बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्सले हाम्रो अर्थतन्त्रलाई ठूलो भर दिएको छ। तर उनीहरूले त्यो पैसा कमाउन समस्याका भार पनि ठूलै उठाइरहेका छन्।

विदेशमा नेपालीले कामका सिलसिलामा भोग्ने समस्याका कारण धेरै छन्। यसमध्ये प्रमुख सम्बन्धित कामको सीप नहुनु पनि हो।सीप नभएकैले कम तलब पाएका र सास्ती खेपेका हजारौं नेपालीमध्ये एक हुन् धनुषा, सहिदनगर नगरपालिका-३ का विवेक यादव।

दस वर्षपहिले परिवार धान्न सहज होला भनेर कतार पुगेका विवेकलाई त्यहाँ गएर गर्ने कामबारे केही जानकारी थिएन।

‘आफूले सक्दो मेहनत गरेर कमाउँछु, आएको पैसा घर पठाउँछु भन्ने मात्रै थियो,’ विवेकले भने, ‘तर मेहनत गर्छु भनेर मात्र हुने रहेनछ। दुःखको पहाडै बोकेझैं भयो।’

विवेक एक संरचना निर्माणको काममा गएका थिए। उनले इँटा र सिमेन्ट बोक्नुपर्थ्यो।

‘त्यति बेला मेरो तौल नै ४५ किलो थियो। मैले बोक्ने इँटाको भारी पनि लगभग त्यति नै हुन्थ्यो,’ विगत सम्झिँदै विवेकले भने, ‘५० डिग्री सेल्सियससम्मको गर्मीमा आफ्नै वजन बराबर भारी बोक्नुलाई मेहनत भन्ने कि के?’

कतार जाँदा विवेक १६ वर्षका मात्र थिए। भर्खरै एसएलसी पास गरेका उनलाई अझ पढ्न मन थियो। तर घरको जिम्मेवारी लिनुपर्छ, आर्थिक अवस्था उकास्नुपर्छ भन्ने भयो। परिवारसँगै बसेर कमाउने रहर भए पनि एसएलसी मात्र पढेकाले उनलाई यहाँ राम्रो काम पाउँछु भन्ने लागेन।

‘मैले धेरै ठाउँमा काम खोजेँ। तर सबैले एसएलसी मात्रै पढेका रहेछौ, काम भए बोलाउँला भने,’ रोजगार खोज्ने क्रमको अनुभव उनले सुनाए, ‘अनि मैले बुझेँ, मजस्ता एसएलसी पासहरू धेरै बेरोजगार छन्। त्यसैले मन नभए पनि विदेश जानुको विकल्प देखिनँ।’

१८ वर्ष भएपछि काममा जान सहज हुन्छ भन्ने सोचेर उनले आफ्नो उमेर दुई वर्ष बढाएर नागरिकता बनाए। अनि कतार गए। घरमा सानो-तिनो काम पनि नगरेका उनलाई इँटा र ट्रकबाट सिमेन्टका बोरा झारेर बोक्नु कम्ता सकस भएन।

नेपालमा सिमेन्ट प्लास्टिक बोरामा आउँछ। कतारमा भने कागजजस्तै बोरामा आउने उनी बताउँछन्। यस्तो बोरा पिठ्युँमा उठाउँदा धेरैपटक ढाड तछारिएको छ उनको।

‘बाक्लो कागजको जस्तो बोरा बोक्दा कहिलेकाहीँ पिठ्युँ धसारिएर रगतसम्म निस्किन्थ्यो,’ उनी भन्छन्।

विदेशमा मजदुरका रूपमा जानेले आफ्नो शरीरलाई मेसिन मानेर काम गर्नुपर्छ। त्यसमा पनि थोरै गल्ती भए धेरै गाली खानुपर्ने विवेक बताउँछन्, ‘काम गरेकामा सराहना त परै जाओस्, तिरस्कार मात्र पाइन्थ्यो।’

विवेक तीन वर्षको करार सम्झौतामा काम गर्न गएका थिए। नियमअनुसार अवधि पूरा नगरी काम छाडे कामदारलाई कालोसूचीमा राखिन्छ। केही वर्षसम्म उक्त देश जान बन्देज पनि हुन्छ।

तर विवेकलाई कामको भारले समय कटाउन मुश्किल भएपछि नियमै तोडेर उनले राजीनामा दिए। २६ महिना कतारमा पसिना बगाएर उनी नेपाल फर्के।

‘त्यसपछि देशममै केही काम गर्ने योजना बनाएँ,’ उनले भने, ‘परिवारले पनि यहीँ बसेर काम गरोस् भन्ने चाहनुभएको थियो।’

उनी कतार जानुअघि जस्तैगरी कामको खोजीमा लागे। जागिर फेरि पनि हात लागेन। दिक्दार भएपछि साउदी अरब हानिए। साउदीमा कतारभन्दा सजिलो काम थियो।

उनका अनुसार उनी त्यहाँ क्याटरिङ कम्पनीमा काम गर्न गएका थिए। खाना सर्भिसको कामबाट मासिक १५ हजार रूपैयाँ कमाउँथे।

‘कतारभन्दा सजिलो भए पनि म्यानपावर कम्पनीले भनेअनुसार तलब पाइनँ,’ उनी भन्छन्, ‘कामको समय भने दस घन्टा पुर्‍याउनै पर्थ्यो। यतिका खटेर १५ हजार कमाउँदा आफैंलाई दिक्क लाग्थ्यो।’

उनी सोच्थे रे, यतिका दुःख र समय आफ्नै घरआँगनमा खर्चेको भए योभन्दा धेरै कमाइ हुन्थ्यो होला, सुखदुःखमा साथ दिने परिवार पनि सँगै हुन्थ्यो।

यसका बाबजुद उनले करिब दुई वर्ष त्यहाँ काम गरे।

‘अनि चाहिँ कहिल्यै विदेश नआउने बाचा आफैंसँग गरेर गाउँ फर्किने निधो गरेँ,’ उनले भने।

विवेकले यो बाचाको पहिलो कदम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदै गरे। सुरक्षाका सबै जाँच प्रक्रिया सकिएपछि त्यहीँ राहदानी च्यातेको उनी बताउँछन्।

दस वर्षअगाडिको कुरा सुनाउँदै उनले भने, ‘राहदानी च्यातिदिएँ अनि जस्तो सुकै परिस्थितिबाट गुज्रे पनि नेपालमै बसेर आयआर्जन गर्ने संकल्प गरेँ।’

साउदीबाट फर्केको केही समय उनी घरै बसे। एकदिन बजार घुम्दै जाँदा मित्र धनुषा नामक संस्थामा स्वयंसेवक चाहिएको विज्ञापन देखे। विदेशमा तीन वर्ष काम अनुभव भएकालाई स्वयंसेवकका रूपमा लिने विज्ञापन थियो त्यो।

उनी अहिले गरिरहेको कामको सुरूआती क्षणबारे बताउँछन्, ‘तलब भने ६ हजार मात्रै थियो। तर एकजना सरले मलाई निवेदन दिन कर गर्नुभयो। मैले पनि फारम भरिदिएँ।’

मित्र धनुषा संस्थाले धनुषाबाट विदेश जानेहरूलाई सीप सिकाउने, ठगीबाट जोगिने तथा वैदेशिक रोजगारीको क्रममा ठगिएकालाई सहयोग तथा मनोपरामर्श दिने काम गर्छ।

विवेकले वैदेशिक रोजगारी क्रममा आफूसँग सीप नभएकै कारण धेरै समस्या भोगिसकेका थिए। त्यसैले विदेश जानेई सीप सिकाउने काम उनलाई सहजै भयो।

त्यतिबेला सहिदनगर नगरपालिकाका १८ गाविसका विदेश जाने युवालाई सीप सिकाउने र सिक्न सही स्थानमा पुर्‍याउने उनको जिम्मा थियो।

गाउँका मानिसहरूलाई वैदेशिक रोजगारीबारे जानकारी दिँदै विवेक।
सहिदनगर नगरपालिकाको परामर्श केन्द्रको जिम्मेवारी सम्हालेपछि उनले वैदेशिक रोजगारीमा जाँदा ठगिनबाट बच्न अपनाउन सकिने उपायबारे जानकारी दिन थाले। विदेश उडान भर्न म्यानपावर कम्पनीलाई बुझाउने रकमको भर्पाइ लिन सिकाए।

‘म आफैंले सुरूमा विदेश जाँदा म्यानपावर कम्पनीलाई बुझाएको रकमको भर्पाइ लिएको थिइनँ,’ उनले भने, ‘भर्पाइ नहुँदा विदेशमा कसैले राम्रो काम पाएनन् र स्वदेश फर्के भने रकम फिर्ता गराउन एकदमै गाह्रो हुन्छ। बिना प्रमाण तपाईंले आफ्नो रकम उपर गर्न मुद्दा समेत गर्न सक्नुहुन्न।’

उनका अनुसार वैदेशिक रोजगारीमा जाने युवा बिचौलियाको फन्दामा परेर घरबारविहीन भएर बस्नुपरेका उदाहरण कयौं छन्। अधिकांश बिचौलिया विदेश उडाउन रकम लिँदा भर्पाइ दिन चाहँदैनन्। यसले गर्दा विदेश जान लिएको ऋणको ब्याज तिर्ने क्रममै कतिपयले आफ्नो सर्वस्व गुमाउनुपरेको छ।

