बिहिबार , चैत्र १५, २०८०

२०७६ भदौ २० गते बिहान करिब ६ बजे विद्यालय जाँदै गरेकी किशोरी मुस्कान खातुनमाथि आपराधिक सोचाइ भएका केही युवाले एसिड अक्रमण गरे। अपराधीहरूले उनको मुस्कान (खुसी) खोस्ने हेतुले अनुहारमा तेजाब खन्याइदिएका थिए। तर त्यो घटनाले पीडा दिए पनि उनको मुस्कान भने खोस्न सकेन।

बरु मुस्कान आफू मात्र नभई आफूजस्तै पीडा भोगिरहेका अन्य पीडितहरूको पनि सशक्त आवाज बनेर निस्किन्। अपराधीमाथि कडा सजायको व्यवस्था गर्न आवाज उठाइन् र सफल पनि भइन्।

उनै मुस्कान साहसिक कदम र आत्मबलका कारण यो वर्षको ‘नागरिक नायक’ बन्न सफल भएकी छन्। मुस्कानसँग नागरिक नायक घोषणा कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले गरेको अन्तरक्रियाको सम्पादित अंश:

तपाईंले पहिले पनि भनिसक्नुभएको छ, अपराधीहरूले मुस्कान खोस्नका लागि आक्रमण गरेका थिए। तर अपराधीहरूलाई मुस्कानले पराजित गर्नुपर्छ भन्ने साहस कसरी जुटाउनुभयो ?

म एसिडको आक्रमणमा पर्दा एसिडको जलनले छटपटिइरहेकी थिएँ। अस्पतालको बेडमा पुग्दा म आफ्नो अनुहार पनि हेर्न सकिरहेकी थिइन्। तीन/चार महिनापछि मात्र मैले आफ्नो अनुहार हेर्न सकें र जलन र पीडासँगै अत्यन्तै दुःखसमेत लागेको थियो।

त्यो पीडा म यहाँ भन्न पनि सक्दिनँ। मलाई एउटा कुराले निकै सताइरहेको थियो। अपराधीले एसिड आक्रमण गरेर यति ठूलो दाग (अनुहारमा) बनायो। यो दाग लुकाएर हिँडे भने त्यो अपराधीको जित हुन्छ भन्ने लाग्यो।

तर मलाई अपराधीलाई जोगाउनु थिएन। आफूले जितेर देखाउनु थियो। किनभने मेरो के गल्ती थियो र मैले समाजमा अनुहार लुकाएर हिड्नु ? यो प्रश्न मेरो मनमा उठ्यो। म कहिले पनि लुकेर बस्दिन। त्यो अपराधीको सपना म कहिले पनि पूरा हुन दिँदैन भनेर अघि बढेकी हुँ।

तपाईंमाथि जुन प्रकारको घटना भयो त्यसबाट धेरै अघि आइसक्नुभएको छ। २०७६ भदौ २० गते बिहान ६ बजे स्कुल जाने बेलामा तपाईंमाथि एसिड आक्रमण भएको थियो। अहिले पनि त्यो क्षण सम्झनुहुन्छ कि त्यो बिर्सन चाहनुहुन्छ ?

त्यो पीडालाई म सम्झन चाहन्नँ। किनभने त्यो दिन मेरो लागि कालो दिन थियो। म स्कुल जाँदा तेजाब आक्रमण भएको थियो। त्यतिबेला म आफैलाई थाहा थिएन कि म माथि एसिड आक्रमण भएको थियो भनेर।

म अस्पतालको बेडमा पुगेपछि मात्रै एसिड आक्रमण भएको थाहा भयो। तर अहिले म त्यो घटनालाई बिर्सेर अघि बढ्न चाहन्छु। अहिले मभित्र आत्मबल र विश्वास आएको छ। यो विश्वास सबैको साथ सहयोग र हौसलाका कारण आएको हो। जसले गर्दा म यहाँसम्म आएकी छु।

त्यसबेला तपाईले भोग्नुपरेको पीडा त छँदैछ। अहिले पनि तपाईले एसिडले जलेको ठाउँमा पीडा महसुस गर्नुहुन्छ ? हो, अहिले पनि म हप्तामा एक पटक अस्पताल जानुपर्छ। तीन/तीन महिनामा सल्यक्रिया गर्नुपर्छ। छालाको सुरक्षाका लागि दिनमा पाँचपटक फिजियोथेरापी गर्नुपर्छ। अहिले पनि एसिडले जलेको ठाउँमा दुखाइ र पीडा हुन्छ। दुखाइ सहेर पनि फिजियोथेरापी गराउनुपर्छ। यो गरेन भने छाला खुम्चिँदै जान्छ। त्यसैले अहिले पनि म उपचाररत नै छु र लामो समयसम्म पनि उपचार चलिरहन्छ।

तपाइँ आफूले भोगेको समस्याबाट अघि बढेर साहसिक काम गर्नुभयो। यसको मूल्यांकन गर्दै यो वर्ष अमेरिकाले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार समेत प्राप्त गर्नुभयो।

कोरोना संक्रमण नभएको भए अमेरिकी प्रथम महिलाबाट उक्त पुरस्कार ग्रहण गर्नुहुन्थ्यो होला। तपाईंले उहाँहरूसँग भर्चुअल माध्यमबाट कुरा गर्नुभयो। त्यतिबेला कस्तो महसुस भएको थियो ?

त्यतिबेला मलाई अत्यन्तै खुसी लागेको थियो। मेरा लागि त्यो जीवनकै सबैभन्दा ठूलो खुसी थियो। त्यो खुसी यहाँहरूकै हौसला र सहयोगका कारण सम्भव भएको हो। त्यो सम्मान मैले मात्र होइन सिंगो नेपालले पाएको हो।

यो एकजना चेलीले मात्रै होइन, हरेक चेलीले पाएको हो। यो सम्मानले मेरो आत्मबल र विश्वास थप बढेको छ। मैले अझै धेरै काम गर्नेछु। मेरो अझै धेरै सपना थपिएको छ। यो घटना नभएको भएदेखि तपाईं ११ कक्षामा पढ्दै गरेको हुन्थ्यो होला, यसै कारणले गर्दा तपाईंको दुई वर्ष ‘लस्ट’ भयो। छुटेको पढाइलाई अहिले कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

मेरो बाबाले भन्ने गर्नुहुन्छ, अलिकति ग्याप भयो भने केही फरक पर्दैन। किनभने जीवन आफ्नो हातमा हुन्छ। जीवनलाई राम्रो र नराम्रो पार्ने हाम्रै हातमा हुन्छ। दुई वर्ष ‘लस्ट’ भएर केही पनि हुँदैन, तिमीले अहिले पनि पढाइलाई निरन्तरता दिनुपर्छ भनेर मेरो बाबाले आत्मबल दिने गर्नुहुन्छ। मम्मीले पनि मेरो आत्मबल बढाइरहनुभएको छ। त्यसैले मैले अहिले ९ कक्षामा दोहोर्‍याएर पढिरहेकी छु।

तपाईं पढाइबाहेक पेन्टिङ पनि गर्नुहुन्छ। कस्तो किसिमको पेन्टिङ बनाउन मन पर्छ ?  

मलाई के लाग्छ भने जीवनमा सबै कुरा गर्नुपर्छ। त्यसैले मैले पेन्टिङ पनि बनाएँ। त्यो बनाउँदा मलाई निकै खुसी लागेको थियो। मलाई जुन सुकै चिजको पेन्टिङ बनाउँदा पनि खुसी लाग्छ। किनभन आफ्नो हातले बनाएको चित्र जे बनाएपनि त्यो राम्रो हुनेरहेछ।

तपाईं पढाइबाहेक पनि ‘सेल्फ डिफेन्स’ सम्बन्धी तालिम पनि लिनुहुन्छ। तपाईंलाई किन यस किसिमका तालिम लिनुपर्छ जस्तो लाग्यो ?  

पहिले नै आफ्नो सुरक्षाका लागि कुनै न कुनै तालिम लिएको भए सायद मैले आफूलाई बचाउन सक्थेहोला। म एसिड आक्रमणमा परेपछि यो कुरा महसुस भयो। किनभने हामी आफैलाई थाहा हुँदैन कहाँ जाँदा के कस्ता कुराको सिकार हुनुपर्छ भनेर। अब मलाई मात्र होइन हरेक छोरीहरूलाई यस किसिमका तालिम दिन आवश्यक छ।

सहर होस् वा गाउँघर हरेक बाबा आमाले छोरालाई बलियो बनाउनका लागि विभिन्न तालिमहरू दिने गर्नुहुन्छ। तर मेरो अनुरोध छ, अब छोरोलाई मात्र होइन छोरीलाई पनि त्यस किसिमका तालिमहरू दिनुहोस्। जसले गर्दा छोरीहरू पनि निर्धक्कसँग हिड्डुल गर्न सकुन। हाम्रोमा एउटै कोखबाट जन्मिएको छोरीलाई जसरी संस्कार दिएका हुन्छौँ, छोरालाई पनि त्यसरी नै संस्कार दिनुपर्छ।

जसरी घरमा आमा, छोरी भनेर सम्मान गर्छौं, बाहिर पनि त्यसरी नै सम्मान गर्न आवश्यक छ। यस किसिमको सम्मान हुने गरेको भए सायद यस किसिमका घटना हुनेनै थिएनन्।

अनि यस किसिमका आक्रमण गर्ने अपराधीलाई कडा कारबाही होस् भनेर तपाईंले प्रधानमन्त्रीसँग पनि भेट्नुभयो। तपाईंको प्रधानमन्त्रीसँगको कुराकानी कस्तो रह्यो ?  

म अस्पतालको बेडमा पीडा र जलनले छटपटिँदै गर्दा पुरानो कानुनका बारेमा सुने। त्यो कानुनी व्यवस्थाका बारेमा सुन्दा मलाई आफूलाई लागेको घाउचोटको भन्दा पनि बढी पीडा महसुस भएको थियो। किनभन हाम्रो कुनै गल्ती नहुँदा पनि जीवनभर पीडा सहनु पर्ने तर अपराधीलाई किन यति थोरै सजाय भन्ने लाग्यो।

पहिलाको कानुनमा घाउचोट हेरेर सजायको व्यवस्था गरिएको थियो। तर मलाई अपराधीलाई पीडितको घाउचोट हेरेर होइन, अपराधीको सोच हेरेर सजाय दिनुपर्छ भन्ने लाग्यो। यस विषयमा मैले प्रधानमन्त्रीज्यूलाई चिठी पनि लेखेको थिएँ र धेरै ठाउँमा आवाज पनि उठाएँ।

मैले संघर्ष गर्दै गर्दा प्रधानमन्त्रीज्यूले हाम्रो पीडा बुझेर बोलाउनुभयो। प्रधानमन्त्रीलाई भेटेर कानुनका बारेमा कुरा गर्ने अवसर मिल्यो। म त्यहाँ आफ्ना लागि मात्र गएको थिएन।

एसिड आक्रमणमा परेकाहरूको प्रतिनिधित्व गर्दै गएकी थिएँ। यो मेरो मात्र पीडा होइन। एसिड आक्रमणमा परेका हरेकको पीडा हेरेर कानुन बनाउन आग्रह गरेकी थिएँ। हाम्रो प्रधानमन्त्रीज्युले हाम्रो पीडा बुझेर एकदमै छिटो, १५ दिन भित्रमा कडा कानुन ल्याउनुभएको छ।

तर कानुन कडा भएर मात्र हुँदैन, जनचेतना पनि जगाउन आवश्यक छ। र मैले जनचेतना फैलाउन पहल गर्नेछु। समाज सेवा गर्नेछु। आगामी दिनमा मेरो अरू पनि सपना छ। त्यो पनि पूरा गर्नेछु।

नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय