसले पनि सकारात्मक प्रतिक्रिया दिएको थियो ।

यता माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नयाँ सत्ता समीकरणका विषयमा एमसीसीलाई जोडेर कुनै सहमति नगरिएको बताएका छन् । उनले नयाँ सरकार बनाउने सन्दर्भमा एमसीसी परियोजनासँग सम्बन्धित कुनै सम्झौता नगरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय