शुक्रबार , चैत्र १६, २०८०

भक्तपुर । भक्तपुर जिल्लामा सत्तारुढ एमालेका वडा सचिव भरत दुलालसहितका दर्जनौँ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले एमाले पार्टी परित्याग गरेर आएका नवप्रवेशीहरूलाई सदस्यता दिएर स्वागत गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा चागुनारायण नगरपालिकाको वडा नम्बर ८ का एमालेका वडा सचिव दुलालसहितका युवाहरूलाई पार्टीमा स्वागत गरेको नेपाल तरुण दल भक्तपुरका सदस्य राजु पुरीले जानकारी दिए ।

भक्पुर कांग्रेसका सभापति थापाले कम्युनिस्टहरूबाट जनता दिक्क भएको बताए । उनले जनतालाई कांग्रेसले साथ दिनेभन्दै विकासका लागि कांग्रेसले जित्नुपर्ने बताए ।

राजनीतिक स्थायित्व, समृद्धिको नारा दिएर कथित वाम गठबन्धनको नाममा एमाले र माओवादीले जनतालाई झुक्काएर झण्डै दुईतिहाइको बहुमत ल्याएको बताएका थापाले केपी ओलीनै राजनीतिक अस्थिरता निम्त्याउन लागेको बताए । उनले ओली र प्रचण्डहरूलाई सुध्रिन चेतावनी दिएका छन् ।

नवप्रवेशी दुलालले आफू नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा प्रवेश गर्न पाउँदा खुसी लागेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि आफूसहितको नवप्रवेशी एमालेको टिम कहिले पनि बिचलित नहुने बताए ।

दुलालले कांग्रेसको लोकतान्त्रिक संस्कारप्रति भक्तपुर मात्र नभइ देशभरि युवाहरूमा आकर्षण बढेर गएको बताएका छन् । उनले कम्युनिस्ट पार्टी एमालेमा लागेर ठूलो भुल गरेको बताए ।

झुठको खेती गर्ने कुरा गर्ने कम्युनिस्टहरूलाई जनताले राम्रोसँग चिनेको भन्दै दुलालले दुईतिहाइ बहुमत पाउँदा पनि कम्युनिस्टहरू सरकार चलाउन अफल भएको बताए ।

नवप्रवेशीहरूलाई सभापति थापाका साथै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उप–नेता कृष्णलाल भँडेल,सचिव निशान ढुङ्गेल, क्षेत्रीय नं. १ का सभापति जीवन खत्री, क्षेत्रीय सचिव जनक खत्री, नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य उमेश खड्कालगायतका नेताहरूले स्वागत गरेको तरुण नेता पुरीले बताए ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको गृहजिल्ला भक्तपुरमा एमालेभित्र बेलाबेला पहिरो जाने गरेको छ । एमाले छाडेर कांग्रेसमा प्रवेश गर्नेहरूको लहरनै चलेको छ ।

ओलीको गृहजिल्ला भक्तपुरमा एमालेभित्र विद्रोह भएपछि बालुवाटारलाई चिन्ताको विषय भएको छ ।

एमालेबाट प्रतिनिधि सभामा निर्वाचित सांसद महेश बस्नेतको क्रियाकलापबाट एमालेका कार्यकर्ताहरू असन्तुष्ट छन् । सांसद अपहरण, जग्गा प्लटिङ लगायतमा बस्नेतको नाम जोडिने गरेपछि एमाले भक्तपुरका कार्यकर्ताहरू चिन्तित बनेका हुन् ।

एमालेका वडा सचिव दुलालसहितका युवाहरू कांग्रेसमा प्रवेश गरेपछि सांसद बस्नेतसहितका नेताहरूलाई तनाब भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय