
पोखरा ।
राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ ।
संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् ।
सांसद थापाले मंगलबार संसदीय दलकाे बैठक बसेर अविश्वासकाे प्रस्तावका पक्षमा एक भएर जाने छलफल भएकाे तर शाही बुधबार एक्कासी सम्पर्कविहीन भएको बताए ।
‘हिजाे एक भएर जाने निर्णय भएकाे थियाे, आज के भएर आउनु भएन, कतै बिरामी पाे हुनुभयाे कि खाेज्नुपर्यो’ उनले भनिन् ।
जनमोर्चाका सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशसभामा खैलाबैला
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा बुधबार गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अपराह्न साढे ४ बजे शुरु हुने बैठकमा मतदान गर्ने कार्यसूची छ ।
तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ ।
प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यसअघि बुधबार नै बसेको पहिलो बैठकमा पनि उनी थिएनन् ।
अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ ।
अनलाइन खवर