यस्तो समस्या आइनपरोस् भनेर विवेकले गाउँका युवा तथा उनीहरूका अभिभावकलाई जाने देशबारे राम्ररी बुझ्न भन्छन्। अनि काम गर्ने संस्था र श्रमसम्बन्धी कागजात, सम्झौता-पत्र र भिसाको प्रतिलिपिका साथै टिकटको फोटोकपी सहितका महत्वपूर्ण कागजपत्र राख्न सुझाउँछन्।

यसरी मेहनतले काम गरेकैले उनी एक वर्षमा बढुवा भएर संस्थाका सिनियर रिटर्न भोलेन्टियर भए। सम्मान स्वरूप प्रशंसापत्र पनि पाए। बढुवा भएपछि उनले इलाका प्रहरी कार्यालय, यदुकोहामा रहेको आप्रवासी उपस्रोत केन्द्रमा काम थाले।

केन्द्रमा परामर्शदाता प्रमुख भूमिकामा रहे पनि जनशक्ति अभाव र आफू त्यहीँको स्थानीय भएकाले आफूलाई नै परामर्शदाताको जिम्मेवारी दिइएको उनले बताए।

उनका अनुसार परामर्शदाताले वैदेशिक रोजगार सम्बन्धी विभिन्न मुद्दा समेत हेर्नुपर्छ।

‘कोही वैदेशिक रोजगारीमा ठगिएका छन्, एजेन्टले पैसा लिएर उडान गर्न आनाकानी गरिरहेको, म्यानपावर कम्पनीले भनेअनुसार काम नपाएको वा वैदेशिक रोजगारी क्रममै ज्यान गुमाएका भए उनीहरूको क्षतिपूर्ति दिलाउनेदेखि मृतकको शव ल्याउनेसम्मका कामको पहल परामर्शदाताले गर्नुपर्छ,’ उनले भने।

विवेकले यसरी काम गरेको छ वर्ष भइसकेको छ। यस क्रममा उनले बिचौलिया, म्यानपावर तथा बीमा कम्पनीका विभिन्न प्रक्रिया पुर्‍याएर करिब १५ जना ठगीमा परेका तथा विदेशमै मृत्यु भएकाको क्षतिपूर्ति भराएका छन्।

यसका लागि उनलाई सहिदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरियाले समेत सहयोग गरेका उनी बताउँछन्।

नगरप्रमुख यादवले पनि विवेकलाई विदेशमा मृत्यु भएका दुई जनाको शव मगाउन लगाएका थिए। जसमध्ये एक सहिदनगरकै २५ वर्षीय सुनिल यादव थिए। सुनिलको नाकमा मासु बढेर शल्यक्रिया गराएको केही दिनमै कुवेतमा मृत्यु भएको थियो।

अर्का सहिदनगर, मतौना गाउँका युवा थिए जसको साउदीमा मृत्यु भएको थियो। यिनको शव ल्याउन विवेक आफैं काठमाडौं पुगेर आवश्यक प्रक्रिया पुर्‍याएको बताउँछन्।

‘मृतकका परिवारलाई साढे ७ लाख र ११ लाख क्षतिपूर्ति दिलाउन पनि सफल भयौं,’ विवेकले भने।

त्यस्तै विदेशमा फसेका गाउँकै दुई जनाको शव पनि विवेककै पहलमा मगाइएको आप्रवासी हकहित संरक्षण समितिका तत्कालीन सदस्य एवं सहिदनगर नगरपालिका-३ का वर्तमान वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डल बताउँछन्।

‘म वडाध्यक्ष हुनुअघि उक्त समितिमा आवद्ध थिएँ,’ वडाध्यक्ष मण्डलले भने, ‘वैदेशिक रोजगारीमा जानेहरूलाई सचेतना दिन वा ठगीबाट बचाउन विवेकको अलग्गै उत्सुकता थियो।’

उनका अनुसार विवेकले कानुनी प्रक्रिया पुर्‍याएर ठगीमा परेकालाई क्षतिपूर्ति दिलाउने मात्रै होइन, सकभर स्वेदशमै बसेर काम गर्न सल्लाह पनि दिन्छन्। विदेश जानैपर्ने बाध्यता भए कम्तीमा सीप सिकेर मात्र जान सुझाउँछन्।

अहिले विवेक मित्र धनुषाकै सुरक्षित आप्रवासन संस्थामा ‘फोकल पर्सन’का रूपमा कार्यरत छन्। फोकल पर्सनका रूपमा उनको ‘फोकस’ पनि एउटै छ- विदेश जान लागेकालाई सुरक्षित काममा पठाउने र उनीहरूलाई सकुशल स्वदेश फर्काउने। सेतोपाटी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय